Sunday, January 30, 2011

आत्ममिलनको साइनो विवाह

विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको व्यक्तित्वको खोजी  गर्नका लागि हुनुपर्छ। आपसी निकटता र विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो राम्रो ! त्यसो हुँदा  विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता र समझदारी विकास भैसकेको हुन्छ।

विवाह पार्टीमा जान खासै रुचि नभए पनि केही दिनअघि एउटा विवाह कार्यक्रममा सरिक हुनुपर्ने भयो, 'छोरीको विवाहमा जानैपर्छ,' भन्ने  बुझाइले । पहिले-पहिले विवाहको धार्मिक कार्य सम्पन्न गर्न भररात लाग्थ्यो, जन्ती जाने आउने समय गन्दा त दुई दिनै लाग्ने ! अचेल  जमाना सर्टकर्टको छ । ४ घन्टा पार्टी प्यालेस बुक गरे विवाहको सबै काम तमाम हुन्छ । दुईवटा हस्ताक्षर गरेर दुई मिनेटमा हुने विवाहको  अभ्यास पनि बढ्दै गएको छ । विवाहलाई दुई आत्माको मेल मान्दै, कुनै पनि औपचारिक कानुनी प्रक्रिया वा सामाजिक-धार्मिक स्वीकृतिको  आवश्यकता बोध नगर्ने जोडीको संख्या पनि बढ्दैछ । जीवनमा एकपल्ट हुने विवाह, स्थापित प्रक्रिया एवं सामाजिक तामझामसाथ गर्नुपर्छ  भन्ने धारणा कतिपयको छ । कतिले प्रक्रियाभन्दा सम्बन्धमा जोड दिन्छन् । बुझाइको विविधताले नै वैवाहिक सम्बन्धमा बाँधिने शैलीमा  फरकपन आएको हो ।

विवाह र प्रेम

'विवाहपूर्व प्रेम अनिवार्य छ' भन्ने सुन्दा, सातआठ वर्षको उमेरमा विवाह गरेका हजुरबा-हजुरआमालाई अचम्म लागे पनि हाल यो अनिवायर् जस्तै भएको छ । लभलाई एरेञ्जको रुप दिएर विवाह गर्ने हुन् वा एरेञ्जमा लभको खोजी गर्नेहरू हुन्, दुवैथरीले प्रेमको अनिवार्यता स्वीकार  गरेका छन् । विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको  व्यक्तित्वको खोजी गर्नका लागि हुनुपर्छ । आपसी निकटता र विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो  राम्रो ! त्यसो हुँदा विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता र समझदारी विकास भैसकेको हुन्छ । यस्ता जोडीका लागि विवाह न  फलामको ढोका हुन्छ, न विवाहपछिको घरव्यवहार फलामको च्यूरा ! विवाहपूर्व प्रेम हुनु दीर्घ सम्बन्धको आधार हो । तथापि, सफल जीवनका  लागि प्रेम मात्र पर्याप्त हँुदैन ।

विवाह र आत्मनिर्भरता

विवाह प्रेमको अवतरणका लागि मात्र हुनुहुँदैन । विवाह शारीरिक आवश्यकता पूरा गर्ने बहाना मात्र हुनुहुँदैन । विवाह घरमा बुहारीको  आवश्यकता पर्दा गरिने संस्कार मात्र हुनुहुँदैन । विवाहमा यी सबै कुरा हुनु त पर्छ, साथै दुई पक्षको शारीरिक परिपक्वता, आर्थिक आत्मनिभर् रता एवं मानसिक तत्परता पनि जरुरी हुन्छ । विवाहपूर्व शारीरिक परिपक्वता हुनुपर्ने प्रश्नमा नेपाली समाज धेरै अघि बढिसकेको छ । उमेर  नपुगी विवाह हुने समस्या पछाडि परेका समुदायमा नगण्य मात्रामा छ । आत्मनिर्भरताको प्रश्नमा उमेरदार युवायुवतीहरू कन्फ्युजनमा रहेको  पाइन्छ । एक्लो छँदासमेत आवश्यक हुने आर्थिक सबलता विवाहपछि अपेक्षा, आवश्यकता र जिम्मेवारी दोब्बर हुँदा थप अनिवार्य हुन्छ ।  आत्मनिर्भरताका सम्बन्धमा युवामा जति संवेदनशीलता युवतीमा पाइँदैन । कतिपय युवती हुनेखाने केटा भए पुगिहाल्ने भ्रममा हुन्छन् । यस्तो  सोच भएकाहरूले बुझ्नुपर्छ- आत्मनिर्भरता केवल दुईछाकका लागि होइन, घरभित्र बाहिरको संसारमा सम्मानित भएर बाँच्नका लागि पनि  हो ।

विवाह र दाइजो

विवाहजस्तो महान साइनोलाई कसैले दूषित गर्दैछ भने, दाइजोले गर्दैछ । दाइजोप्रथाका संरक्षकहरू मानवीय सम्बन्धलाई हाटबजारको मो लमोलाइ मान्दैछन् । उनीहरू छोराको शिक्षादिक्षा, उपचारमा लागेको खर्च उठाउन भन्दै छोरी पक्षसँग दाइजोको खुलेआम बार्गेनिङ गर्छन् ।  यता छोरी पक्ष छोरी जन्मिएको दिनलाई कालो दिनका रूपमा बुझ्न विवश छ । यो चलन नेपालको तराईमा बढी छ । पूर्व होस् वा पश्चिम,  दाइजोप्रथा सामाजिक भार बनेको छ, भलै यसलाई स्वेच्छासँग जोडेर किन नहेरियोस् ? दाइजोप्रथा कानुनमा बन्देज गरेर नभई सामाजिक  जागरणबाट मात्र उन्मूलन हुन सक्छ । कुरा दाइजो दिने वा लिने एक पक्षको मात्र होइन । छोरातर्फबाट दाइजो लिनेले छोरीको विवाहमा  दाइजो दिनुपर्ने यथार्थतालाई विर्सनुहुँदैन । विवाहमा सकिनसकी दाइजो दिनेभन्दा छोरीलाई उपयुक्त शिक्षादिक्षाको व्यवस्था गर्नु राम्रो हुन्छ ।  बुहारी भित्र्याउनेमा बुहारीको शिक्षादिक्षा र ज्ञानलाई दाइजोका रूपमा स्वीकार गर्ने विवेक अपेक्षित छ । विशेषतः केटा (दुलाहा) बाट दाइजो प्रथा दुरुत्साहन गर्नेतर्फ पहल हुनु प्रभावकारी हुनसक्छ । 'मलाई दाइजो होइन, विवेकी जीवनसाथीको खाँचो छ' भन्न सक्ने आँट आजका  युवामा आउन सके दाइजो उन्मूलन प्रयास सार्थक हुने थियो ।

विवाह र समझदारी

विवाहलाई धेरैले सम्झौता मान्छन् । यथार्थमा विवाह बाध्यताको सम्झौता नभै समझदारीमा जीवन जिउने कला हो । शब्दको पछि नलागेर  विवाहलाई सम्झौता नै मान्ने हो भने पनि 'सम्झौता' आफैमा नराम्रो हुँदैन । एक्लाएक्लै बाँचेका अधुरा दुई पक्ष एक भै पूर्णताको अभ्यासमा  लागिपर्छन् भने त्यसमा नराम्रो के छ ? सबै काम, दायित्व र निर्णय हिजोसम्म एक्लाएक्लै गर्ने दुई पक्ष विवाहपछि आपसी सहमति, सल्लाह र  समझदारीमा काम गर्छन् भने त्यसमा नराम्रो के भयो र ? विवाहपछि स्वतन्त्रता गुम्छ भनिन्छ । विवाहसँगै गुम्ने कुराको समीक्षा गर्नुपूर्व योसँगै प्राप्त उपलब्धिको पनि सम्झने कि ? विवाहपछि हामी नयाँ जीवन पाउँछौं । जीवनभरको साथी पाउँछौं । विश्वास, माया र भरोसा पाउँछौं । विवाहपछि केही जिम्मेवारी बढ्लान्, सँगै जिम्मेवारी पूरा गर्न आधा भूमिका खेल्ने सहयात्री पनि पाएका हुन्छौं । विवाहलाई 'दलदल' भन्छन्  कतिपयले, सही हो । स्मरणरहोस्, कमल दलदलमै फुल्छ । कमल फुलाउन सक्नु-नसक्नु अर्को कुरा !

मायालुको आगमनको कल्पना मात्रले पछ्यौरी वा साडीको सप्को लहराउने, रिमझिम वषर्ा हुने कुरा वास्तविक जीवनमा त नहोला । एरेञ्ज  वा लभ, जुनसुकै तरिकाले विवाह गरेका जोडीहरूले पूरा समझदारीमा काम गरे जीवन कल्पना गरिएभन्दा सुन्दर, आकर्षक र व्यवस्थित हुन  सक्छ । 'सोचेजस्तो हुन्न जीवन' भन्नु सत्य हो । जीवन धेरै विगि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुभन्दा जीवन धेरै सपि्रएर 'सोचेजस्तो हुन्न  जीवन' भन्नुमा आनन्द छ । यसैतर्फ हाम्रा प्रयास केन्दि्रत हुनुपर्छ । मंसिर सकियो, माघ, वैशाख आउँदै छन् । एक्लाहरूलाई विवाहको निर्णय  लिँदा मन र मस्तिष्कको सन्तुलन मिलाउने पूरा अवसर छ । राम्रो काम गर्न ढिला हुँदैन । विवाहबन्धनमा बाँधिइसकेका जोडीहरूका लागि  पनि सम्बन्धलाई पुनव्र्यवस्थित गर्ने पूरा हक, अवसर र स्वतन्त्रता छ । आवश्यक छ, इच्छाशक्ति र जागरुकताको !

No comments: