Saturday, November 20, 2010

मोबाइल बिनाको दैनिकी

एक दशकअघि मोबाइल बोक्नेहरू बिरलै थिए । मोबाइल सेवा लिन ५१ हजार रुपियाँ त धरौटी राख्नुपथ्र्यो । फोन गरेको र उठाएको समेत पैसा लाग्थ्यो । त्यसैले होला, कम्मरपेटीमा मोबाइल झुण्ड्याएर हिँड्नु निकै 'सान' मानिन्थ्यो । कम्मरमा मोबाइल झुण्डियाउनु 'हुनेखाने' को पहिचानजस्तो ठानिन्थ्यो ।
प्रविधिले फड्को मार्‍यो, सडकपेटीमा मागेर जीवन धान्नेहरूको गोजीमा समेत मोबाइल छ अचेल । परिवारको सदस्य सख्याभन्दा बढी मोबाइल भित्रिएका छन् घरघरमा । तीन-तीनवटा 'सिमकार्ड' अट्ने मोबाइल भित्रिएका छन् । सहरबजारमा मोबाइल नबोक्नेहरू आज कमै पाइन्छन् ।
सूचनाको माध्यम हो, मोबाइल । लाग्छ, मोबाइलबिनाको दैनिकी अप्ठेरो र असहज बन्दैगएको छ । जनतासम्म सञ्चारको पहुँच विस्तार गर्ने सरकारी लक्ष्य पनि छ । बद्लिँदो समाजमा मोबाइलका प्रयोगकर्ताहरू भन्छन्- "मोबाइलबिनाको दैनिकी नुनबिनाको अचारजस्तै हुन्छ ।" यही काठमाडौँमा व्यस्त दैनिकी भएका यस्ता बुद्धिजीवी पनि छन्, जो मोबाइल मुक्त दैनिकी चलाइरहेका छन् ।
पत्रकारका लागि मोबाइल झनै आवश्यक साधन बन्दैआएको छ । यद्यपि, पत्रकार एवं मानवअधिकारवादी पुरुषोत्तम दाहालको दैनिकी मोबाइलबिना नै चल्दै आएको छ भन्दा पत्याउन मुस्किल पर्छ । लोकतन्त्र र मानवअधिकारका अथक योद्धा कृष्ण पहाडी मोबाइलमुक्त दैनिकी रुचाउनुहुन्छ । "प्रविधिको बिरोधी म होइन", मानवअधिकारवादी पहाडी भन्नुहुन्छ-"मोबाइलको रेस्पोन्स गर्न सकिन्न भने बोक्नुको अर्थ छैन ।''
"विहान घरमा दिउँसो कार्यालयमा", पहाडी भन्नुहुन्छ-"मोबाइल साथमा नभए पनि जुनसुकै बेला उपलब्ध छु । मोबाइल नभएका कारण आजसम्म कुन काम रोकिएको छैन ।"
कार्यक्रममा रहँदा मोबाइलको स्वीच बन्दै गर्नुपर्‍यो अरूबेला ल्यान्डलाइन फोनमा नै उपलब्ध हुने भएकाले मोबाइलको आवश्यकता अनुभूत नगरेको भनाइ उहाँको छ । थप्नुहुन्छ- "टेम्पोमा चढेर हेलो भन्दै हिँड्न मन लाग्दैन ।"
चिकित्सकका लागि मोबाइलको उपादेयता कति होला ? यो कुनै बहसको विषय नै होइन । तथापि, चिकित्सक डा.सुन्दरमणि दीक्षित मोबाइललाई 'डिस्टर्ब' ठान्नुहुन्छ ।
"मेरा क्लाइन्टको सुविधाका लागि मोबाइल नबोकेको हुँ", चिकित्सक डा.सुन्दरमणि दीक्षित भन्नुहुन्छ, मोबाइल बोक्दाको फाइदाभन्दा नेटवर्कदेखि अन्य सास्ती झेल्नुपर्दाको समस्या देखेर मोबाइल नबोकेकोतर्फ छ, डा. दीक्षितको । उहाँलाई मोबाइलबाट कसैले फोन गरेमा यस्तो आग्रह गर्नुहुन्छ-"प्रस्ट सुनिन्न, प्लिज
ल्यान्डलाइनबाट गर्नुस् न ।"
डा. दीक्षितको घरमा तीनवटा र
क्लिनिकमा दुई लाइन टेलिफोन छन् । आप\mना सम्पूर्ण सम्पर्क टेलिफोनबाटै चलि
आएको र अब पनि चल्ने ठम्याइ छ, उहाँको । "प्रविधिले मान्छेलाई लखेटिरहेको छ", ठट्यौलो पारामा यथार्थ समस्याबारे डा.
दीक्षित भन्नुहुन्छ-"मेरो क्लाइन्टले औषधिको बारेमा सोध्दा मोबाइलको क्यारक्यारले अर्कै कुरा सुनिदियो भने बर्बाद हुँदैन ?"
कतिपयले मोबाइललाई 'अपजसे' भाँडो पनि भन्छन् । नेटवर्कको समस्याले मोबाइलको सम्पर्क विच्छेद हुन्छ, जानाजानी सम्पर्क टुटाएको भान हुन्छ । अप्ठेरो व्यस्ततामा रहेको बेला मोबाइल उठाउन मिल्दैन, नियतबस नउठाएको आरोप लाग्छ । त्यही भएर पनि मोबाइल बोक्न जाँगर नचलेको रहस्य खोल्नुहुन्छ, संस्कृतिविद् सत्यमोहन जोशी । "त्यति आँखा पनि देख्दिन, घरभित्र मोबाइल पनि सुनिँदैन बाहिर कुद्नुपर्छ", समस्याको फेहरिस्त खोल्दै मोबाइल बोक्न छाडेको बताउनुहुन्छ, जोशी । उहाँ नम्बर याद नभएको मोबाइल भए पनि प्रयोगमा नल्याएको बताउनुहुन्छ ।
पत्रकारिताका गुरु लालदेउसा राईले पनि मोबाइल प्रयोगमा रुचि राख्नुभएन । भन्नुहुन्छ-"मोबाइलको काम सूचना लिने दिने हो । घरकै फोनमार्फत् काम चलेकै छ, किन चाहियो मोबाइल ?"
मोबाइललाई अनावश्यक बोझ ठान्ने वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल आफू मोबाइल विरोधी नभएको प्रस्ट पार्दै 'यो नभए पनि चलेकै छ' भन्नुहुन्छ ।
हातमा मोबाइल नहुँदा साथीभाइले 'पुरानो मानसिकता बोकेको मान्छे
भन्लान् कि भन्ने सोचाइ आए पनि प्याकुरेल भन्नुहुन्छ-"बानी पनि परेन, साह्रै जरुरी पनि ठानिएन । साथीहरूको आग्रह छ, मोबाइल बोक्नुस् भन्ने ।"
श्रवणशक्ति गुम्दै गएपछि मोबाइल नबोक्नु त्यति अनौठो नमानिएला । सुविधा हो, सबैले लिनै पर्छ भन्ने पनि छैन । यद्यपि, कलाकार उत्तम नेपाली, शशिविक्रम शाह, डा.आनन्द शर्मा, पूर्व गर्भनर हरिहरदेव पन्त, पर्यटन व्यवसायी कर्ण शाक्य, प्रा. डा. नोवेलकिशोर राई, डा. रामबहादुर बी.सी., बागमती सफाइ अभियानकर्ता
भगवानदास मानन्धर, राष्ट्रकवि माधव घिमिरे, साहित्यिक पत्रकार जीवनचन्द्र कोइराला, साहित्यकार मदनमणि
दीक्षित, गीतकार कालीप्रसाद रिजाल, चेतन कार्कीलगायत थुप्रै व्यक्तित्व मोबाइलमुक्त दैनिकी बिताइरहनुभएको छ ।

No comments: