Sunday, November 28, 2010

डाक्टरी नपढेका डाक्टरहरु

एकपटक रामबहादुरको भैँसी बिरामी भएछ। उसलाई झलक्क भएछ, केही समयअघि श्यामबहादुरको पनि भैँसी बिरामी भएको थियो। त्यस अर्थमा भैँसीका रोगका बारेमा रामबहादुरलाई श्यामबहादुर आफूभन्दा बढी विज्ञ ठहर भयो। रामबहादुर दौडेर हस्याङ्फस्याङ गर्दै श्यामबहादुरको घरमा पुगेछ। भैँसी बिरामी भएका बेलामा रामबहादुरले के गरेको थियो भनेर उसले सोधेछ। श्यामबहादुरले भैँसीलाई पाँच लिटर मट्टीतेल खुवाएको जानकारी दिनासाथ रामबहादुर दौडेर घर फर्केछ र आफ्नो भैँसीलाई पनि मारसँग पाँच लिटर मट्टीतेल खुवाइदिएछ। भोलिपल्ट बिहान उसको भैँसी मरेछ। क्रूद्ध रामबहादुर श्यामबहादुरकहाँ गएर रसिले दाह्रा किट्दै कुर्लेछ, "मेरो भैँसी त मर्‍यो !"

श्यामबहादुरले भनेछ, "मेरो पनि त मरेको थियो नि !"

यो त भयो भैँसीको कुरा। हामीमध्ये धेरैजसोमा पनि रामबहादुर बसेको हुन्छ। त्यति मात्र कहाँ हो र ! हामी त भैँसी होइन, आफ्नै स्वास्थ्यको कुरामा पनि धेरै हदसम्म रामबहादुरजस्तै हुन्छौँ।

हुन त सानातिना स्वास्थ्यसम्बन्धी समस्यामा घरेलु उपायहरूको भर पर्ने, जानकार र विज्ञ चिकित्सकको सल्लाहबिना नै औषधी खाएर च्याँखे हान्ने हामीकहाँ मात्र नभई अन्य अल्पविकसित देशहरूमा पनि चलन हुन्छ भन्ने कुरा त्यससम्बन्धी सर्वेक्षणहरूले बताउँछन्। हामी अरूको सल्लाह पनि सुन्छौँ र आफू पनि अघि सरेर सल्लाह दिन्छौँ। लौ त भन्ने हो भने यो एक किसिमले हाम्रो राष्ट्रिय चरत्रि नै बनिसकेको छ। कुनै पनि रोग वा समस्याका बारेमा कतै चर्चा भयो भने अर्को मान्छेले घरेलु, आध्यात्मिक, तान्त्रिक, पौराणिक, आयुर्वेदिक वा एलोप्याथिक गरेर केही न केही उपाय र औषधी बताउँछ। त्यति मात्र कहाँ हो र थरीथरी मान्छेले हामीलाई विभिन्न उपायहरू बताउँछन्। हामी त्यसमध्ये कतिवटालाई त प्रयोग गरेर पनि हेर्छौं। एकदमै गम्भीर परििस्थति नभई हत्पति डाक्टर वा अस्पताल जान हामीलाई मन लाग्दैन। समस्यालाई सानो रूपमा लिने बानी, पहिले आफ्नो वा अरूको मिल्दोजुल्दो समस्याको निराकरणको अनुभवजस्ता कुराहरू त्यसको पछाडिका कारणहरू हुने गर्छन्। त्यसले गर्दा भित्रभित्र केही डरलाग्दा लक्षणहरू पालेर हामी बसिरहेका हुन सक्छौँ। केही समयअघि एक जना परििचत आफ्नो नियमित बिहानीको दौड गर्दागर्दै बाटोमा पुक्लुक्क ढले र उनको त्यहीँ निधन भयो। पोस्टमार्टम गर्दा थाहा भयो, उनको मुटुको आकार सामान्य मान्छेको भन्दा चार गुना बढी फुलेको रहेछ। उनी स्वस्थ देखिन्थे र साधारण जीवन बाँचिरहेका थिए। उनमा मुटुसम्बन्धी केही समस्या थियो भन्ने कुरा साथीभाइ त छोडौँ, उनको घरपरविारलाई पनि अत्तोपत्तो रहेनछ।

डाक्टरकहाँ जानु भनेको अनावश्यक खर्च बेहार्नु हो भन्ने मान्यताले हाम्रो मनमा गहिरो जरो गाडेको हुन्छ। हुन त सरकारी अस्पतालको झारो टार्ने मानसिकता, दयनीय स्िथति र प्राइभेट नर्सिङ् होमका खर्चालु उपचारले गर्दा आममानिसले एक हजारपटक सोच्नुपर्ने हुन्छ। त्यसैले होला, अध्ययनहरूले भने अनुसार, ३० मिनेटको दूरीमा अस्पताल वा उपचार केन्द्र भए पनि मान्छे सकेसम्म आफ्नै र अरूका विवेकले नै रोगव्याध निको पार्ने प्रयास गर्छ, अल्पज्ञानीले झ्याम्मै एन्टिबायोटिक खाने, खुवाउने गर्छ। त्यतिले नभए औषधी पसलेहरूको भर पर्छ र औषधी पसलेहरू पनि त्यस्तो बेलामा आफ्नो उच्च मूल्यांकन भएको अनुभूतिले होला, डाक्टर बन्ने प्रयत्न गर्नबाट पछि पर्दैनन्। हुन त औषधी पसल चलाउनेहरूका लागि पनि एक प्रकारको निश्चित तालिम हुनुपर्छ भन्ने तोकिएको छ र मात्र उनीहरूलाई अनुमति दिइन्छ। तर, ऊ खाना खान गएको बेला वा अरू कामले पसल छोडेर गएको बेला त्यहाँ बस्ने उसकी श्रीमती वा अरू कोहीले पनि आएको ग्राहकलाई फर्काउँदैनन्। कुनै बेला औषधी पसलमा गएको बेला ध्यान दिएर हेर्नुहोला, सामान्य समस्याका लागि कोही त्यहाँ सल्लाह गर्न आयो भने त्यो पसलेले कसरी आफ्नो गर्धन अह्ररो पारेर, दुई-चारवटा जटिल प्राविधिक शब्दहरू प्रयोग गरेर आफ्नो बुद्धिमत्ताको प्रदर्शन गर्छ ? अस्पताल जानु वा डाक्टरलाई देखाउन पर्ला कि भन्ने जिज्ञासा गर्दा कतिपयले त भएको तपाईंलाई यही नै हो, तिनले दिने औषधी पनि यही हो, बेकारमा अनेकौँ परीक्षण गरेर किन पैसा खर्च गर्नुहुन्छ भनेर मुडेको पनि कहिलेकाहीँ देख्न पाउनुहुन्छ।

हामी किन स्वास्थ्यजस्तो संवेदनशील कुरामा अरूलाई यति धेरै सल्लाह दिन्छौँ र अरूको यति धेरै सल्लाह लिन्छौँ ! अरू कुरामा आफूलाई ज्ञान नभएको विषयमा नबोले पनि औषधीका कुरामा हामीमध्ये अधिकांश चुप लागेर बस्दैनौँ। कहिले हेक्का गर्नुभएको छ भने त्वचा कसरी राम्रो बनाउने भन्ने कुरामा कुनै पनि स्वास्नीमान्छेलाई कसैले पनि केही भन्यो भने त आँखा चिम्लेर उनीहरूले त्यो सब प्रयत्न गर्छन्। बजारमा त्यही मानसिकतालाई भजाउनका लागि आएका उत्पादनहरू प्रयोग गर्नेदेखि ट्युबलाइटले छाला बिगार्छ भनेर पहेँलो चीम बाल्नसमेत उनीहरू पछि पर्दैनन्।

नियमित स्वास्थ्य परीक्षण गर्ने भन्ने कुरा हाम्रा लागि दुर्लभ हो। भौगोलिक विकटता, आर्थिक अवस्था र खर्चिलो उपचार पद्धतिका कारण पनि सायद यसो भएको हुनसक्छ। मानिसको शरीर यति जटिल संरचना हो, हेर्दा सामान्य लाग्ने आँखा झिम्क्याउने कामका लागि पनि भित्रभित्रै सयौँ क्रियाहरूको तालमेल भइरहेको हुन्छ। तसर्थ, कुनै पनि समस्यालाई हलुका रूपमा लिनु हाम्रा लागि दीर्घकालीन रूपमा नराम्रो हुनसक्छ। आफू स्वास्थ्यको कुरामा विज्ञ भएको भ्रम पालेर उपचार विधि सिकाउने वा अरू त्यस्तै मान्छेको सल्लाह सुन्ने प्रवृत्ति हामीले सुधार्नैपर्ने बानी हो। नत्र कुनै पनि बेला हामी रामबहादुर वा श्यामबहादुर बन्न सक्छौँ। 

No comments: