Friday, February 25, 2011

अंकशास्त्रअनुसार आपसी सम्बन्ध

१. जन्मांक १ भएका व्यक्ति महत्वाकांक्षी एवं प्रतिभाशाली हुन्छन् । यी कतिसम्म आत्मविश्वासी हुन्छन् भने आफ्ना प्रेमी वा प्रेमिकालाई  साथीहरूसँग परिचय गराउँदा गर्व महसुस गर्छन् । कुनै पनि समूहका सबैभन्दा लोकप्रिय व्यक्तिसँग घुम्न मन पराउँछन् । त्यस्ता व्यक्ति  आफ्नै कक्षाका पनि हुन सक्छन् वा अन्य कुनै पनि क्षेत्रका । आफूलाई धेरैले मन पराउने वा फोन सम्पर्क गरिरहने कुरा मख्ख पर्दै साथीह रूलाई सुनाउँछन् । आफ्ना प्रेमी वा प्रेमीका पहिलो पटक डेटिङका लागि सहमत भैसकेपछि मात्र सम्बन्ध अघि बढाउने खालका हुन्छन् ।  जीवनमा अघि बढ्न सक्दो प्रयास गर्छन् र सफल पनि हुन्छन् । जन्मांक १ का व्यक्तिहरूसँग समय बिताउँदा रमाइलो क्षणको कमी हुँदैन ।  यो जन्मांकका व्यक्ति आफ्ना पति वा पत्निमाथि हैकम चलाउने खालका हुन्छन् । किनभने यी आक्रामक र स्वतन्त्र स्वभावका हुन्छन् ।

जन्मांक १ का व्यक्तिको जन्मांक २ र ६ का व्यक्तिसँगको प्रेम वा वैवाहिक सम्बन्ध सफल हुन्छ, किनभने ती नरम र सहयोगी स्वभावका  हुन्छन् । आफ्नो आक्रामक स्वभावमा केही सुधार गरे जन्मांक १ का व्यक्तिको सम्बन्ध जन्मांक ३ र ४ का व्यक्तिसँग पनि सफल हुन्छ ।  कतैकतै जन्मांक १ ले जन्मांक ५ र ७ का व्यक्तिसँग सन्तोषजनक सम्बन्ध स्थापित गरेको देखिए पनि उनीहरू एक-अर्कालाई सम्पूर्ण रुपले  बुझ्न भने असमर्थ हुन्छन् । जन्मांक ८ र ९ सँग जन्मांक १ को सम्बन्ध शान्तिपूर्ण नहुन सक्छ ।

२. जन्मांक २ का व्यक्तिको साथीहरूको समूह ठूलो हुन्छ । यिनलाई साथीहरूबाट निकै सहयोग प्राप्त हुन्छ । यी प्रेम र वैवाहिक जीवनका  लागि आदर्श साबित हुन्छन् । यो अंककी श्रीमती आफ्नो श्रीमान्को सुखका लागि अत्यधिक समर्पण भाव राख्ने खालका हुन्छन् । जन्मांक २  का व्यक्तिको जीवनमा प्रेम धेरै महत्वपूर्ण हुन्छ । यिनीहरू विवाहअघिदेखि नै प्रेम सम्बन्धका विविध कल्पनामा हराउन थालिसकेका हुन्छन् ।  धेरैको सपना साकार पनि हुन्छ । यद्यपि कतिपयले भनेजस्तो साथी नपाउन सक्छन् । लामो अवधिसम्म साथी बनाउन असमर्थ भए खालीपन  महसुस गर्छन् । प्रेममा यतिसम्म तल्लीन हुन्छन् कि आफ्ना साथीहरूसमेतलाई बिर्सिदिन सक्छन् । प्रेमबाहेक जीवनमा अन्य महत्वपूर्ण पक्ष  पनि हुन्छन् भन्नेतर्फ ध्यान दिनु आवश्यक हुन्छ ।

सामान्यतः यिनको सबैसँग राम्रो तालमेल हुनसक्छ । जन्मांक २ का व्यक्तिले जन्मांक २, ४ वा ६ का व्यक्तिसँग सुखी सम्बन्ध कायम गर्न  सक्छन् । आफ्ना जीवनसाथीको वशमा रहन स्वीकार गरे यिनको जन्मांक १ र ८ का व्यक्तिसँग राम्रो सम्बन्ध स्थापित हुनसक्छ । यो  जन्मांकका व्यक्ति आकर्षक व्यक्तित्व भएका जन्मांक ३ र ५ का व्यक्तिसँग प्रेमसम्बन्ध स्थापित गरेर सफल वैवाहिक जीवन कायम गर्न  सक्छन् । पर-पर रहने  जन्मांक ७ र ९ का व्यक्तिसँग सम्बन्ध सफल बनाउन दुवैले पर्याप्त संयम अपनाउनुपर्ने हुन्छ । 

३. जन्मांक ३ का व्यक्ति आफ्ना प्रेमी वा प्रेमिकाप्रति समर्पण भाव राख्ने खालका हुन्छन् । यी जीवनसाथीका रूपमा विश्वासिला हुन्छन् ।  आफ्ना जीवनसाथी एवं परिवारप्रति वफादार रहन्छन्, तथापि यिनले परिवारलाई पर्याप्त समय दिन नसकेको गुनासो सुन्नुपर्छ । कुनै बेला  आवेशमा आइहाले पनि तुरुन्तै शान्त भैहाल्छन् । यी कुराकानी गर्न सिपालु हुन्छन्् । यीमध्ये केही अलि बढी नै सतर्कता अपनाउने खालका  हुन्छन्, हत्पति जोखिम उठाउन चाँहदैनन् । प्रेम प्राप्तिका सन्दर्भमा भने यिनलाई अस्वीकृतिको भयले सताइरहन्छ । यिनका अधिकांश मित्र  आफ्नै पेशा वा व्यवसायसँग सम्बन्धित हुन्छन् ।

जन्मांक १,३, ५ र ८ अंकका व्यक्तिसँग यिनले सफल सम्बन्ध स्थापित गर्न सक्छन् । अनुकूल बन्ने प्रयत्न गरेको खण्डमा यिनले सबैसँग राम्रो  सम्बन्ध स्थापित गर्न सक्छन् । त्यसको विपरीत सबै अंकका व्यक्ति यिनको अनुकूल हुन सक्छन् भन्ने छैन । तसर्थ, एक अर्कालाई राम्रोसँग  बुझेर सम्बन्ध कायम गर्नु बेस हुन्छ ।

४. यो जन्मांकका व्यक्ति 'लभ एट फस्र्ट साइट' मा त्यति विश्वास गर्दैनन् । यी प्रेम र विवाहका विषयमा पर्याप्त सावधानी अपनाउँछन् ।  त्यसैले यी तत्कालै प्रेम सम्बन्ध कायम गरिहाल्दैनन् । लामो समयसम्म विचार गरेर बिस्तारै प्रेम गर्छन् । यी अध्ययनमा गम्भीर हुन्छन्,  तथापि जीवनमा अघि बढ्न केही प्रोत्साहनको आवश्यकता पर्छ । परिवार र मिल्ने साथी जन्मांक ४ का लागि सदा प्यारो हुन्छ । स्कुल-कले जका खेलकुदको टिम, विद्यार्थी युनियन वा त्यस्तै  कुनै समूह विशेषसँग जोडिन चाहन्छन् । यी अरूलाई खुसी पार्न कडा परिश्रम गर्छन् । जहाँसम्म प्रेम सम्बन्धको प्रश्न छ, एकपटकमा एउटै सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् । कतिपयले आफ्ना बाल्यकालका साथीसँग विवाह  गर्छन् । यी प्रेममा धेरै जोखिम मोल्ने खालका हुँदैनन्, यिनमा अस्वीकृतिको भय पनि उत्तिकै हुन्छ ।

सामान्यतः यी लजालु स्वभावका हुन्छन् । परिश्रमी, विश्वासिला र समर्पण भाव भएका व्यक्तिहरू यिनका लागि आदर्श साबित हुन सक्छन् ।  आफूजस्तै गम्भीर स्वभावका जन्मांक ४, ७ र ९ का व्यक्तिसँग यिनको वैवाहिक जीवन सफल हुनसक्छ । जन्मांक ३ र ५ का रंगीन  स्वभावका व्यक्तिसँग यिनको तालमेल नमिल्न सक्छ । जन्मांक १ र ८ का व्यक्तिले आफ्नो आक्रामक स्वभावमा केहि सुधार गरे उनीहरूसँग  विवाह गरेर सुखी जीवन व्यतीत गर्न सक्छन् । जन्मांक २ का व्यक्तिले स्वभाव परिवर्तन गरे राम्रो जोडी बन्न सक्छ ।

५. जन्मांक ५ का व्यक्तिले विपरीत लिंगीलाई चुम्बकीय शैलीमा आफूतर्फ आकषिर्त गर्न सक्छन् । आकर्षक वेशभूषा, मीठो बोलीवचन  आदिका माध्यमद्वारा सजिलैसँग अरूको ध्यानाकर्षण गर्न सक्छन् । यिनले एकै समयमा धेरै सम्बन्धलाई सफलतापूर्वक सञ्चालन गर्न सक्छन् ।  तथापि, यी सबै सम्बन्ध कायम गरेर बसिरहन्छन् भन्ने छैन । प्रेमी वा प्रेमिकाबिना पनि यी एक्लै आफ्नै तालमा मस्त रहन सक्छन् । जतिखेर  जीवन नीरस जस्तो लाग्न थाल्छ यी रमाइला पार्टीहरूतर्फ आकषिर्त हुन्छन् । चञ्चल स्वभावका यिनलाई लोकप्रियताको प्रतियोगितामा कसैले  जित्न सक्दैन । 

एक-अर्काको भावनाको कदर गर्न सके जन्मांक २, ३ र ६ का व्यक्तिका साथमा यिनको वैवाहिक सम्बन्ध सफल हुन्छ । आफूलाई परिवर्तन  गर्न सके यी जन्मांक ७ र ८ का व्यक्तिसँग पनि सफल जीवन व्यतित गर्न सक्छन् । विपरित स्वभावका जन्मांक १, ४ तथा ९ का व्यक्तिसँगको सम्बन्ध संतोषजनक नहुन सक्छ ।

६. जन्मांक ६ का अधिकांश व्यक्ति आकर्षक व्यक्तित्वका धनी हुन्छन् र कक्षा वा समूहका सबैभन्दा सुन्दर व्यक्तिसँग सम्बन्ध कायम गर्न  चाहन्छन् । जीवनमा पछि गएर के गर्ने भन्ने कुरा यिनलाई पहिल्यै थाहा भैसक्छ । यी नेतृत्वको जिम्मेवारी बहन गर्न अघि सर्छन् । रोमान्टिक  स्वभावका हुन्छन्, त्यसैले सुरुदेखि नै वैवाहिक सम्बन्ध कायम गर्न विपरीत लिंगीप्रति आकषिर्त हुन थाल्छन् ।

जन्मांक ६ तथा गृहजीवन मनपराउने जन्मांक २ का व्यक्तिसँग वैवाहिक जीवन सफल हुन्छ । यदि जन्मांक ३ र ५ ले रंगीन स्वभाव परिवर्तन  गर्न सके सम्बन्ध सुखी हुनसक्छ । जन्मांक ४ का व्यक्तिसँग संघर्ष हुने सम्भावना बढी भएका कारण आपसी समझदारी कायम गर्न सक्दा  सम्बन्ध सुमधुर हुन्छ । आफ्ना पति वा पत्निप्रति अधिपत्य कायम गर्न खोज्ने प्रवृत्तिका जन्मांक १ र ८ का व्यक्तिसँग जन्मांक ६ को सम्बन्ध  त्यतिखेर सुमधुर हुनसक्छ जतिखेर उनीहरूका बीचमा समझदारी कायम हुन्छ । जन्मांक ९ का व्यक्तिसँग सम्बन्ध सफल बनाउन दुवैले एक -अर्कालाई राम्रोसँग बुझ्नुपर्छ । जन्मांक ६ र ७ का व्यक्तिको स्वभाव विपरीत भएका कारण सम्बन्धमा चिसोपन आउन नदिन कोही एकले  आफ्नो स्वभाव परिवर्तन गर्नुपर्छ ।

७. रोमान्टिक चलचित्र हेर्न तथा गम्भिर प्रकारका प्रेमगीत सुन्न थालेपछि यी आफ्नै संसारमा हराउँछन् । यी आध्यात्मिक स्वभावका हुन्छन् र  कुनै न कुनै उत्तरको खोजीमा रहन्छन् । यसमा प्रेमसम्बन्धलाई पनि समावेश गर्न सकिन्छ । स्कुल, कलेजभित्र वा बाहिर पनि सबै उमेरका  व्यक्ति यिनका साथी हुन्छन् । रमाइलो स्वभावका यिनीहरू सबैसँग उत्तिकै आत्मीय हुन्छन् । रोमान्टिक स्वभावका यी इमानदार पनि हुन्छन् ।  यद्यपि यी आफ्नो प्रेम भावनालाई प्रदर्शन गर्नबाट भने टाढा रहन्छन् ।

'मुडी' स्वभावका हुने हुँदा यिनको कतिपय सम्बन्ध अनिश्चित हुनसक्छ । स्वभावमा तालमेल भएका कारण जन्मांक ४, ७ र ९ का व्यक्तिको  आपसी वैवाहिक जीवन सफल हुन्छ । यिनलाई जन्मांक २ र ६ का व्यक्तिसँग सुमधुर सम्बन्ध कायम गर्न कठिन हुन सक्छ । जन्मांक ७ को  जन्मांक ३ र ५ का व्यक्तिसँग केही अवरोधका बाबजुद सम्बन्ध सुखी हुनसक्छ । आक्रामक स्वभावका मानिने जन्मांक १ र ८ का व्यक्तिसँग  यिनको वैवाहिक जीवनमा भावनात्मक गाम्भिर्यताको कमी देखिन सक्छ ।

८. जन्मांक ८ का व्यक्ति कहिले प्रेमसम्बन्धमा चुर्लुम्मै डुब्छन् भने कहिले त्यसप्रति उदसीन हुन पुग्छन्, तथापि यिनको वैवाहिक जीवन नीरस  भने हुँदैन । जीवनका अधिकांश क्षेत्रमा यी मध्यमार्गी बन्न सक्दैनन् । यद्यपि यिनले आफूलाई भाग्यमानी माने हुन्छ । आकर्षक पोसाक एवम्  उपहारहरू प्राप्त भै नै रहन्छ । कतिपयले यिनलाई उत्ताउला र उग्र स्वभावको मान्न सक्छन् । 'ब्रान्डेड' पहिरनप्रति यिनको विशेष लगाव  हुन्छ । प्रेमसम्बन्धलाई सम्पन्नताका माध्यमद्धारा प्रभावित गर्ने मान्यता राख्छन् । यिनलाई उदार व्यक्तिको श्रेणीमा राख्न सकिन्छ । कसैबाट  केही प्राप्त गर्दा जति आनन्दित हुन्छन्, कसैलाई केही प्रदान गर्दा त्यति नै खुसी देखिन्छन् । सम्बन्धलाई निरन्तरता प्रदान गर्ने कुरामा यिनको  समर्पण भाव रहन्छ ।

जन्मांक २ र ६ का व्यक्तिले जीवनसाथीको वर्चस्व स्वीकार गरे जन्मांक ८ सँगको वैवाहिक सम्बन्ध सफल हुन्छ । जन्मांक ८ का व्यक्तिको  जन्मांक ४, ७ र ९ अंकका व्यक्तिसँग भावनात्मक तालमेलको केही अभाव देखिए पनि सम्बन्ध सन्तोषजनक हुन्छ । जन्मांक ३ र ५ का  व्यक्तिसँगको सम्बन्ध त्यतिबेला सफल हुन्छ, जतिबेदा परस्पर समझदारीलाई प्राथमिकता दिइन्छ । जन्मांक १ र ८ का व्यक्तिको स्वभाव  अभिमानी भएका कारण यिनको सम्बन्ध सुमधुर नहुन सक्छ ।                ९. जन्मांक ९ भएका अधिकांश व्यक्ति सुन्दर मुहार एवं  मनमोहक मुस्कानका धनी हुन्छन् । अत्यधिक ऊर्जा भएका कारण जन्मांक ९ भएका व्यक्तिहरू चुप लागेर बस्ने स्वभावका हुँदैनन् । यिनीहरू  प्रेम प्राप्तिको बाटोमा कुनै किसिमको अवरोध मन पराउँदैनन् । गल्ती स्वीकार गर्ने कुरामा विश्वास गर्दैनन् । यिनको जीवन सुनिश्चित हुन  केही समय लाग्न सक्छ । यी वैवाहिक सम्बन्धका लागि भरपर्दा मानिन्छन् । धेरैजसो समय अरुकै सेवामा व्यतीत गर्छन् । परिवारका लागि  आवश्यक समय दिन नसकेको गुनासो सुन्नु पर्ने हुन सक्छ । कहिलेकांही आफ्नो प्रेमी वा प्र्रेमिकाले आफूसँग प्रेम नगरेको महसुस गरि  दुःखीसमेत हुनसक्छन् ।

जन्मांक ४ र ७ सँग सही तालमेल कायम हुने हुँदा उनीहरूमा यिनको सम्बन्ध सफल हुन्छ । जन्मांक ९ भएका व्यक्तिको जन्मांक २ का  व्यक्तिप्रति आकर्षणको भाव रहन्छ, तथापी अधिक ध्यानाकर्षणको अपेक्षा पूरा गर्न नसक्दा सम्बन्ध सुमधुर नहुन सक्छ । जन्मांक ३, ६ र ८  का व्यक्तिसँग परस्पर समझदारी कायम गर्न सके यिनको सम्बन्ध सन्तोषजनक हुनसक्छ । आपसमा सन्तुलन कायम हुन नसक्दा जन्मांक १  र ५ का व्यक्तिसँग जन्मांक ९ भएका व्यक्तिको सम्बन्ध सुमधुर नहुन सक्छ ।



अंकशास्त्र वा अंक ज्योतिष अथवा न्युमरोलोजी पद्धति अपनाएर जन्मदिनका आधारमा मानिसका धेरै कुरा थाहा पाउन सकिन्छ । विश्वका  प्रख्यात अंकशास्त्रीहरूले मानवीय जीवन, प्रेम र व्यक्तित्वका बारेमा अंकका माध्यमद्वारा अनेक रोचक जानकारी सार्वजनिक गर्दै आएका छन् ।  आफ्नो र आफूनजिक जो-कसैको पनि जन्ममिति जोड्दा जुन अन्तिम अंक प्राप्त हुन्छ, त्यसैका आधारमा एक-अर्कालाई नजिकबाट चिन्न र  जान्न समेत धेरै मद्दत पुग्ने विश्वास आधुनिक अंकशास्त्रमा गरिन्छ ।

जसरी संगीतको आधार सात स्वरलाई मानिन्छ, त्यसैगरी १ देखि ९ सम्मका अंकलाई नै अंकशास्त्रको मूल आधार मानिन्छ । १ देखि ९ का  अतिरिक्त जति पनि अन्य अंक छन्, ती यिनै आरम्भिक ९ अंकका पुनरावृत्ति मात्र हुन् । जति पनि ठूलो संख्या किन नहोस्, त्यसलाई जोडेर  एउटा अंकमा परिवर्तित गर्न सकिन्छ । यसप्रकार प्राप्त अंकलाई जन्मांक भनिन्छ ।

उदाहरणका लागि, यदि कुनै व्यक्तिको जन्ममिति

(अंग्रेजी क्यालेन्डरअनुसार) 11-7-1994 छ भने उक्त व्यक्तिको जन्मांक यसप्रकार हुन्छः

1+1+7+1+9+9+4 = 32 = 3+2 = 5

अर्थात्, उक्त व्यक्तिको जन्मांक ५ हुन्छ ।

No comments: