Sunday, January 30, 2011

इन्जिनियर कसरी बन्ने ?

इन्जिनियर' भन्नाले निर्माण विद्याको स्नातक, वास्तुकला विशेषज्ञ, यन्त्र वा कल अर्थात् इन्जिनसम्बन्धी स्नातक, यन्त्रविद्या विशेषज्ञ भन्ने बुझिन्छ । 'इन्जिनियरिङ' ले कलपुर्जासम्बन्धी विद्या, वास्तुकला, इन्जिनियरको काम वा पेसा भन्ने अर्थ दिन्छ । हामीले बुझ्ने गरेको कुनै पनि कामलाई प्राविधिक रूपमा पूरा गर्ने व्यक्ति इन्जिनियर हो जसले स्नातक र त्योभन्दा बढी तहको इन्जिनियरिङ शिक्षा हासिल गरेको हुन्छ ।
विशेष गरी सहरमा बनेका भव्य महल, पुल, सडकहरू, हामीले चढ्ने गरेको मोटर गाडीहरू, साइकल, बिजुली, बिजुलीका सामग्रीहरू, कम्प्युटर, टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता सबै सामग्रीहरूको आविष्कार तथा निर्माण, पुनर्निर्माण, सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति नै इन्जिनियर हुन् ।
विकसितमात्र होइन विकासोन्मुख मुलुकका लागि इन्जिनियरहरूको महत्त्व दिनानु दिन बढ्दो छ । एसएलसीमा कम्तीमा दोस्रो श्रेणी हासिलले विज्ञान विषय पढ्न पाउने भएपछि इन्जिनियर बन्ने सपना जो कोही विद्यार्थीका निम्ति अहिले सहज बनेको छ । सरकारले १२ कक्षासम्म विज्ञान विषय पढाउन उच्च माविहरूको व्यवस्था गरिदिएको
छ । कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी, अंग्रेजी र गणित पढ्नुपर्छ । त्यसैगरी १२ मा यी सबै विषयहरूमा बायोलोजी या गणित दुईमध्ये एउटा छाडेर नेपाली विषय पढ्नुपर्छ । आईएस्सी पढेकाले भने भर्ना हुने बेलामै बायोलोजी या गणित छान्नुपर्दछ । बीई -ब्याचलर इन इन्जिनियरिङ) पढ्न १२ कक्षा होस् या आईएस्सी कम्तीमा ५० प्रतिशत अंक हासिल गरेकै हुनुपर्छ । यसो त एसएलसीपछि ओभरसियर पढ्न पनि सकिन्छ । ओभरसियरमात्र लक्ष्य राख्नेका निम्ति तीनवर्षे कोर्सको पढ्न सकिन्छ । ओभरसियर पढेकाले पनि बीई पढ्न पाउँछ ।
यति गरिसकेपछि स्नातक बीई पढ्ने बाटो खुल्छ । बीई पढ्नका निम्ति विश्वविद्यालयले लिने प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर नाम निकाल्न सक्नुपर्ने काठमाडौं विश्वविद्यालयको हालै सम्पन्न १६ औं दीक्षान्तबाट दीक्षित भावुक कोइराला बताउँछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत लिइने प्रवेश परीक्षामा उच्च अंक हासिल गर्नेले छात्रवृत्तिसमेत पाउँछ ।
बीई आर्किटेक्ट इन्जियनियरिङ पाँचवर्षे कोर्स पढ्नुपर्छ भने अन्य चारवर्षे कोर्स । चारवर्षे कोर्सअन्तर्गत मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्टि्रकल, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ पढ्न सकिन्छ ।
कुन विषय कस्तो ?
मेकानिकल इन्जिनियरिङ पढ्ने हो भने मेसिनसम्बन्धी अध्ययन गर्नुपर्ने हुन्छ । मेसिनरी काम यो विषयको अन्तिम उद्देश्य रहन्छ । इलेक्टि्रकल/इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्नेले बिजुलीसम्बन्धी अध्ययन गर्नुपर्ने हुन्छ । यसका दुई हाँगा छन्- पावर -भोल्टेज) र कम्युनिकेसन । पावर पढ्नेले विद्युत्सम्बन्धी काम जस्तै- ग्रामीण विद्युतीकरण, हाइड्रोपावर, माइक्रो हाइड्रोपावरको सूक्ष्म ज्ञान
राख्छ । इलोक्ट्रोनिक्स या इलेक्टि्रकल कम्युनिकेसनले एयरपोर्टको कन्ट्रोल टावर र हवाईजहाजबीचको कुराकानीसम्बन्धी अध्ययन गर्छ । मोबाइल वा टेलिफोन तथा सञ्चारका सम्पूर्ण पक्षको अध्ययन गर्ने व्यक्ति नै इलेक्ट्रोनिक्स इन्जियर हो ।
हामीले तर्दै आएका पुलपुलेसा र बस्दै आएका अग्ला भवनहरू बनाउने काम सिभिल इन्जियरको हो । यी सबैखाले निर्माण कार्यको नक्सा बनाउनेदेखि निर्माणमा लाग्ने लागत खर्चसमेत यकिन गर्न सक्ने दक्ष व्यक्तिलाई सिभिल इन्जिनियर भन्छौं । घर, पुल, राजमार्ग, रेलमार्ग, हवाई मैदान सबै निर्माण कार्य यसमा पर्दछ ।
मोटर गाडीको इन्जिन, टर्वाइन, विद्युत् उत्पादन मेसिनको निर्माण र लेखाजोखा गर्ने व्यक्तिलाई मेकानिकल इन्जिनियर भन्दछौं । जुनसुकै विकास, निर्माण गर्दा वातावरणलाई न्यून असर पुग्ने पक्षमा अध्ययन गर्ने व्यक्तिलाई वातावरण इन्जिनियर भनिन्छ । जग्गाको नक्साङ्कन तथा नापीसम्बन्धी काम जिओमेटिक्स इन्जिनियरले गर्दछ । कम्प्युटरसम्बन्धी सम्पूर्ण अध्ययन गर्ने व्यक्ति कम्प्युटर इन्जिनियर हो । बीई पूरा गर्न ३ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ । त्रिविमा विद्यार्थीले हासिल गरेको अंक मेरिटअनुसार छात्रवृत्ति दिन भएकाले खर्च कम पनि हुन सक्छ ।
बीईपछिको विकल्प ?
चार/पाँचवर्षे बीई अध्ययनपछि दुई वटा बाटो खुला हुन्छ । थप उच्च अध्ययन र जागिर । बीई उत्तीर्णले आफ्नो शैक्षिक प्रमाणपत्रलाई नेपाल इन्जिनियरिङ परिषद्बाट प्रमाणित गर्नुपर्छ । परिषद् इन्जिनियरहरूको प्रमाणपत्र प्रमाणित गर्ने एकमात्र सरकारी निकाय हो । स्नातकोत्तर इन्जिनियरिङ पढ्नका निम्ति स्वदेशमै व्यवस्था छ । नत्र विदेश अध्ययन गर्न जान पनि सकिन्छ । त्रिविअन्तर्गत सिभिल, मेकानिकल, आर्किटेक्ट पढ्ने व्यवस्था छ ।
 

No comments: