Wednesday, December 1, 2010

फेसबुकका फरक फेस

'इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या' -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे त्यहाँका पत्रिकामा प्रकाशित खबरको शीर्ष हो । सन् २०१० अपि्रल महिनामा एउटी १४ वर्षे छोरीले आफ्नी आमालाई ढाडमा सातपटक छुरी रोपेर मारिन् । दिउसो स्कुलबाट घर फर्किनासाथ ल्यापटपमा इन्टरनेटको सञ्जाल खोलेर बसेकी छोरीसँग उनकी आमाको भनाभन भयो । आमाले छोरीलाई इन्टरनेट बन्द गर्न भनेपछि तातेको यो बहस केही बेरमा शान्त भयो र छोरीलाई लुगा धुन जा भनेर आमा आफू नुहाउने कोठामा गइन् । यो लुगा धुनु पनि हाम्रो नेपाली गाउँ-सहरमा जस्तो बाटामा साबुन धसेर घन्टौं लगाएर धुने धुवाइ थिएन, मात्र लुगा धुने यन्त्रमा लुगा हालिदिने र समय भएपछि झिकेर ल्याउने थियो । रिसको झोँकमा आँखा नदेखेकी छोरीले आमा कोठाबाट निस्केपछि भान्साबाट तरकारी काट्ने धारिलो चक्कु लगेर नुहाउने कोठामा रहेकी आमाको ढाडमा सातपटक रोपिन् । हुन त यो उनीहरूको पहिलो भनाभन थिएन । आमा-छोरीबीच योभन्दा अघि पनि धेरैपटक कम्प्युटर, इन्टरनेट र फेसबुक लगायतका कुरामा गलफत्ती भइरहन्थ्यो । ती किशोरीले फेसबुकमा र आफ्नो दैनिकीमा आमासँग रिस उठेको र भनाभन भएको कुराहरू लेखेकी पनि रहिछन् । कुनै बेला उनले 'आज मसँग चक्कु थिएन, नत्र म त्यसको घाँटी रेटिदिन्थेँ र यो झगडा सधैंका लागि सकिन्थ्यो' भनेर पनि लेखेकी रहिछन् । अष्ट्रियाको प्रहरीले अनुसन्धानका क्रममा फेसबुकबाट यो कुरा पत्ता लगायो । धेरै अघिदेखि दन्केको ती किशोरीको रिसको आगोलाई अन्ततः गत अपि्रल १३ का दिन ३७ वर्षीया आमालाई मारेर बगेको रगतले निभायो । हालै अदालतमा दिएको बयानमा उनले भनिन्, 'आमालाई मार्ने नै मेरो उद्देश्य थिएन । आवेशमा आउँदा अनजानमा यस्तो भयो ।' अहिले ती किशोरी कारागारमा दसवर्षे बन्दी जीवन बिताइरहेकी छिन् । छोरी बन्दी जीवन बिताएर फेरि नियमित जीवनमा फेर्केलिन्, तर उनकी आमा भने सदाका लागि भगवानकी प्यारी भइन् ।



कुनै बेला थियो, गाई-बाख्रा चराउन गोठाला गएका छोराछोरी वनमै संगीहरूसँग खेल्दाखेल्दै गाईवस्तुले कसैको बाली खाएको अथवा खेल्दाखेल्दै साँझ परेर घर र्फकन ढिला भएको निहुँमा बाबुआमाले छोराछोरीलाई गाली गर्थे । त्यसपछि जमाना अलि फरक भयो, अनि टीभी धेरै हेरे भनेर बाबुआमा छोराछोरीलाई गाली गर्नथाले, अब अहिले त्यो जमाना पनि फेरियो । अब त कम्प्युटरको अगाडि धेरै नबस, फेसबुक धेरै नहेर, फलानोलाई फेसबुकमा साथी किन बनाएको, फलानाकी छोरी कति फेसबुकमा अनलाइन बसेकी, त्यो अब बिग्रीजस्ता कुराहरूको जमाना आयो । राम्रा र नराम्रा पक्ष सबैमा हुन्छन् । साथीसँग खेल्दा वा गफ गर्दा, पछि टीभी हेर्दा वा अहिले फेसबुक चलाउँदा सबैका राम्रा र नराम्रा पक्ष छन् । फरक यत्ति हो, प्रयोगकर्ताले त्यसलाई कसरी लिन्छ ।






'सिर्जना भान्जीले अमेरिकामा छोरो पाइन् । हामीले त जन्मेको ४० मिनेटमै फेसबुकबाट थाहा पायौं', काठमाडौंको वानेश्वरमा रहेकी माइज्यूले भनिन् । उनकी मामाकी छोरीले कम्बोडियाबाट भनिन्, 'सबैभन्दा पहिला फेसबुकमा कमेन्ट त मैले लेखेको ।' 'तपाईंपछि त फेरि म हो नि', अर्की बहिनीले थपिन् । यस्तो कुराकानी हुन्छ, हिजोआज नेपाली आँगनमा । विदेश गएका लोग्ने, छोराछोरी, आमा, श्रीमती, दिदीबहिनीहरू अहिले फेसबुक खोल्ने होडबाजीमा छन् । फेसबुकभन्दा अघि धेरै अरू सञ्जालहरू पनि थिए- याहु, हटमेल, जीमेल, स्काइप आदि-आदि, तर तिनले नेपाली महिलाहरूको मन तान्नसकेको थिएन । कम्प्युटर चलाउन आउँदैन भनेर उनीहरू चुप लागेर बस्थे । तर फेसबुकले भने ती सबैको मन जितेको छ । झापाकी सत्तरी वर्षीया पुप्पामायाले छोरोसित क्यानाडा गएपछि फेसबुक खोलिन् । छोरो, नाति र पनातिनीसँग क्यानाडा घुमेको फोटो नेपालमा रहेका अन्य छोराछोरीहरूलाई देखाउनु, फेसबुक खोल्नुमा यही एकमात्र उनको उद्देश्य थियो । फोटो हेर्नबाहेक उनलाई अरू केही गर्न भने आउँदैन । त्यसैगरी मोरङ निवासी ७५ वर्षीय लयप्रसाद र उनकी जहानले पनि युरोप भ्रमणका बेला खिचेका आफ्ना फोटा फेसबुकमा राखेका छन् । अब त फेसबुक र विदेश एकअर्काका पर्याय बनेका छन् । श्रीमान र छोराछोरीसँग स्वीडेन आएकी धनकुमारीले पनि जन्मभूमि बिर्साउन फेसबुकमा खाता खोलिन् । अब बिस्तारै टाइप गर्न र च्याट गर्न पनि सिकिसकिन् । पहिला त छोरीले फोटो अपलोड गरिदिन्थिन्, तर यसपटकको तीजको फोटो र भिडियो उनले आफैं राखिन् । यसरी फेसबुकले नेपाली महिलाहरूलाई कम्प्युटर साक्षर गराइरहेको छ । फेसबुकको माहोल यसरी फैलिएको छ कि अहिले फेसबुक नहुने मान्छे विरलै भेटिन्छ ।






फेसबुकको निर्माण र प्रारम्भ सन् २००४ मा हार्वर्डका एक छात्र मार्क जकरवर्गले गरेका हुन् । त्यसबेला यसको नाम द फेसबुक थियो । कलेज नेटवर्किङका रूपमा सुरु गरिएको यो सञ्जाल कलेज परिसरभित्र लोकपि्रय हुँदै गयो । केही महिनामै यो सञ्जाल युरोपभरि प्रख्यात भयो र अगस्त २००५ मा यसको नाम फेसबुक भयो । एउटा कलेजका विद्यार्थीहरूको सम्पर्कको माध्यमका लागि खोलिएको फेसबुक अहिले संसारमै एउटा प्रसिद्ध सञ्जाल बन्न पुग्यो ।






'फेसबुकले मानिसहरूलाई एक किसिमको नसा लगाएको छ ।'






'यसले सबैको उत्पादनशील समय बर्बाद गरेको छ ।'






'व्यक्तिगत कुराहरू पनि फेसबुकमार्फत सार्वजनिक भएका छन् । मेरो घर, मेरो कुकुर, मेरो बारी भनेर फोटो राख्नुको के औचित्य, किन आफ्नो सबै कुरा संसारलाई थाहा दिने ?'






'मेरो नाम गुगल गर्दा मेरो फोटोसहितको जानकारी सबैले थाहा पाउन् भन्ने म चाहन्न ।'






'कुनै व्यक्तिले के गरेको छ, त्यो नियाल्ने माध्यम भएको छ फेसबुक ।'






'म त आफू फेसबुकमा केही लेख्दिन, तर अरूले के गर्दैछन्, त्यो जान्न मलाई रमाइलो लाग्छ ।'






'फेसबुक त मेरोलागि भगवान भएको छ । यसले मलाई मेरा अति प्यारा विदेशी मित्रहरूसँग भेट्टाएको छ । म फेसबुकप्रति अत्यन्त ऋणी छु ।'






यिनै र यस्तै प्रतिक्रियाहरू मैले पाएँ, फेसबुकका सम्बन्धमा केही व्यक्तिको विचार बुझ्न खोज्दा । मेरा एक अति व्यस्त नेपाली मित्रले भन्नुभयो, 'मानिसहरू समय कसरी पाउँछन्, फेसबुक खोल्न । मलाई त अचम्म लाग्छ ।'






म गएको महिना एउटा सम्मेलनमा सहभागी भएँ । करिब १५० जना अटाउने एउटा सभाकक्षमा सत्र चलिरहेको थियो । म निर्धारित समयभन्दा अलि ढिलो पुगेँ, सबै बसिसकेका र सत्र पनि सुरु भइसकेको थियो । पछाडिको लहरमा लन्डन विश्वविद्यालयका एकजना प्रसिद्ध प्राध्यापक आफ्नो काखे कम्प्युटर (ल्यापटप) खोलेर बसेका थिए । मेरो आँखा झट्ट उनको काखे कम्प्युटरमा पुगिहाल्यो, हेर्दा त फेसबुकको पातो पल्टिएको देखेँ । ए, यस्ता विद्वान प्राध्यापकको पनि फेसबुक रहेछ भनेर मलाई रमाइलो लाग्यो, आफ्नो पनि भएकाले । उनको उत्पादनशील समय बर्बाद भएको छ भनौं भने दर्जनौं अनुसन्धानपरक पुस्तक उनका नाममा प्रकाशित छन् । उनको विषयगत पाण्डित्यले सबैलाई नतमस्तक गराएकै छ । २ लहर अघि गएर बसेँ । बसिसकेर अगाडि हेरेको त एक युवती पनि उनको सानो मोबाइलमा फेसबुक नै हेरेर बसेकी छिन् । छिनछिनमा खोल्दै बन्द गर्दै, बेलाबेला केही लेख्दै पनि गर्छिन् । केही बेरपछि ती फेसबुल खोलेर बसेका प्राध्यापकको प्रस्तुतिको बेला आयो । उनले गएर आफ्नो कार्यत्र प्रस्तुत गरे । उनी सम्मेलनमा सहभागी वरिष्ठतम विद्वानमध्ये ३ जनाको नाम लिँदा एकमा पर्थे ।






यी सबै घटनालाई मनन गर्दा फेसबुक नराम्रै हो भनेर ठोकुवा गरिहाल्न मैले सकिन । तर यो एकदम राम्रो हो पनि भन्न सकिँदैन । नितान्त व्यक्तिगत कुरा पनि फेसबुकमा आए, लोग्नेस्वास्नीको झगडा पनि फेसबुकमा सार्वजनिक भयो भन्ने कुरा पनि सही हो । हालै एक पत्नीले आफ्ना पतिको भित्तोमा 'मसँग नरिसाउनुस् है, मलाई माफ गरिदिनुस् भनेर लेखिन् । पति-पत्नीको कुरो सार्वजनिक भयो भन्दैमा यसलाई नराम्रो पनि भन्न सकिँदैन । आफ्नो कुनै गल्ती भए सबैका अगाडि माफी माग्न सक्नु पनि त एउटा उदारता नै हो । यसबाट पक्कै पनि ती दम्पतिबीचको प्रेम अझ बन्यो होला भन्ने मेरो अनुमान छ ।

No comments: