Wednesday, December 1, 2010

इन्टरनेटबाटै मोबाइलमा कुरा गर्न सकिने

तपाईले छिट्टै इन्टरनेटमार्फत सस्तो मूल्यमा नेपालभित्रका अन्य नेटवर्कका मोबाइल र टेलिफोनमा कुराकानी गर्न सक्नुहुने भएको छ । दूरसञ्चार प्रधिकरणले भ्वाइस ओभर ब्रोडब्यान्ड (भिओबिबी) सेवा सञ्चालन खुला गर्न सरकारलाई सिफारिस गरेपछि केही समयै यो सम्भव हुने भएको हो ।







यस सेवामा उच्च गतिको इन्टरनेटका साथै भ्वाइस (फोन) सेवा पनि उपलब्ध हुन्छ । उपभोक्ताले मुलुकभित्रका अन्य कम्पनीको टेलिफोन र मोबाइल नेटवर्कमा फोन गर्न सक्छन् । यो आइपी टेलिफोनी प्रविधिमा आधारित हुने भएकाले अहिले साइवरबाट बाहिर गरिने नेटफोनजस्तै सस्तोमा नेपालभित्रै फोन गर्न सकिन्छ ।






हाल इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) ले इन्टरनेट प्रोटोकलमा आधारित फोन प्रदान गरिरहेका छन् । उनीहरूले इन्टरनेटबाट अन्तर्राष्ट्रिय फोन गर्ने सुविधा मात्र दिएका छन् । 'उच्च गतिको इन्टरनेटका साथै टेलिफोन सेवा विस्तार होस् भनेर सेवा सञ्चालनका लागि सिफारिस गरिएको हो,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'सरकारले राजपत्रमा सेवा सञ्चालन गर्न दिने सूचना प्रकाशित गरेपछि इच्छुकले आवेदन दिन सक्नेछन् ।'






यो सेवाको लाइसेन्स लिन आवेदन दिने कम्पनीले सुरुमा कम्तीमा २५ जिल्ला र १ हजार ३ सय वटा गाविसमा इन्टरनेट सेवा पुर्‍याएको हुनुपर्छ । 'तोकिएको क्षेत्रमा उच्च गतिको (ब्रोडब्यान्ड) इन्टरनेट सेवा पुर्‍याउनु लाइसेन्स लिनुअघिको सर्त हो,' उनले भने, 'इन्टरनेटको क्षमता कम्तीमा २ सय ५६ केबिपिएस आपलिंक र डाउनलिंक क्षमताको हुनुपर्छ ।'






प्राधिकरणले सूचना तथा सञ्चार मन्त्रालयलाई गरेको सिफारिसमा लाइसेन्स दस्तुर ६ करोड ५३ लाख रुपैयाँ लिनुपर्ने उल्लेख छ । यस्ता कम्पनीले मुलुकभर सेवा सञ्चालन गर्न पाउँछन् । 'यो सेवाका लागि अनुमति लिने कम्पनीले भ्वाइस -फोन) र डाटा -इन्टरनेट) सेवा दुवै सञ्चालन गर्न पाउनेछन्,' न्यौपानेले भने, 'आइएसपी कम्पनीले दिने अन्तर्राष्ट्रिय फोन सुविधा दिन सक्छन् । भिओबिबी सेवामा मोबाइल वा घरको फोनबाट देशभित्र र बाहिर फोन गर्ने सुविधा हुन्छ ।'






प्राधिकरणको सिफारिसअनुसार सेवा प्रदायक कम्पनी वा नयाँ सेवा प्रदायक कम्पनीले पूर्वआवश्यक पूर्वाधार तयार पारी आवेदन दिन सक्नेछन् । 'यो सबैका लागि खुला गरिएको सेवा हो,' न्यौपानेले भने, 'आवश्यकता भएसम्मका कम्पनीलाई अनुमति दिँदा हुन्छ ।'






अहिलेसम्म कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले २५ जिल्लाका १ हजार ३ सय गाविसमा उच्च गतिको इन्टरनेट सञ्चालन गरेका छैनन् । यस्तो अवस्थामा यो सेवा सञ्चालन गर्न सम्पूर्ण पूर्वाधार निर्माण गर्नु वा ठूला इन्टरनेट सेवा कम्पनी गाभिनुपर्ने एक जानकारले बताए । यो सेवाका लागि २ दशमलव ३ गेगाहर्जमा करिब ३० मेगाहर्ज पि
mक्वेन्सी दिन सकिने सिफारिसमा उल्लेख छ ।






यो सेवा तारसहित वा ताररहित (वायरलेस) इन्टरनेटबाट सञ्चालन गर्न सकिन्छ । वायरलेस इन्टरनेट सेवा सञ्चालन गर्दा वाइफाई सुविधा भएका मोबाइलबाट फोन गर्न मिल्ने भएकाले प्रभाकारी हुने उनले बताए ।






No comments: