Sunday, November 28, 2010

विवाह सम्बन्ध नयाँ उमेरको नयाँ सूत्र

विवाह सम्बन्ध शाश्वत हुने भए पनि समय र आवश्यकताअनुसार यसमा परिवर्तन आउँछ। परिवर्तन आउनु पनि आवश्यक छ अनि मात्र यसको सफलताले सुनिश्चितता प्राप्त गर्छ। सम्बन्ध निभाउन तय गरिएका त्यस्ता कयौं नियम छन् जुन वास्तविकताको धरातलमा आउनेबित्तिकै तिनको अस्तित्व, उपयोगिता एवं प्रयोग कहाँ धाराशायी हुन पुग्छ, अधिकांशलाई थाहा हुँदैन। श्रीमान्-श्रीमतीका आशा र अपेक्षा फरक-फरक हुन्छन्। दुवैको सम्बन्धलाई बुझ्ने र निभाउने समझदारी पनि अलग-अलग हुन्छ। त्यसो त हिँजोआज सम्बन्ध निभाउने जिम्मेवारी दुवैमा बराबर हुन्छ र बराबरी स्तरमा निभाउँछन् पनि। यद्यपि विवाद कयौं अवस्थामा चरम सीमासम्म पुग्छ।



निजताको प्रश्न

विवाह बन्धनले दुई व्यक्तिलाई एक-अर्कासँग बाँध्छ। जब यो सम्बन्ध बलियो हुन्छ तब दुवै परिवारका सदस्य यसमा जोडिन पुग्छन्। कहिलेकाहीँ अभिभावक आफ्ना सन्तानलाई धेरै सामाजिक बनाउने चक्करमा अन्याय गर्न पनि पछि पर्दैनन्। यहाँसम्म कि उनीहरू युवा दम्पतीलाई हनिमुनमा जान पनि रोक लगाउँछन्। विवाहपछि हनिमुनको चलन यस कारण चलेको हो कि दम्पतीले एक-अर्कालाई राम्रोसँग बुझ्न सकून्। उनीहरूलाई समय चाहिन्छ, जुन केही दिन एक-अर्कासँग बिताएर प्राप्त हुन्छ। परिवारको हस्तक्षेपमा दम्पतीले यो स्पेस प्राप्त गर्न सक्दैनन्। यदि नवदम्पतीका बीच कुनै प्रकारको समस्या उत्पन्न भए पूरा परिवार विशेषज्ञको भूमिकामा आउँछन्। सबै आ-आफ्ना तर्फबाट सल्लाह दिन पछि पर्दैनन्। के कुरा बुझ्नु आवश्यक छ भने आफ्नो समस्यालाई स्वयं आफैले समाधान गर्नुपर्छ। आफ्नो सम्बन्धको डोरी अरूको हातमा दिनु बुद्धिमानी होइन। आफ्नो निर्णय स्वयं आफैंले लिने प्रयास गर्नुपर्छ। सम्बन्धको सुमधुरताका लागि जति प्रयास गरिन्छ त्यति नै फाइदा हुन्छ।



स्पेस चाहिन्छ 

वैवाहिक सम्बन्धमा व्यक्तिगत स्पेस -मेरो इच्छा) को स्थान हाम्रो भन्ने कुराले लिन्छ। यदि दम्पती दुवैजना एक-अर्काको स्पेसका सम्बन्धमा विवाद गर्न थाल्छन् र आफ्नो स्पेसलाई अर्कोले हत्याएको वा संकुचित बनाएको सोच्न थाल्छन् भने हाम्रो भन्ने भावका लागि स्थान बाँकी रहँदैन। सँगै रहन र अघि बढ्न म र मेरो भन्ने भाव समाप्त गर्नु आवश्यक छ। व्यस्तताले भरिएको जीवनमा सँगै समय बिताउने प्रयास गरिरहनुपर्छ। दैनिक जीवनका केही कार्य सँगै गर्नुपर्छ। जस्तै- वाक्मा जानु वा 

किचेनको काम गर्नु आदि। सँगै बस्दा सकेसम्म एक-अर्कालाई समय दिने प्रयास गर्नुपर्छ।


तालमेल बसाउनुपर्छ

श्रीमान्-श्रीमतीको सम्बन्धलाई भन्दा अन्य सम्बन्धलाई अलि कम महत्त्व दिनुपर्छ। आफ्नो वैवाहिक सम्बन्धलाई भन्दा अन्य सम्बन्धलाई बढी प्राथमिकता दिने मूर्खता गर्नुहुँदैन। कतिपय दम्पती आफ्ना सन्तानलाई युवा वा किशोरावस्थासम्म पनि सँगै सुताउँछन्। त्यसो गर्नाले साथीसितको दूरी स्वयं आफैंले सिर्जना गरे सरह हुन्छ। असहज परिस्थिति सिर्जना हुन्छ र आफ्नो सम्बन्धलाई सुदृढ र सुमधुर तुल्याउने स्पेस प्राप्त हुँदैन। यस स्थितिमा आफ्नो सम्बन्धका लागि समय दिन मार्ग खोज्नुपर्ने हुन्छ, प्रयास गर्नुपर्ने हुन्छ। यसो गर्दा एक-अर्काको भावनाको ख्याल राख्नु पनि आवश्यक हुन्छ।



पूर्वाग्रह छोड्नुपर्छ

हामीमध्ये धेरैजना विवाह संस्थालाई आफ्ना अभिभावकसित जोडेर हेर्छौं। एक युवती के सोच्छिन् भने उनका पिताभन्दा राम्रो श्रीमान् हुनै सक्दैनन् किनभने उनी घरेलु सरसामानको सपिङदेखि होमवर्कसम्म मद्दत गर्थे। यदि उनका श्रीमान् यस प्रकारको नभए उनी हतास हुन पुग्छिन्। ठीक यसैगरी यदि श्रीमतीले उनकी आमाले सरह राम्रो खाना पकाउन सकिनन् भने श्रीमान् निराश हुन्छन्। यद्यपि यसप्रकारको घटनामा अर्को पक्षलाई नजरअन्दाज गर्नुहुँदैन। अभिभावक नै आदर्श हुन् भन्ने होइन। आफ्नो जीवनशैली र तिनको आवश्यकता अभिभावकको भन्दा फरक हुनसक्छ। त्यही बाटो आफ्ना लागि पनि सही र सार्थक हुन्छ भन्ने छैन। आफूले आफ्ना लागि आफ्नो आवश्यकताअनुसार नयाँ बाटो पहिल्याउनुपर्ने हुन्छ।



हाम्रो परिवार

आफ्नो परिवारलाई प्रेम गरे श्रीमान् वा श्रीमतीले पनि गर्छन् भन्ने सोंच्नु ठीक होइन। म र मेरो परिवार तथा तिमी र तिम्रो परिवार भन्ने कुरालाई झगडा वा विवादको मुद्दा बनाउनु गलत हो। हामी र हाम्रो परिवारको भावनामा अघि बढ्ने प्रयास गर्नुपर्छ। हुनसक्छ तपाईंले भन्दा तपाईंका साथीले तपाईंको परिवारलाई प्रेम गरून्। यद्यपि यो कुरालाई बुझ्नु आवश्यक छ कि हरेक परिवार र त्यसको आवश्यकता फरक हुन्छ। एउटाको तुलना अर्कोसित गर्नु आपसी सम्बन्धका लागि श्रेयस्कर हुँदैन।



मित्रजनको सीमा

मित्रजनलाई वैवाहिक सम्बन्धका बीच पस्ने अवसर दिनुहुँदैन। युवकहरू प्रायः आफ्ना साथीहरूसित अबेरसम्म घरबाहिर रहन्छन् भने युवतीहरू सपिङ क्रेजी हुन्छन्। साथीहरू छन् भने तिनको राय-सल्लाह पनि अवश्य प्राप्त हुन्छ तर उनीहरू सबै जना अनुभवी नै हुन्छन् भन्ने छैन। हरेकको राय सबैका लागि फाइदाजनक हुन्छ भन्ने पनि छैन। अतः सुन्नु ठीक छ तर अवलम्बन गर्नुपर्छ भन्ने बाध्यता छैन। कहिलेकाहीँ स्थिति समान हुनसक्छ तर कारण फरक हुन्छ जसले गर्दा समाधानको उपाय एउटै हुन्छ भन्ने छैन।



सहायता लिनुपर्छ

यदि सम्बन्धमा कुनै समस्या छ र आफूबाट समाधान हुने सम्भावना छैन भने विशेषज्ञको परामर्श लिनुपर्छ। हामीमध्ये कतिपय सही-गलतका बारेमा निर्णय लिन असमर्थ हुन्छौं। अतः सम्बन्धित विशेषज्ञको सल्लाहलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। विवाह र यसको स्थान जति आत्मीय, सुरक्षित र पि्रय हुन्छ त्यति नै संकीर्ण पनि हुन्छ, त्यसमा मात्र दम्पती प्रवेश गर्न सक्छन्। यसका लागि प्रयास गर्न पछि हट्नुहुँदैन। दम्पतीका बीचमा तेस्रो व्यक्ति प्रवेश गर्ने बाटो खुला छाड्नुहुँदैन। यी कुरालाई अवलम्बन गर्न सके दाम्पत्य जीवन सुमधुर, स्थायी एवं सुदृढ रहन्छ तर प्रयास श्रीमान्-श्रीमती दुवैतर्फबाट हुनु आवश्यक छ।



स्वयंलाई कति परिवर्तन गर्ने रु

परिवर्तनका मामिलामा पार्टनरका बीच मनमुटाव बढेर सम्बन्ध विच्छेद हुने अवस्थासम्म आउन सक्छ। मनोवैज्ञानिकहरूका अनुसार विवाहपछि जीवनसाथीको खुसीका लागि स्वयंलाई परिवर्तन गर्नु उचित हुन्छ तर जब पार्टनरले एक-अर्काबाट धेरै परिवर्तनको अपेक्षा राख्छन् तब सम्बन्धमा चिसोपन आउँछ।

अनामिका आफु शुद्ध शाकाहारी भए पनि श्रीमान् अर्जुन ननभेजिटेरियन भएको बताउँछिन्। सुरु-सुरुमा अर्जुनले आफूलाई मांसाहारी खाना खान दबाब दिए पनि आफूले सम्झाएपछि श्रीमान्ले त्यसो गर्न छाडेर बरु आफ्नो खुसीका लागि मांसाहारी खाना कम गर्दै घरमा ल्याउन छोडेको अनामिकाले बताइन्। आफ्ना श्रीमान्को समझदारीपूर्ण निर्णयले सम्बन्ध अझ सुमधुर भएको अनामिकाको कथन छ।

परिवर्तन किन आवश्यक छ ?

पार्टनरको खुसीका लागि स्वयंमा केही परिवर्तन ल्याउनुमा कुनै आपत्ति हुँदैन साथै आफूलाई उनका लागि परिवर्तन गरिएको छ भने उनीबाट पनि तत्काल त्यस्तै अपेक्षा गर्नु ठीक होइन। यसले आपसी सम्बन्धमा प्रेमको साटो बदलाको भावना जन्माउँछ। परिवर्तनलाई आत्मसम्मानको मुद्दा बनाउनुहुँदैन।

स्वयंमा परिवर्तन ल्याएको अनुभव बाँड्दै गृहिणी स्मृति भन्छिन्-माइतीमा बिहानै नुहाउने बानी थिएन, अतः विवाहपछि पनि ननुहाइकनै घरको काम गथेर्ं। श्रीमान्लाई यो कुरा पटक्कै मन पर्दैनथ्यो। सुरुमा त उनले केही भनेनन् तर केही दिनपछि भने बिहान नुहाउँदा राम्रो हुने बताए। उनको खुसीका लागि मैले बिहानै नुहाउने बानी बसालें।

पार्टनरलाई एक-अर्काको हरेक बानी-व्यवहार मन पर्छ भन्नु गलत हुन्छ। यस्तो बिरलै सम्भव हुन्छ। पार्टनरले आफूलाई बानी सुधार्न दबाब दिने सम्भावना हुन्छ। यस्तो स्थितिमा रिसाउने वा नराम्रो मान्ने भन्दा सम्बन्धको संवेदनशीलतालाई बुझेर स्वयंमा परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ। यदि आफ्ना केही कुरा परिवर्तन गर्न सकिँदैन भने प्रेमपूर्वक त्यो कुरा पार्टनरलाई बताउनु उचित हुन्छ।

पार्टनरको प्रयासको प्रशंसा गर्नुपर्छ सुमित र रीता एक-अर्कालाई निकै माया गर्छन्। सुमितको जीवनमा आइसकेपछि रीताले आफूलाई धेरै परिवर्तन गरेकी थिइन्। यसबाट सुमित निकै प्रभावित थिए। रीताको चाहना पूरा गर्न उनी कुनै कसर छाड्दैनन्। त्यसैले दुवैबीच निकै सुमधुर र प्रेमपूर्ण सम्बन्ध  छ।



परिवर्तन किन आवश्यक छ 

प्रेमको माध्यमबाट सबै कुरा जित्न वा प्राप्त गर्न सकिन्छ। यदि पार्टनर आफ्नो सुखका लागि स्वयंलाई परिवर्तन गर्दैछन् भने उनको प्रेम र समर्पणको सम्मान गर्दै त्यसको प्रशंसा गर्नुपर्छ।

बढी हस्तक्षेप ठीक होइन

२५ वषर्ीया सुनीता भन्छिन्-मेरा श्रीमान् अनुजले मलाई धेरै माया गरे पनि कहिलेकाहीँ स-साना कुरामा हस्तक्षेप गर्छन्। यदि बाहिर घुम्न जाँदा उनलाई मेरो लिपिस्टिकको सेड मन परेन भने उनी तुरुन्तै त्यसलाई परिवर्तन गर्न भन्छन् र आफ्नो च्वाइसको लिपिस्टिक लगाएपछि मात्र घरबाहिर लान्छन्। मलाई यस्तो कुरा मन पर्दैन।

आफ्नो पार्टनरमाथि प्रेम र हक देखाउनु केही हदसम्म ठीक हो तर प्रेम कम र दबाब बढी भएको स्थिति राम्रो होइन। अतः स-साना कुरामा हस्तक्षेप गर्नु ठीक होइन। पार्टनरबाट त्यति नै परिवर्तनको अपेक्षा राख्नु ठीक हो, जति उनी सहज रूपमा त्यसलाई अंगाल्न सक्छन्।

परिवर्तनका सम्बन्धमा पार्टनरका बीच मुद्दा बन्ने कुराहरू

    पार्टनरको ड्रेसिङ स्टाइल।

    घरमा सर-सामान राख्ने तरिका।

    सेक्सुयल रिलेसनसिपसित जोडिएका कुरा।

    घरेलु कुरा एवं बालबच्चाको जिम्मेवारी।

    पर्सनल बानी-व्यवहार।

    परिवर्तन आवश्यक छ ।

    पार्टनरको खुसीका लागि कतिपय स्थितिमा उनीसित जोडिएको व्यक्ति, जस्तै सासू-ससुरा, देवर आदिको रुचि-अरुचिको हिसाबबाट पनि स्वयंलाई परिवर्तन गर्नुपर्छ। यस्तो परिस्थितिमा स्वयंलाई त्यति नै परिवर्तन गर्नुपर्छ जति आफ्नो इच्छालाई मार्न वा सम्झौता गर्न सकिन्छ।

    आपसी सम्बन्धलाई सुधार्ने, सुदृढ गर्ने आवश्यकता महसुस भएसँगै आफूमा परिवर्तन ल्याउनुपर्छ। मन मारेर गरिएको परिवर्तनबाट आफैलाई बढी पीडा हुन्छ।

    पार्टनरसँगै उनको परिवारका अन्य सदस्यका आवश्यकताको पनि कदर गर्नुपर्छ।

    परिवर्तनको निर्णयलाई खुसीपूर्वक निर्वाह गर्नुपर्छ।

    आपसी सम्बन्धमा मिठास कायम राख्न सकिने हदसम्म प्रयास गर्नुपर्छ।

    यदि पार्टनर आफूमा परिवर्तनको चाहना राख्छन् भने  त्यो कति जायज छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। उनको ठाउँमा आफू भए के गर्नुहुन्थ्यो सोच्नुपर्छ।

    आपसी सम्बन्धलाई कायम राख्न हरसम्भव प्रयास गर्नुपर्छ।

    पार्टनरको इच्छा र भावना बुझ्दै झुक्नु, सम्झौता गर्ने निर्णय गर्नुलाई आफ्नो हार वा कमजोरी मान्नु हुँदैन।

    एक-अर्काबाट धेरै अपेक्षा राख्नुहुँदैन। एक-अर्काको गुण-दोष दुवैलाई आत्मसात् गर्ने बानी बसाल्नुपर्छ।



विवाहअघि थाहा पाउनुपर्ने कुरा

विवाह जीवनको महत्वपूर्ण कार्य हो। यसले मानव जीवनमा नयाँ मोड ल्याउने काम गर्छ। त्यसकारण विवाह गर्नुपूर्व पर्याप्त सतर्कता अपनाउनुपर्छ। हरेक युवतीले विवाहको मीठो सपना बुनेका हुन्छन्। आफूले बुनेका सपना पूरा गर्न केही कुरामा विचार पुर्‍याउनुपर्छ। विवाहयोग्य युवतीले स्वास्थ्य, बानी-व्यवहार एवं आचरणमा ध्यान दिनुपर्छ। यस्तै कुकिङका बारेमा पनि ज्ञान हुनु राम्रो मानिन्छ। 



पि्र ब्राइडल ब्युटी प्लान ः विवाहभन्दा ३-४ महिनापूर्व नै ब्युटी एक्सपर्टसित मिलेर पि्र ब्राइडल ब्युटी प्लानका बारेमा जानकारी लिनुपर्छ। छाला एवं केश टि्रटमेन्ट गराउनुपर्छ ।

फिटनेस र डाइट प्लान ः तौल नियन्त्रणका लागि फिटनेस प्लान बनाउनुपर्छ। आवश्यकताअनुसार एरोविक्स क्लास वा जिम ज्वाइन गर्न सकिन्छ। जंकफुड वा तैलीय खानाबाट जोगिनुपर्छ। भरसक डायटिसियनसित सुझाव लिएर डाइट प्लान तयार गर्नुपर्छ। फिटनेस ट्रेनर र डायटिसियनको सल्लाहअनुसार चल्नु उचित हुन्छ।

तनावबाट टाढा ः विवाहको दिन नजिकिँदै गएपछि तनाव बढ्छ। यसलाई कम गर्न मर्निङ वाक, योग वा ध्यान गर्नुपर्छ। यसो गरेर तनावबाट मुक्त हुन सकिन्छ।

यौनसम्बन्धी जानकारी ः शारीरिक सम्बन्धको प्रगाढता एवं त्यसको जानकारी राख्नु आवश्यक छ। अन्यथा सम्बन्ध बन्नुपूर्व नै बिग्रने सम्भावना रहन्छ। त्यसकारण सेक्ससम्बन्धी सही जानकारी हासिल गर्नु राम्रो हुन्छ। सही जानकारीको सहयोगबाट नै यौन जीवनको आनन्द अनुभव गर्न सकिन्छ।

तालमेल बनाउने प्रयास ः श्रीमान्को घरपरिवारमा राम्रो व्यवहारबाट नै पि्रय बन्न सकिन्छ । सासू-ससुराबाहेक नन्द, देवर आदिसित पनि राम्रोसँग प्रस्तुत हुनुपर्छ। धेरै रिसाउनुहुँदैन, शान्त रहनुपर्छ। अनावश्यक गुनासो गर्नुहुँदैन। सबैसित तालमेल मिलाउन सकियो भने आत्मसम्मान सुरक्षित हुन्छ।

कुकरी तालिम ः हिजोआज अधिकांश क्यारियर ओरिएन्टेड युवतीहरू कुकरी सिक्न रुचाउँदैनन्। खाना पकाउन नजान्दा विवाहपछि समस्या आउँछ। श्रीमान् एवं परिवारजनको पि्रय बन्नु छ भने खाना पकाउन सिक्नु आवश्यक छ। राम्रो कुक बन्न नसके पनि केही खानेकुरा बनाउन जानिराख्नुपर्छ।

रुचि ः आफ्नो रुचिका लागि आवश्यक समय निकाल्नुपर्छ। चाहे त्यो किताब पढ्नु, संगीत सुन्नु, नृत्य गर्नँ होस् वा कढाइ, चित्रकला आदि। आफूलाई मनपर्ने राम्रो काम गर्नुपर्छ । यसबाट श्रीमान्को घरमा पनि प्रशंसित भइन्छ ।

हेल्थ चेकअप ः विवाहपूर्व भावी दम्पतीले आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ। चेकअप गरे थुप्रै कुरा थाहा हुन्छ र भविष्यमा स्वास्थ्यसम्बन्धी समस्याले गाह्रो पार्दैन। विवाहपूर्व स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए त्यसलाई समाधान गर्न सकिन्छ।

खुसीलाई महत्व दिने ः आफ्नो मनमा जे-जस्तो इच्छा छ, चाहे खानपानका बारेमा होस् वा घुम्ने, सपिङ गर्नु वा अरु कुनै काम गर्ने मन भए त्यसमा संलग्न भएर आफूलाई खुसी राख्नुपर्छ।

अनावश्यक खानाबाट बच्ने ः विवाहपूर्व परिवारजन र साथीभाइसित पार्टी गरिन्छ। यस्तो बेलामा अनावश्यक खाइन्छ। यसबाट वजन बढ्नुका साथै एसिडिटी वा ग्यासको समस्या हुनसक्छ। त्यसकारण आवश्यक आहार मात्र खानुपर्छ।

तुलना गर्ने बानी छोड्ने ः माइती होस् वा श्रीमान्को घर, धेरैजसो युवती एकसित अर्काको तुलना गर्छन्। यस्तो बानी नराम्रो भएकाले त्याग्न योग्य छ।

ग्रुमिङ वर्कसप ज्वाइन ः फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भएकाले आफ्नो उठाइ-बसाइ, खानपान गर्ने तरिका एवं व्यवहारको शैली राम्रो बनाउनुपर्छ। यसका लागि ग्रुमिङ वर्कसप ज्वाइन गर्नुपर्छ। यसबाट अरूमाथि आफ्नो प्रभाव कायम गर्न सकिन्छ।

No comments: