Friday, December 3, 2010

दाम्पत्य यौन समानताको पक्ष

आफ्नो पुस्तक, पुस्तक मेन्युअलको माध्यमबाट चर्चित भएकी विख्यात लेखिका मारबेल मागल मार्गन, यौन समानताको कट्टर समर्थक हुन् । १९७४ मा प्रकाशित उक्त पुस्तकको बिक्रीले बाइबलको बिक्री कीर्तिमानसमेत तोडेको थियो । ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण उक्त पुस्तकअनुसार विवाहको सफलता श्रीमतीमाथि निर्भर गर्छ, न कि श्रीमान्माथि । स्वाभाविक रूपमा पुरुषहरू महिलामाथि हावी हुन चाहन्छन्, महिलाहरू भने यसमा तटस्थ रहन्छन् ।







जीवनलाई गुलाफको फूलको बिछ्यौना मान्ने आदर्श गृहिणीहरू उनीहरूका श्रीमान् आरामसित त्यो बिछ्यौनामा सुतुन भन्ने चाहन्छन् । यस्ता महिलाहरू नारीवादी आन्दोलनमा विश्वास गर्दैनन् । यसको ठीकविपरीत महिला आन्दोलनमा विश्वास राख्ने महिलाहरू आफ्नो पारिवारिक जीवनलाई त्यति प्राथमिकता दिर्दैनन् । लेखिका मारबेलका अनुसार यी दुवैखाले महिला आज अतीत बनिसकेका छन् । मार्गनको सल्लाह छ— महिलाहरूले सहभागिताको अवसर पाउनुपर्छ ।






यो सत्य हो कि विवाहको केही महिनापछि दम्पतीको सम्बन्ध पहिले जस्तो रहँदैन । दुवै जना एक अर्काको बन्धनबाट बाहिर निस्कन चाहन्छन् । यो बेग्लै प्रश्न हो कि उनीहरूले त्यसरी निस्कनुपर्छ कि पर्दैन, उनीहरू निस्कन सक्छन् कि सक्दैनन् ? मार्गनका अनुसार संसार पुरुषहरूकै हो र महिलाहरू त्यसमा आफ्नो स्थान खोज्छन् । उनका अनुसार पुरुषले महिलालाई मात्र उपभोग वस्तु मानेको छ र महिलालाई यो कुरा महसुस पनि गराएको छ कि उनीहरूको जन्म आफ्नो श्रीमान्लाई खुसी तुल्याउन भएको हो ।






यद्यपि समय परिवर्तन हुँदै गएको छ । शिक्षाको प्रसारका कारण महिलाहरूमा सचेतता बढ्दै गएको छ र उनीहरूले आफ्नो हक अधिकारको सुनिश्चिता खोज्न थालेका छन् । बीसौं सताब्दीको अन्तिम दशकमा सम्बन्ध बिच्छेद पनि बढ्दै गएको छ । यसको प्रमुख कारण महिलाहरूले आफ्नो महत्त्वलाई महसुस गर्न थाल्नु नै हो । जसबाट उनीहरूका श्रीमान्को स्वाभिमानमा प्रभाव पर्न थालेको र त्यसको दुरगामी परिणाम स्वरूप सम्बन्ध बिच्छेदका घटना बढ्न थालेको छ ।






विकसित मुलुकमा विवाहित महिलाहरूलाई उनीहरूको अधिकारप्रति जागरूक गर्न कार्यशालाहरू आयोजित गरिन्छ । यस्तै कार्यशालामा मार्गनले भनेकी थिइन्, महिला दिदी-बहिनीहरू तपाईंको सबैभन्दा प्रभावशाली यौन इन्द्रीय....तपाईंको मस्तिष्क हो । उनले थपिन, महिलाहरूले आफ्नो श्रीमान्लाई खुसी तुल्याउन मात्र तिनीहरूसित सुत्नु हुँदैन । पुरुषको सबैभन्दा आवश्यक यौन इन्द्रीय, उसको आँखा हो । मार्गनका अनुसार जब श्रीमान्ले आफ्नी श्रीमतीसित सहवासको माग गर्छन्, तब उनको मागलाई स्वीकार गरी त्यसको प्रशंसा पनि गर्नुपर्छ । उनको इतिहास, उनको अतीतको बिर्सेर पनि चर्चा गर्नु हुँदैन । राम्रा-नराम्रा, ठूला-साना जस्ता उपलब्धि भए पनि आफ्नो श्रीमान्को प्रशंसा गर्नुपर्छ । स्वयंलाई आफ्नो श्रीमान्को स्वभावअनुसार ढाल्नुपर्छ र आफ्नो श्रीमान्का साना-ठूला सबै कुराको प्रशंसा गर्नुपर्छ ।






पुरुष सधैं आफू एकजना महिलासित मात्र सम्बन्ध राख्छु भन्छ तर अर्की महिलासित सम्बन्ध राख्न त्यत्तिकै सहज रूपमा अग्रसर हुन्छ । पति र पत्नीबीच सबैभन्दा महत्त्वपूर्ण कुरा हो, उनीहरूको बिौद्धिक स्तरमा समानता दाम्पत्य जीवन तब मात्र सफल हुन्छ, जब सम्बन्धको आधार मित्रता हुन्छ, नकि व्यक्ति वा आदर्श । यहाँ प्रश्न उठ्छ- के सबै पुरुष मूर्तिसँग विवाह गर्न चाहन्छन् । के सबै पुुरुष चाहन्छन कि पूरा उमेर उसको हेरचाह ठीक त्यही रू पमा हुन्छ, जसरी बाल्यवस्थामा उसकी आमाले गर्थिन् ? विवाहसम्बन्धी अनुसन्धानकर्ताहरू भन्छन्— पुरुषहरू सुरु-सुरुमा आफ्नी प्रेमिका-पत्नीलाई उपहार प्रदान गर्छन् । पछि त्यही स्थितिमा परिवर्तन आउँछ । प्रेमी-पति नगद दिएर आफ्नी प्रेमिका वा पत्नीलाई रोजाइअनुरूपको सामग्री खरिद गर्न भन्छन् । अनुसन्धानअनुसार यदि तपाईं एउटी राम्री गृहिणी र सम्पन्न महिला बन्न चाहनुहुन्छ भने श्रीमान्का सामु उनी आफूमाथि हावी भएको अभिनय गर्नुपर्छ तर वास्तवमा उनीमाथि तपाईं आफैं हावी हुनुपर्छ तर यो कुराको जानकारी भने उनले पाउनु हुँदैन । उनमा भ्रम सिर्जना गरेर नै सुखी दाम्पत्य जीवनलाई अघि बढाउन सकिन्छ । श्रीमान्को आत्मसम्मानमा ठेस पुग्ने क्रियाकलापप्रति सचेत हुनु पनि उत्तिकै आवश्यक आवश्यक छ ।


आपसी सम्बन्धको दायित्व

सम्बन्धलाई आपसमा जोड्न धेरै समय लाग्छ, तर टुट्न समय लाग्दैन । एकै झटकामा सबै समाप्त भएर जान्छ । सानो चोटले पनि आपसी सम्बन्ध सिसाजस्तै एकै क्षणमा चकनाचुर हुन पुग्छ । यदि समय रहँदै सम्हालिने हो भने आफ्नो अनमोल सम्बन्धलाई टुट्नबाट जोगाउन सकिन्छ र दुःखको आँसुबाट पनि जोगिन सकिन्छ । दाम्पत्य सम्बन्धको रंगलाई कहिल्यै फिक्का हुन नदिन पति-पत्नी दुवै मिलेर आपसी सम्बन्धको पकड मजबुत राख्नुपर्छ । यसका लागि केही कुरामा विचार पुर्‍याउनु आवश्यक छ ।







पति-पत्नी दुवैले एकअर्काप्रति आदर सम्मानको भाव राख्नुपर्छ । यसको अभावमा आपसी सम्बन्धमा नकारात्मक असर पुग्छ । आपसी सम्बन्धलाई कहिल्यै तुच्छ मान्नुहुँदैन । सम्बन्धमा अहम्को भावना हुनुहुँदैन । अहम्ले सम्बन्धको बीचमा घर्षण सिर्जना गर्छ जसका कारण स-साना कुरालाई लिएर आपसी टक्कर प्रारम्भ हुन्छ, जसको असर वैवाहिक जीवनमा पर्छ । वैवाहिक जीवनबाट सुख शान्ति लुप्त हुन पुग्छ र सम्बन्धलाई इतिश्री दिने स्थितिसम्मको अवस्था आउन सक्छ ।






वैवाहिक जीवनको पर्खाल विश्वासको जगमाथि बनेको हुन्छ । यदि विश्वासको जग मजबुत छ भने कुनै तेस्रो व्यक्तिले बसाएको घरलाई क्षति पुर्‍याउन सक्दैन । पतिले पत्नीव्रता र पत्नीले पतिब्रता धर्मलाई सदैव निर्वाह गर्नुपर्छ । यसले सम्बन्धलाई सुखमय राख्छ र सम्बन्धमा निरसता आउँदैन । श्रीमान्ले आफ्नी श्रीमतीको प्रशंसा गर्न कहिल्यै पछाडि हटनुहुँदैन । प्रशंसा यथार्थ हुनुपर्छ, सत्यमा आधारित हुनुपर्छ । पति वा प्रेमीका रूपमा प्रशंसाको आदेश दिनुहुँदैन, विनमतापूर्वक प्रस्तुत हुनु राम्रो हुन्छ ।






पति-पत्नी दुवैले कोही एकको सहनशक्तिमा बारम्बार आलोचनात्मक प्रहार गर्नबाट जोगिनुपर्छ । यसो गर्नाले जसमाथि आलोचनात्मक टिकाटिप्प्णी भएको छ, उसको मन हीनभावनाबाट ग्रसित हुन पुग्छ । कोही पनि हरेक क्षेत्रमा पर्फेक्ट हुँदैन भन्ने कुरालाई राम्रोसँग बुझ्नु आवश्यक छ ।






आजको समयमा श्रीमतीले गृहिणीको मात्र भूमिका निर्वाह गरिरहेका हुँदैनन् । उनले घर र बाहिरी क्षेत्रको जिम्मेवारी पनि उत्तिकै गम्भीर भएर निर्वाह गर्नुपर्ने हुन्छ । यसको प्रभाव अप्रत्यक्ष रुपमा वैवाहिक जीवनमा पर्छ । कहिलेकाहीँ तनावका कारण उनको स्वभावमा चिड्चिडापन देखा पर्छ । जब यही चिड्चिडापन क्रोधका रुपमा प्रकट हुन्छ, तब कैयन् समस्या देखा पर्न थाल्छन् । यस्तो स्थितिमा विवादग्रस्त परिस्थितिबाट बच्न केही क्षणका लागि वक्ता बन्ने र अर्को क्षणमा मात्र श्रोता बन्ने प्रयास गर्नुपर्छ । विवादको गतिशीलतालाई रोक्न यदि श्रीमती बोल्दैछिन् भने श्रीमान्ले शान्त रहेर राम्रो श्रोता बनेर घरको वातावरणलाई ध्वनि प्रदूषणरहित राख्न सहयोग पुर्‍याउनु राम्रो हुन्छ ।






एउटा मुस्कानबाट मुहारको उदासीपन क्षणभरमै मेटिन्छ । कहिलेकाहीँ कामको बोझका कारण पति-पत्नी मुस्कानको आदानप्रदान गर्न बिर्सन्छन् । दम्पती एक आत्मिक मुस्कानको प्रतिक्षामा रहन बाध्य हुन्छन् । अतः मुस्कानको महिमालाई बुझेर एकअर्कालाई मुस्कानरुपी उपहार सदैव प्रदान गर्ने प्रयत्न गर्नुपर्छ । वैवाहिक जीवनलाई सुखमय बनाउन शारीरिक सम्बन्धले एउटा मजबुत पक्षको रुपमा भूमिका निर्वाह गर्छ । सन्तुष्टिदायक शारीरिक सम्बन्धबिना आपसी सम्बन्धको शृङ्खला टुट्न सक्छ । यो सम्बन्ध प्रतिको उदासीनताले जीवनलाई नीरस बनाउँछ । दम्पति एकअर्काको इच्छालाई बुझ्ने मामिलामा सक्षम हुनुपर्छ । वैवाहिक जीवनमा सेक्स लय र सुरको संगम हुन्छ, यसबिना पति-पत्नी दुवैलाई अधुरो मानिन्छ । सेक्स पति-पत्नी दुवैको स्वीकृतिका आधारमा हुनुपर्छ अन्यथा भावनामा गहिरो प्रभाव पर्न सक्छ ।






सम्बन्धको सजीवताका लागि पारस्परिक सहयोगले पोषणको कार्य गर्छ । सफलताको सिँढी चढ्न पति-पत्नी दुवैको सहयोग एउटा अनिवार्य कार्यमा परिवर्तित हुन्छ । सफलताको मामिलामा पति-पत्नीका बीच थोरै तलमाथि मात्र पनि पर्न गए केही फरक पर्दैन । सफलताको बहीखातामा दुवैको नाम दर्ता हुन्छ नै। कारण त्यो खाता त साझा नै हुन्छ । मनमा स्पर्धा, ईष्र्याजस्ता भावनालाई निषेध गर्नुपर्छ । यिनको प्रवेश मात्रले पनि आपसी सम्बन्धमा मनमुटाव सिर्जना हुन पुग्छ र सम्बन्ध बिग्रन्छ ।






प्रायः श्रीमान्लाई त्यही जीवनसंगिनी मनपर्छ जसले पतिको आम्दानीअनुसार र पतिको मन मुताविक खर्च र घरको व्यवस्थापन गर्छन् । त्यस्तै श्रीमतीले श्रीमान्को मनमा राज गर्छिन् । एउटी असल श्रीमतीले श्रीमान्को मेहनतको कमाइको एउटा हिस्सालाई बचतका रुपमा एकत्रित गर्नुपर्छ, जुन कालान्तरमा खराब समयमा काम लाग्छ । श्रीमान्को आय फजुलमा खर्च गर्न दिनुहुँदैन । खर्च गर्नुपूर्व आवश्यकतालाई प्राथमिकता दिनुपर्छ । मात्र बाहिरी देखावटीपनमा खर्च गर्नु ठीक होइन । यसबाट कमाउने व्यक्तिले अनेकन समस्या सामना गर्नुपर्छ । यो परिस्थितिमा कमाउने व्यक्तिबाट उसको सुखचयन उसबाट टाढा जान्छ । श्रीमान् विचलित भएर यस्तो सम्बन्धबाट टाढा जाने प्रयास गर्न थाल्छ । पति-पत्नीको सम्बन्धको डोरी सौम्यता, मधुरता, स्निग्धता र स्नेहमा बाँधिरहे सम्बन्धको बन्धन अटुट रहन्छ र त्यसको अन्त पनि हुँदैन । श्रीमान्ले श्रीमतीलाई भावनात्मक सुरक्षा प्रदान गरे दाम्पत्य सम्बन्धको सितारबाट सुन्दर, मधुर एवं कर्णपि्रय सुर नै निस्कन्छ जुन कहिल्यै बेसुर हुँदैन ।


Wednesday, December 1, 2010

गुगल अर्थको नयाँ संस्करणमा के छ ?

गुगलले आफ्नो सबैभन्दा नयाँ गुगल अर्थ–६ सार्वजनिक गरेको छ । यो नयाँ भर्सन विन्डोज र लिनक्स अपरेटिङ सिस्टममा प्रयोग गर्न सकिन्छ । करिब तीन वर्षअघि सार्वजनिक गरिएको गुगलको ५.२ भर्सनको नयाँ संस्करणमा भौगोलिक सूचना प्राप्त गर्न र हेर्न अझ सहज गराउन तीन नयाँ विशेषता थप गरिएको छ ।







इन्टिग्रेटेड स्ट्रिट भ्यू, थ्रीडी ट्री र परिस्कृत गरिएका ऐतिहासिक तस्बिर गुगल अर्थको नयाँ संस्करणमा राखिएको छ । स्ट्रिट भ्यूमा पुरानो भर्सनमा पनि राखिएको स्ट्रि भ्यूको स्थानलाई प्रतिनिधित्व गर्ने पेगम्यानलाई नयाँ संस्करणमा गुगल अर्थलाई नियन्त्रण गर्ने नेभिगेसन टुलसँगै राखिएको छ । पेगम्यानलाई उचालेर कुनै पनि हाइलाइट गरिएको नीलो रंगमाथि लगेर खसालेको खण्डमा त्यसले प्रयोगकर्तालाई उसले हेर्न चाहेको जमिनसम्म सोझै पु¥याइदिन्छ ।






तल जमिनमा पुगेपछि कम्प्युटरको माउसको सहायताले प्रयोगकर्ता कुनै पनि गल्लीमा मज्जाले छिर्न र यताउता गर्न सक्छ । यसले प्रयोगकर्तालाई उक्त गल्लीमा साँच्चै नै हिँडेको जस्तो आभास दिन सक्छ । यसका लागि माउसको सट्टा किबोर्डका तलमाथि र दायाँबायाँ गर्ने चिह्न पनि प्रयोग गर्न सकिन्छ । त्यसबाट कुनै परको दूरीमा रहेको स्थानको अवलोकन गर्नुप¥यो भने पनि त्यहाँ रहेको इक्जिट बटमलाई दबाएपछि अवलोकन कर्ता एकै पटकमा गुगल अर्थको आकाशबाट अवलोकन गर्ने एरिअल भ्यूमा आइपुग्छ र पहिलेकै जसरी पेगम्यानको सहायताले चाहेको अन्य कुनै पनि ठाउँमा पुग्न सक्छ ।






गुगलको नयाँ संस्करणको अर्को विशेषता भनेको थ्रीडी ट्रि अर्थात् तीनै दिशाबाट हेर्न सकिने रूख पनि हो । गुगलले केही समय अघिदेखि नै यस्ता तीन आयामसहितका भवनहरू प्रयोगमा ल्याइसकेको थियो । यसको मज्जा लिनका लागि गुगल अर्थको देब्रेपट्टि रहेको थ्रीडी सतहलाई क्रियाशील बनाउनुपर्छ । यो विशेषताले कुनै पनि अवलोकनकर्ता मज्जाले प्रत्येक रूखको फेदमा चाहर्न सक्छ ।






परिस्कृत ऐतिहासिक तस्बिरमा गुगलले पहिलेको भर्सन ५ मा अस्पष्ट र सफा रूपमा नदेखिने ऐतिहासिक तस्बिरहरूको स्थानमा नयाँ र सफा तस्बिरहरू राखेको छ । पुरानो समयमा घटेका कुनै पनि महत्वपूर्ण घटनाका तस्बिरहरू अवलोकनकर्ताले जस्ताको तस्तै हेर्न सक्छन् । यसमा उक्त घटना घटेको मिति पनि देख्न सकिन्छ भने कुनै निश्चित मिति स्ट्याटसबारमा राखेको खण्डमा अवलोकनकर्ता उक्त मितिकै सोही स्थानमा पुग्न सक्छ ।


सराङकोटबाट चरासरी उड्दै

आकाशबाट हिमाल हेर्ने र गिद्धसँगै उड्ने आफ्नो पुराना चाहना पूरा गर्न इटालीबाट नेपाल आएका ३८ वर्षीय माइकल केमले जीवनमा नयाँ अनुभव लिनका लागि सराङकोटको चुचुरोबाट हाम्फाले । चरासरी आकाशमा उड्ने उनको चाहना प्याराग्लाइडिङले पूरा गरिदियो ।







यतिखेर मुलुक नेपाल पर्यटन वर्षको अन्तिम तयारीमा छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि नयाँ–नयाँ सेवा र गन्तव्यमा सबैको ध्यान केन्द्रित भइरहेको छ । नेपाललाई परम्परागत पर्यटकीय सेवाभन्दा अलग राखेर अन्य सेवा बढाउन तिर सबैको ध्यान केन्द्रित हुन थालेको छ । यसैक्रममा विकसित भएको पर्यटकीय उत्पादन हो– साहसिक खेल प्याराग्लाइडिङ । अग्लो डाँडाबाट हाम्फालेर हाबाको गतिसँगै आफूलाई स्थापित गरेर आनन्द लिने यो खेल गतिविधिका लागि मुलुकमा नै उत्तम स्थान मानिन्छ पर्यटकीय नगरी पोखरा ।






नेपाल भ्रमणमा आएका अधिकांश विदेशी पर्यटकहरू पोखराको सुन्दरता हेर्ने लालयित हुन्छन् र सोही समयमा मौका छोप्छन् प्याराग्लाइडिङको । अहिले पनि पोखराको सराङकोटमा डाँडाबाट फाल हानेर आकाश सयर गर्नै विदेशी पर्यटकको ओइरो नै रहेको छ । कात्तिक–मंसिरको खुल्ला आकाशमा उड्नुको मज्जै बेग्लै हुने भएकाले प्याराग्लाइडिङमा यतिखेर आकर्षण बढेको हो ।






पोखरा बजारबाट सवारीसाधनमार्फत आधा घण्टामा र पैदलमार्गबाट डेढ घन्टामा पुगिने सराङकोटमा विदेशीसँगै आन्तरिक पर्यटकले पनि प्याराग्लाइडिङको मज्जा लिइरहेको देखिन थालेको छ । असोज महिनाको सुरुबाट नै प्याराग्लाइडिङबाट उडान भर्न पर्यटकहरू आउन थाले पनि मंसिर महिना ‘पिक आवर’ भएकाले पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको हो । पर्यटकको चाप बढेपछि पोखरामा रहेका प्याराग्लाइडिङ उडाउने आठ कम्पनीलाई पनि अहिले फुर्सद छैन । व्यवसायीहरूलाई पर्यटकको चाहनाबमोजिम प्याराग्लाइडिङ गराउन हम्मेहम्मे परिरहेको छ ।






अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा मौसम सफा रहने तथा हिमाल पनि प्रष्ट रूपमा देख्न पाइने हुनाले यी तीन महिनामा सराङकोटमा पर्यटकको चाप रहन्छ । सराङकोटबाट मात्र अहिले दैनिक १ सयभन्दा बढी पर्यटकले उडान लिइरहेका छन् । प्रायः पर्यटकहरू टेन्डम (पाइलटसँगै बसेर) उडान गरिरहेका छन् । सम्बन्धित निकायको अनुमति लिएर एकल प्याराग्लाइडिङ गर्ने पर्यटकहरू पनि सराङकोटको डाँडामा पुग्ने गरेका छन् । इटाली, नेदरल्यान्ड, बेलायत, मलेसिया, अमेरिका, जापान, कोरियालगायतका मुलुकबाट आएका पर्यटकहरू पोखरा झर्ने बित्तिकै पहिलो रोजाइमा अहिले प्याराग्लाइडिङ पर्ने गरेको छ ।






सनराइज प्याराग्लाइडिङ प्रालिसँग आबद्ध पर्यटन व्यवसायी राजेश बमजनका अनुसार अधिकांश पर्यटकहरू पोखरा आउने बित्तिकै प्याराग्लाइडिङ चड्ने चाहना राख्दछन् भने पोखरामा रहेका सबै प्याराग्लाइडिङ कम्पनीले दैनिक रूपमा १० देखि १५ जना पर्यटकलाई उडाइ रहेका छन् ।






विदेशी पर्यटकले ७ हजार रुपैयाँमा आधा घन्टा उडान गर्न पाउँछन् । यदि एक घन्टा उड्ने पर्यटकको चाहना छ भने १० हजारदेखि १२ हजारसम्म तिर्नुपर्छ । नेपालीहरूका लागि भने सहुलियत रहेको छ । नेपालीहरूका लागि आधा घन्टाको ५ हजार र १ घन्टाका लागि ८ हजार रुपैयाँ खर्च लाग्छ ।






पछिल्लोपटक नेपालीहरू पनि प्याराग्लाइडिङ गर्न उत्साही रहेका व्यवसायीहरू बताउँछन् । उनीहरूले दिएको जानकारीअनुसार अहिले दैनिक ८ देखि १० जना नेपालीले पनि प्याराग्लाइडिङको उडान गर्छन् । “विश्वको विभिन्न मुलुकबाट आएर यहाँ उडान भर्छन् हामी नेपाली किन नउड्ने ?” बागलुङबाट प्याराग्लाइडिङ गर्न आएका प्रमोद शर्माले भने । शर्मा साथीहरूसँग कलेजको बिदाको समय निकालेर सराङकोट आएका हुन् ।






सराङकोटको डाँडाबाट फाल हालेर फेवातालको किनारमा प्याराग्लाइडिङ उत्रने गर्छ । सराङकोटबाट फाल हालेपछि माछापुच्छ्र«े, अन्नपूर्णलगायतका हिम शृंखलाको दृश्यावलोकन, हरिया डाँडा पाखा साथै पोखराको सुन्दर बजार तथा फेवातालको मनमोहक दृश्य देख्न पाइन्छ । विदेशीहरू प्याराग्लाइडिङ गर्दा वरिपरि गिद्ध तथा अन्य पंक्षीहरू भए भने अझ बढी उत्साहित हुने गर्छन् । “गिद्धलाई देखेर परिकल्पना गरी बनाइएको प्याराग्लाइडिङमा बसेर उड्दा वरिपरि चरा भयो भने आफू पनि चरा जस्तै भएको महसुस हुन्छ,” पर्यटक जेसिका टालीले भनिन् ।






यो आनन्द सधंै लिन भने पाइँदैन । “कहिलेकाहीँ खराब मौसमका कारण सबै उडान रद्द गर्नुपर्छ,” सनराइज प्याराग्लाइडिङका बजार अधिकृत कृष्ण थापा भन्छन्, “यो समय मुख्य मौसम रहे पनि कहिलेकाहीँ आकाश नखुल्दा उडान रद्द भइरहेको छ ।”






पोखरामा पर्यटक आगमनको वृद्धिसँगै प्याराग्लाइडिङ गर्ने पर्यटकहरू पनि बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ । व्यवसायीले गत वर्षको तुलनामा यो वर्ष प्याराग्लाइडिङ गर्न पर्यटको संख्या तीन गुणाले बढ्ने अनुमान गरेका छन् ।






प्याराग्लाइडिङको राम्रो सम्भावना भएपछि पर्यटन व्यवसायीहरूले यसमा लगानी पनि बढाउँदै लगेका छन् र अन्य व्यवसायी पनि यस क्षेत्रप्रति आकर्षित भएका छन् । पोखरामा सनराइज, अन्नपूर्ण, फिस्टेल नेपाल, ब्लु स्काई, फ्रन्टियर्स, एभिया, सराङकोट र प्यारानोभा प्याराग्लाइडिङ कम्पनीहरू रहेका छन् । यी कम्पनीमा ५० भन्दा बढी पाइलटहरू आबद्ध छन् । निकट भविष्यमा अन्य प्याराग्लाइडिङ कम्पनी खुल्ने तयारीमा रहेका व्यवसायीहरूले जानकारी दिए ।






पर्यटकहरूका लागि पहिलो साहसिक खेलको रोजाइमा परेको प्याराग्लाइडिङलाई विकास र विस्तार गर्न सरकारको उदासीनताले व्यवसायी चिन्तित छन् तर निजी क्षेत्रबाट जे जति पहलहरू भएका छन् ती भने सफल भएका छन् ।






प्याराग्लाइडिङ गर्न जति मज्जा छ त्यति नै जोखिम यसमा छ । प्राविधिक ज्ञानको अभाव र नियमनकारी निकायको फितलो अनुगमनले गर्दा पछिल्लो पटकमात्र दुई जना विदेशी पर्यटकको प्याराग्लाइडिङ दुर्घटनाका कारण ज्यान गइसकेको छ । सरकारले यो व्यवसायको स्तरोन्नति गर्न र पर्यटकलाई आकर्षित गर्न नयाँ नीतिको आवश्यक भएको प्याराग्लाइडिङ सेवाका सञ्चालकहरू बताउँछन् ।

इन्टरनेटबाटै मोबाइलमा कुरा गर्न सकिने

तपाईले छिट्टै इन्टरनेटमार्फत सस्तो मूल्यमा नेपालभित्रका अन्य नेटवर्कका मोबाइल र टेलिफोनमा कुराकानी गर्न सक्नुहुने भएको छ । दूरसञ्चार प्रधिकरणले भ्वाइस ओभर ब्रोडब्यान्ड (भिओबिबी) सेवा सञ्चालन खुला गर्न सरकारलाई सिफारिस गरेपछि केही समयै यो सम्भव हुने भएको हो ।







यस सेवामा उच्च गतिको इन्टरनेटका साथै भ्वाइस (फोन) सेवा पनि उपलब्ध हुन्छ । उपभोक्ताले मुलुकभित्रका अन्य कम्पनीको टेलिफोन र मोबाइल नेटवर्कमा फोन गर्न सक्छन् । यो आइपी टेलिफोनी प्रविधिमा आधारित हुने भएकाले अहिले साइवरबाट बाहिर गरिने नेटफोनजस्तै सस्तोमा नेपालभित्रै फोन गर्न सकिन्छ ।






हाल इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) ले इन्टरनेट प्रोटोकलमा आधारित फोन प्रदान गरिरहेका छन् । उनीहरूले इन्टरनेटबाट अन्तर्राष्ट्रिय फोन गर्ने सुविधा मात्र दिएका छन् । 'उच्च गतिको इन्टरनेटका साथै टेलिफोन सेवा विस्तार होस् भनेर सेवा सञ्चालनका लागि सिफारिस गरिएको हो,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'सरकारले राजपत्रमा सेवा सञ्चालन गर्न दिने सूचना प्रकाशित गरेपछि इच्छुकले आवेदन दिन सक्नेछन् ।'






यो सेवाको लाइसेन्स लिन आवेदन दिने कम्पनीले सुरुमा कम्तीमा २५ जिल्ला र १ हजार ३ सय वटा गाविसमा इन्टरनेट सेवा पुर्‍याएको हुनुपर्छ । 'तोकिएको क्षेत्रमा उच्च गतिको (ब्रोडब्यान्ड) इन्टरनेट सेवा पुर्‍याउनु लाइसेन्स लिनुअघिको सर्त हो,' उनले भने, 'इन्टरनेटको क्षमता कम्तीमा २ सय ५६ केबिपिएस आपलिंक र डाउनलिंक क्षमताको हुनुपर्छ ।'






प्राधिकरणले सूचना तथा सञ्चार मन्त्रालयलाई गरेको सिफारिसमा लाइसेन्स दस्तुर ६ करोड ५३ लाख रुपैयाँ लिनुपर्ने उल्लेख छ । यस्ता कम्पनीले मुलुकभर सेवा सञ्चालन गर्न पाउँछन् । 'यो सेवाका लागि अनुमति लिने कम्पनीले भ्वाइस -फोन) र डाटा -इन्टरनेट) सेवा दुवै सञ्चालन गर्न पाउनेछन्,' न्यौपानेले भने, 'आइएसपी कम्पनीले दिने अन्तर्राष्ट्रिय फोन सुविधा दिन सक्छन् । भिओबिबी सेवामा मोबाइल वा घरको फोनबाट देशभित्र र बाहिर फोन गर्ने सुविधा हुन्छ ।'






प्राधिकरणको सिफारिसअनुसार सेवा प्रदायक कम्पनी वा नयाँ सेवा प्रदायक कम्पनीले पूर्वआवश्यक पूर्वाधार तयार पारी आवेदन दिन सक्नेछन् । 'यो सबैका लागि खुला गरिएको सेवा हो,' न्यौपानेले भने, 'आवश्यकता भएसम्मका कम्पनीलाई अनुमति दिँदा हुन्छ ।'






अहिलेसम्म कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले २५ जिल्लाका १ हजार ३ सय गाविसमा उच्च गतिको इन्टरनेट सञ्चालन गरेका छैनन् । यस्तो अवस्थामा यो सेवा सञ्चालन गर्न सम्पूर्ण पूर्वाधार निर्माण गर्नु वा ठूला इन्टरनेट सेवा कम्पनी गाभिनुपर्ने एक जानकारले बताए । यो सेवाका लागि २ दशमलव ३ गेगाहर्जमा करिब ३० मेगाहर्ज पि
mक्वेन्सी दिन सकिने सिफारिसमा उल्लेख छ ।






यो सेवा तारसहित वा ताररहित (वायरलेस) इन्टरनेटबाट सञ्चालन गर्न सकिन्छ । वायरलेस इन्टरनेट सेवा सञ्चालन गर्दा वाइफाई सुविधा भएका मोबाइलबाट फोन गर्न मिल्ने भएकाले प्रभाकारी हुने उनले बताए ।






फेसबुकका फरक फेस

'इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या' -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे त्यहाँका पत्रिकामा प्रकाशित खबरको शीर्ष हो । सन् २०१० अपि्रल महिनामा एउटी १४ वर्षे छोरीले आफ्नी आमालाई ढाडमा सातपटक छुरी रोपेर मारिन् । दिउसो स्कुलबाट घर फर्किनासाथ ल्यापटपमा इन्टरनेटको सञ्जाल खोलेर बसेकी छोरीसँग उनकी आमाको भनाभन भयो । आमाले छोरीलाई इन्टरनेट बन्द गर्न भनेपछि तातेको यो बहस केही बेरमा शान्त भयो र छोरीलाई लुगा धुन जा भनेर आमा आफू नुहाउने कोठामा गइन् । यो लुगा धुनु पनि हाम्रो नेपाली गाउँ-सहरमा जस्तो बाटामा साबुन धसेर घन्टौं लगाएर धुने धुवाइ थिएन, मात्र लुगा धुने यन्त्रमा लुगा हालिदिने र समय भएपछि झिकेर ल्याउने थियो । रिसको झोँकमा आँखा नदेखेकी छोरीले आमा कोठाबाट निस्केपछि भान्साबाट तरकारी काट्ने धारिलो चक्कु लगेर नुहाउने कोठामा रहेकी आमाको ढाडमा सातपटक रोपिन् । हुन त यो उनीहरूको पहिलो भनाभन थिएन । आमा-छोरीबीच योभन्दा अघि पनि धेरैपटक कम्प्युटर, इन्टरनेट र फेसबुक लगायतका कुरामा गलफत्ती भइरहन्थ्यो । ती किशोरीले फेसबुकमा र आफ्नो दैनिकीमा आमासँग रिस उठेको र भनाभन भएको कुराहरू लेखेकी पनि रहिछन् । कुनै बेला उनले 'आज मसँग चक्कु थिएन, नत्र म त्यसको घाँटी रेटिदिन्थेँ र यो झगडा सधैंका लागि सकिन्थ्यो' भनेर पनि लेखेकी रहिछन् । अष्ट्रियाको प्रहरीले अनुसन्धानका क्रममा फेसबुकबाट यो कुरा पत्ता लगायो । धेरै अघिदेखि दन्केको ती किशोरीको रिसको आगोलाई अन्ततः गत अपि्रल १३ का दिन ३७ वर्षीया आमालाई मारेर बगेको रगतले निभायो । हालै अदालतमा दिएको बयानमा उनले भनिन्, 'आमालाई मार्ने नै मेरो उद्देश्य थिएन । आवेशमा आउँदा अनजानमा यस्तो भयो ।' अहिले ती किशोरी कारागारमा दसवर्षे बन्दी जीवन बिताइरहेकी छिन् । छोरी बन्दी जीवन बिताएर फेरि नियमित जीवनमा फेर्केलिन्, तर उनकी आमा भने सदाका लागि भगवानकी प्यारी भइन् ।



कुनै बेला थियो, गाई-बाख्रा चराउन गोठाला गएका छोराछोरी वनमै संगीहरूसँग खेल्दाखेल्दै गाईवस्तुले कसैको बाली खाएको अथवा खेल्दाखेल्दै साँझ परेर घर र्फकन ढिला भएको निहुँमा बाबुआमाले छोराछोरीलाई गाली गर्थे । त्यसपछि जमाना अलि फरक भयो, अनि टीभी धेरै हेरे भनेर बाबुआमा छोराछोरीलाई गाली गर्नथाले, अब अहिले त्यो जमाना पनि फेरियो । अब त कम्प्युटरको अगाडि धेरै नबस, फेसबुक धेरै नहेर, फलानोलाई फेसबुकमा साथी किन बनाएको, फलानाकी छोरी कति फेसबुकमा अनलाइन बसेकी, त्यो अब बिग्रीजस्ता कुराहरूको जमाना आयो । राम्रा र नराम्रा पक्ष सबैमा हुन्छन् । साथीसँग खेल्दा वा गफ गर्दा, पछि टीभी हेर्दा वा अहिले फेसबुक चलाउँदा सबैका राम्रा र नराम्रा पक्ष छन् । फरक यत्ति हो, प्रयोगकर्ताले त्यसलाई कसरी लिन्छ ।






'सिर्जना भान्जीले अमेरिकामा छोरो पाइन् । हामीले त जन्मेको ४० मिनेटमै फेसबुकबाट थाहा पायौं', काठमाडौंको वानेश्वरमा रहेकी माइज्यूले भनिन् । उनकी मामाकी छोरीले कम्बोडियाबाट भनिन्, 'सबैभन्दा पहिला फेसबुकमा कमेन्ट त मैले लेखेको ।' 'तपाईंपछि त फेरि म हो नि', अर्की बहिनीले थपिन् । यस्तो कुराकानी हुन्छ, हिजोआज नेपाली आँगनमा । विदेश गएका लोग्ने, छोराछोरी, आमा, श्रीमती, दिदीबहिनीहरू अहिले फेसबुक खोल्ने होडबाजीमा छन् । फेसबुकभन्दा अघि धेरै अरू सञ्जालहरू पनि थिए- याहु, हटमेल, जीमेल, स्काइप आदि-आदि, तर तिनले नेपाली महिलाहरूको मन तान्नसकेको थिएन । कम्प्युटर चलाउन आउँदैन भनेर उनीहरू चुप लागेर बस्थे । तर फेसबुकले भने ती सबैको मन जितेको छ । झापाकी सत्तरी वर्षीया पुप्पामायाले छोरोसित क्यानाडा गएपछि फेसबुक खोलिन् । छोरो, नाति र पनातिनीसँग क्यानाडा घुमेको फोटो नेपालमा रहेका अन्य छोराछोरीहरूलाई देखाउनु, फेसबुक खोल्नुमा यही एकमात्र उनको उद्देश्य थियो । फोटो हेर्नबाहेक उनलाई अरू केही गर्न भने आउँदैन । त्यसैगरी मोरङ निवासी ७५ वर्षीय लयप्रसाद र उनकी जहानले पनि युरोप भ्रमणका बेला खिचेका आफ्ना फोटा फेसबुकमा राखेका छन् । अब त फेसबुक र विदेश एकअर्काका पर्याय बनेका छन् । श्रीमान र छोराछोरीसँग स्वीडेन आएकी धनकुमारीले पनि जन्मभूमि बिर्साउन फेसबुकमा खाता खोलिन् । अब बिस्तारै टाइप गर्न र च्याट गर्न पनि सिकिसकिन् । पहिला त छोरीले फोटो अपलोड गरिदिन्थिन्, तर यसपटकको तीजको फोटो र भिडियो उनले आफैं राखिन् । यसरी फेसबुकले नेपाली महिलाहरूलाई कम्प्युटर साक्षर गराइरहेको छ । फेसबुकको माहोल यसरी फैलिएको छ कि अहिले फेसबुक नहुने मान्छे विरलै भेटिन्छ ।






फेसबुकको निर्माण र प्रारम्भ सन् २००४ मा हार्वर्डका एक छात्र मार्क जकरवर्गले गरेका हुन् । त्यसबेला यसको नाम द फेसबुक थियो । कलेज नेटवर्किङका रूपमा सुरु गरिएको यो सञ्जाल कलेज परिसरभित्र लोकपि्रय हुँदै गयो । केही महिनामै यो सञ्जाल युरोपभरि प्रख्यात भयो र अगस्त २००५ मा यसको नाम फेसबुक भयो । एउटा कलेजका विद्यार्थीहरूको सम्पर्कको माध्यमका लागि खोलिएको फेसबुक अहिले संसारमै एउटा प्रसिद्ध सञ्जाल बन्न पुग्यो ।






'फेसबुकले मानिसहरूलाई एक किसिमको नसा लगाएको छ ।'






'यसले सबैको उत्पादनशील समय बर्बाद गरेको छ ।'






'व्यक्तिगत कुराहरू पनि फेसबुकमार्फत सार्वजनिक भएका छन् । मेरो घर, मेरो कुकुर, मेरो बारी भनेर फोटो राख्नुको के औचित्य, किन आफ्नो सबै कुरा संसारलाई थाहा दिने ?'






'मेरो नाम गुगल गर्दा मेरो फोटोसहितको जानकारी सबैले थाहा पाउन् भन्ने म चाहन्न ।'






'कुनै व्यक्तिले के गरेको छ, त्यो नियाल्ने माध्यम भएको छ फेसबुक ।'






'म त आफू फेसबुकमा केही लेख्दिन, तर अरूले के गर्दैछन्, त्यो जान्न मलाई रमाइलो लाग्छ ।'






'फेसबुक त मेरोलागि भगवान भएको छ । यसले मलाई मेरा अति प्यारा विदेशी मित्रहरूसँग भेट्टाएको छ । म फेसबुकप्रति अत्यन्त ऋणी छु ।'






यिनै र यस्तै प्रतिक्रियाहरू मैले पाएँ, फेसबुकका सम्बन्धमा केही व्यक्तिको विचार बुझ्न खोज्दा । मेरा एक अति व्यस्त नेपाली मित्रले भन्नुभयो, 'मानिसहरू समय कसरी पाउँछन्, फेसबुक खोल्न । मलाई त अचम्म लाग्छ ।'






म गएको महिना एउटा सम्मेलनमा सहभागी भएँ । करिब १५० जना अटाउने एउटा सभाकक्षमा सत्र चलिरहेको थियो । म निर्धारित समयभन्दा अलि ढिलो पुगेँ, सबै बसिसकेका र सत्र पनि सुरु भइसकेको थियो । पछाडिको लहरमा लन्डन विश्वविद्यालयका एकजना प्रसिद्ध प्राध्यापक आफ्नो काखे कम्प्युटर (ल्यापटप) खोलेर बसेका थिए । मेरो आँखा झट्ट उनको काखे कम्प्युटरमा पुगिहाल्यो, हेर्दा त फेसबुकको पातो पल्टिएको देखेँ । ए, यस्ता विद्वान प्राध्यापकको पनि फेसबुक रहेछ भनेर मलाई रमाइलो लाग्यो, आफ्नो पनि भएकाले । उनको उत्पादनशील समय बर्बाद भएको छ भनौं भने दर्जनौं अनुसन्धानपरक पुस्तक उनका नाममा प्रकाशित छन् । उनको विषयगत पाण्डित्यले सबैलाई नतमस्तक गराएकै छ । २ लहर अघि गएर बसेँ । बसिसकेर अगाडि हेरेको त एक युवती पनि उनको सानो मोबाइलमा फेसबुक नै हेरेर बसेकी छिन् । छिनछिनमा खोल्दै बन्द गर्दै, बेलाबेला केही लेख्दै पनि गर्छिन् । केही बेरपछि ती फेसबुल खोलेर बसेका प्राध्यापकको प्रस्तुतिको बेला आयो । उनले गएर आफ्नो कार्यत्र प्रस्तुत गरे । उनी सम्मेलनमा सहभागी वरिष्ठतम विद्वानमध्ये ३ जनाको नाम लिँदा एकमा पर्थे ।






यी सबै घटनालाई मनन गर्दा फेसबुक नराम्रै हो भनेर ठोकुवा गरिहाल्न मैले सकिन । तर यो एकदम राम्रो हो पनि भन्न सकिँदैन । नितान्त व्यक्तिगत कुरा पनि फेसबुकमा आए, लोग्नेस्वास्नीको झगडा पनि फेसबुकमा सार्वजनिक भयो भन्ने कुरा पनि सही हो । हालै एक पत्नीले आफ्ना पतिको भित्तोमा 'मसँग नरिसाउनुस् है, मलाई माफ गरिदिनुस् भनेर लेखिन् । पति-पत्नीको कुरो सार्वजनिक भयो भन्दैमा यसलाई नराम्रो पनि भन्न सकिँदैन । आफ्नो कुनै गल्ती भए सबैका अगाडि माफी माग्न सक्नु पनि त एउटा उदारता नै हो । यसबाट पक्कै पनि ती दम्पतिबीचको प्रेम अझ बन्यो होला भन्ने मेरो अनुमान छ ।

फेसबुक र इमेल दुरुपयोगबाट पीडित नायिकाहरूको गुनासो

नेपालमा पछिल्लो समयमा इन्टरनेट सञ्जालबाट महिला हिंसाजन्य क्रियाकलाप बढेकाले विभिन्न पेसाकर्मीलाई प्रत्यक्ष असर पुर्‍याएको छ ।







नेपालकी चर्चित नायिका गरिमा पन्तको फेसबुक हृयाक गरेर टाउकोमा अरूको अश्लील तस्वीर समावेश गरेकाले धेरै दिनसम्म ठूलो पीडा सहनु पर्‍यो ।






'मेरो टाउकोमा अरूको अनावश्यक तस्वीर समावेश गरेर त्यसले व्यक्तित्वमा ठूलो असर पार्‍यो, नायिका पन्तले भनिन् 'मैले बन्द गर्नका लागि धेरै ठाउँमा पहल गरेँ, तर त्यसको कसैले वास्ता नै गरेनन् ।'






'इन्टरनेटमा पनि महिलालाई नै बढी लक्षित गरेर यस्ता तस्वीरहरू समावेश गरेर चरित्र हत्या गरिन्छ, निकै भावुक हुँदै भनिन्- 'हरेक ठाउँमा महिलालाई मात्र पीडित बनाइन्छ, यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही नगरेसम्म महिला हिंसा रोकिँदैन ।'






नायिका गरिमा पन्तलाई मात्र होइन, अर्की चर्चित नायिका करिश्मा मानन्धरको नाममा पनि कसैले फेसबुक चलाएको छ भन्ने कुरा स्वयम् उनलाई अहिलेसम्म जानकारी छैन ।






'मेरो नाममा फेसबुक खोलेर चलाउने व्यक्तिले राम्रो नै गरेको होला, तर पछि उसले केही बदमासी गर्ला, यसले मेरो व्यक्तित्वमा ठूलो असर पार्ला कि भन्ने चिन्ता छ, नायिक मानन्धरले भनिन्- 'मेरो नामको फेसबुक कसरी बन्द गर्ने भन्ने विषयमा सदा चिन्तित छु ।'






'अरूको नामबाट फेसबुक खोल्ने, अरूको पासवर्ड चोर्नेजस्ता क्रियाकलापहरू पछिल्लो समयमा निकै वृद्धि भइरहेको छ, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्-'साइबर अपराधसम्बन्धी आफू सचेत रहनुपर्छ, तीन-तीन महिनामा आˆनो फेसबुक, इमेलको पासवर्ड परिर्वतन गरिरहनुपर्छ जसले गर्दा अरूले पासवर्ड चोर्न पाउँदैनन् ।'






'इन्टरनेट प्रयोगकर्ताहरूले आफैँ सचेत भएर काम गर्नुपर्छ, प्रमाणीकरण नियन्त्रणको कार्यालयका नियन्त्रक राजनराज पन्त विद्युतीय कारोबार ऐन २०६३ ले व्यक्तिगत अपहेलना, चरित्रहत्याको बारेमा स्पष्ट नपारेकाले कानुन समय सान्दर्भिक नभएको बताउँछन् ।






महिलाको विद्युतीय माध्यमबाट भौतिक, शारीरिक, मानसिक यौनिक हिंसा हुने गरेको तर त्यसका लागि विद्युतीय कारोवार ऐनले नसमेटेको अधिवक्ता सविन श्रेष्ठको भनाइ छ ।






'इन्टरनेट प्रयोगकर्ताहरूले आफ्नो चरित्रहत्या भएको विषयमा नेपाल प्रहरीमा कमैमात्र उजुरी पर्ने बताउँछन्,' नेपाल प्रहरीका प्रवक्ता विज्ञानराज शर्मा ।






'साइबरजन्य अपराधका घटनाहरूमा प्रहरीमा गएर उजुरी गरेमा त्यसको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा तुरुन्त त्यस्ता साइडहरू बन्द गर्न सकिन्छ'- प्रवक्ता शर्माले भने ।






प्रमाणीकरण नियन्त्रणको कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा फेसबुक प्रयोगकर्ताहरू लगभग सात लाख रहेका छन् । तीमध्ये सबैभन्दा बढी १८-२४ वर्ष उमेर समूहका करिब ४७ प्रतिशत रहेको छ । त्यसमा महिला ३१ प्रतिशत र पुरुष ६९ प्रतिशत रहेको बताइन्छ ।






साइबर अपराधसम्बन्धी विद्युतीय कारोबार ऐन २०६३ ले कुनै पनि व्यक्तिका विद्युतीय सञ्चार माध्यममार्फत अवज्ञा गरेमा, चरित्रहत्या गरेमा, समुदाय-समुदायबीच द्वन्द्व सिर्जना गर्ने खालका समाचारहरू प्रकाशन वा प्रसारण गरेमा पाँच वर्ष जेल वा रु दुई लाख जरिवाना वा दुवै सजाय हुनसक्ने भनी उल्लेख गरिएको छ ।