Friday, February 25, 2011

प्रेममा उमेर बाधक हुँदैन

अधिकांश विवाहित महिला आफ्नो शिशु ठूलो भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन् । उनीहरूको धारणा यौनका लागि अब  आफ्नो उमेर सीमा नाघिसकेको हुन्छ । श्रीमान्द्वारा पहल गरिए पनि उनीहरू या त बहाना बताउन् वा अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन् । यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा  दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ । यसबाट जोगिन कुनै पनि प्रकारको  नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन । दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा  बिर्सनुहुँदैन । शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना हुन्छ ।

मनलाई सम्झाउनु आवश्यक

यौन विशेषज्ञ तथा मनोचिकित्सकहरूका अनुसार यौन क्रियाकलाप शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ । ४० को  उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ । श्रीमान्-श्रीमतीले एक-अर्काको  भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन  सकिन्छ । नयाँ अनुसन्धानअनुसार बढ्दो उमेरमा नियमित शारीरिक सम्बन्धले अकारण बढ्ने मोटोपनलाई रोक्छ । चिड्चिडापन, मानसिक  अशान्ति एवं अनिद्रा जस्ता धेरै रोगबाट धेरै हदसम्म बचाउँछ । यौनसम्पर्कका बखत निस्कने केही विशेष हार्मोनले व्यक्तिलाई मानसिक  तनावबाट टाढा राख्न मद्दत गर्छ भने बढ्दो उमेरमा केही सामान्य बिरामीसित लड्न अनि शरीरको प्रतिरोधक क्षमता बढाउन सहायक हुन्छ ।  यौनसम्पर्कका बखत हृदयको धड्कन स्वाभाविक रुपले बढ्छ जसले गर्दा हृदयलाई स्वस्थ राख्न मद्दत प्राप्त हुन्छ । यौनलाई गैर आवश्यक  कुरा मान्नु शारीरिक एवं मानसिक दुवै रुपमा नोक्सानदायक सावित हुनसक्छ । विशेष

रुपमा बढदो उमेरमा शारीरिक सम्बन्ध श्रीमान्-श्रीमतीका बीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम सावित हुन्छ ।

एक-अर्कालाई साथ दिनुपर्छ

यो सत्य हो कि शिशु हुर्किसकेपछि अभिभावकको जिम्मेवारी अझ बढ्छ । तिनको भविष्यको चिन्ता एवं घरगृहस्थीको कार्यमा अल्झेर एक- अर्कालाई समय दिनसमेत मुस्किल हुन्छ । सुखी एवं सन्तुष्ट दाम्पत्य जीवनका लागि यस्तो स्थिति पूर्ण रूपमा प्रतिकूल हो । सम्पूर्ण कर्तव्य  दायित्व निर्वाह गरेपश्चात् के पनि बिर्सनुहुँदैन भने श्रीमान्-श्रीमतीलाई एक-अर्काको आवश्यकता पर्छ । त्यसैले व्यस्त भए पनि आफ्ना लागि  समय निकाल्नुपर्छ । सन्तानबिना पनि एक-अर्काको साथ रहने प्रयास गर्नुपर्छ । आफ्नो जीवनसाथीलाई कुनै पनि अवस्थामा अवहेलना  गर्नुहुँदैन । समय र अवस्था अनुकूल यौनजीवनको आनन्द लिन जान्नुपर्छ । ४०-४५ को आयुपश्चात् पनि यौनजीवन बाँच्न सकिन्छ ।  शारीरिक असक्षमता वा विशेष बिमारीमा मात्र यो सम्भव नहुन सक्छ । हाम्रो सामाजिक संरचनाअनुसार चालीसको आयुपश्चात् यौन  सम्बन्धप्रति अधिकांश महिला उदासीन हुन्छन्, जागरूकता देखाउँदैनन्, संकोच मान्छन् । यो संकोच पूर्णरुपले मानसिक हुन्छ तर शारीरिक  आवश्यकता भने कायमै रहन्छ । यही द्वन्द्वको स्थितिले मानसिक तनाव सिर्जना गर्छ । दम्पती एक-अर्काप्रति आरोप लगाउन थाल्छन् र यसले  दाम्पत्य जीवनलाई समस्याग्रस्त बनाउँछ ।

इच्छालाई दबाउन हुँदैन

बढ्दो उमेरसँगै दम्पती दुवैलाई एक-अर्काको आवश्यकता महसुस हुन्छ । त्यसैले जीवनसाथीको भावनाको सम्मान गर्दै मानसिक एवं  शारीरिक रूपबाट उनलाई सन्तुष्ट गर्ने हरसम्भव प्रयास गर्नुपर्छ । कैयन् अवस्थामा केही पुरुषमा पेरोनी वा पेनिक इरेक्सन डिसअर्डरजस्ता  देखा पर्छ । यसलाई सर्जिकल वा नन-सर्जिकल उपायद्वारा समाधान गरी पुनः पहिले जस्तै यौनजीवनमा सक्रिय हुन सकिन्छ । यदि व्यक्ति  मानसिक रूपबाटै स्वयंलाई बूढो र असक्षम सम्झन थाल्छ भने उपचार बढी कठिन हुन्छ ।

अतः दम्पती दुवैले आ-आफ्नो इच्छा दबाउनबाट जोगिनुपर्छ । जीवनको हरेक क्षणलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न गर्नुपर्छ ।  चिकित्सकहरूका अनुसार ४५ वर्षको उमेरपश्चात् महिलामा यौन वितृष्णा प्रारम्भ भए पनि शारीरिक क्रियामा कुनै प्रकारको बाधा उत्पन्न  हुँदैन, न त यौन आनन्दमै कमी आउँछ । गर्भावस्थाको भय पनि कम हुने भएकाले यौन आनन्दको लाभ अझ बढी उठाउन सकिन्छ । केही  समस्या महसुस भए यौन प्रक्रियामा परिवर्तन ल्याउनुपर्छ । लगातार एउटै क्रियाले नीरसता उत्पन्न हुन्छ, त्यसैले आफ्नो सुविधा र  चाहनाअनुसार शारीरिक सम्बन्धमा केही प्रयोग गर्नु उचित हुन्छ । यसबाट नवीनता छाउँछ र दाम्पत्य जीवन अझ रोमाञ्चक बन्न पुग्छ ।

No comments: