Thursday, February 24, 2011

सृष्टिका विरुद्ध किन ?

व्यक्तिले एकैपटकमा आत्महत्या गर्दैन । आत्महत्या गर्नुअघि उसले घरमा केही न केही संकेत दिएको हुन्छ । ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् । डिप्रेसन भएका कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् र चिकित्सकको सेवा लिन वा नजिकको विश्वासपात्र वा परिवारजनलाई कुनै न कुनै रूपमा जानकारी गराउँछन् । वास्तवमा उनीहरूलाई पनि आफ्नो शरीरको माया हुन्छ, तर अरू विकल्प नदेखेर आत्महत्याको बाटो अपनाउँछन् ।



जीवन निर्वाहका क्रममा हामी आफ्नो हक-अधिकारका लागि मार्न-मर्न तयार हुन्छौं तर जब आफैसँग लड्ने समय आउँछ त्यसबेला मानिसहरू हार मान्छन् । एक दशक लामो द्वन्द्व वा गृहयुद्धका क्रममा बदलिएको राजनीतिक, सामाजिक एवं आर्थिक स्थितिका कारण व्यक्तिभित्र खिन्नता, वैमनस्यता, डर, भयजस्ता भावना प्रबल भएका छन् । जीवनको लडाइँ लड्दा-लड्दै मानिसहरू हार खाएर आत्महत्याको बाटो समातेर दुःख अन्त्य भएको मान्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वमा आत्महत्याको दर पछिल्ला ५० वर्षमा ६० प्रतिशतसम्म बढेको छ । हाम्रो देशमा पनि राजधानीमा मात्र २०६४/२०६५ मा २ सय ४६ जनाले आत्महत्या गरे । यो वर्ष उक्त संख्यामा अझ वृद्धि भएको छ। यस्तै झापा जिल्लामा मात्र २०६६/२०६७ मा २ सय ३१ जनाले आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

आत्महत्याका पछाडि धेरैजसो पारिवारिक कलह, ऋण, माया, पे्रेम, धोका, एक्लोपन, गरिबी, बेरोजगारी तथा परीक्षाको परिणाम आदि कारण हुन्छन् । यस्तै कारणले गर्दा मानिस अवसाद (डिप्रेसन) मा जान्छ र यही अवसादको धुनमा कुन बेला उसले आत्महत्या गर्छ, कसैलाई थाहा हुँदैन । मनोवैज्ञानिकहरू भन्छन्-'कुनै समस्याबाट मुक्ति पाउने उपलब्ध विकल्पमा आत्महत्या कतै आउँदैन ।' आत्महत्या नितान्त व्यक्तिगत मामिला भए पनि यो घर र समाजसँगै जोडिएको हुन्छ । एउटा व्यक्ति, व्यक्तिमात्र नभएर कसैका लागि सर्वस्व पनि हुन्छ । त्यसकारण आफ्नो इहलीला समाप्त गर्नुअघि आफन्तका सम्बन्धमा पनि सोच्नुपर्छ । भनिन्छ, क्रोध वा रिसको आवेगमा विवेक र बुद्धि हराउँछ, त्यसकारण क्रोधलाई नियन्त्रण गर्नुपर्छ ।

मानिसले आत्महत्या किन गर्छ ? कतिपयले सोच्छन् आत्महत्या या त धनीले गर्छ अथवा गरिबले तर, व्यक्ति जब डिप्रेसनको सिकार हुन्छ, त्यतिबेला आत्महत्या गर्नतिर लाग्छ । आत्महत्या महिलाभन्दा पुरुषले बढी गर्छन् र आत्महत्या प्रायःजसो शिक्षितहरूले नै बढी गरेको पाइन्छ।

व्यक्तिले एकैपटकमा आत्महत्या गर्दैन । आत्महत्या गर्नुअघि उसले घरमा केही न केही संकेत दिएको हुन्छ । ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् । डिप्रेसन भएका कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् र चिकित्सकको सेवा लिन वा नजिकको विश्वासपात्र वा परिवारजनलाई कुनै न कुनै रूपमा जानकारी गराउँछन् । वास्तवमा उनीहरूलाई पनि आफ्नो शरीरको माया हुन्छ, तर अरू विकल्प नदेखेर आत्महत्याको बाटो अपनाउँछन् ।

आत्महत्यालाई परिवारजन मिलेर रोक्न सकिन्छ, तर त्यसको उल्टो परिणाम पनि हुन सक्छ। कसैको आत्महत्याको प्रयास असफल भयो भने घरका सदस्यहरूले थप हतोत्साहित गर्दै मानसिक यातना दिने काम गर्छन् । यस्तो आक्षेप लगाउनुअघि यो समस्याको सही जानकारी हुनुपर्छ । आत्महत्या गर्नुमा मनोरोग, सामाजिक तथा वातावरणीय कारणको बढी हात हुन्छ । आत्महत्या अस्वस्थ मस्तिष्कको उपज हुन सक्छ । यस्ता व्यक्तिको मन-मस्तिष्कका स्नायु रसायनहरूमा गडबढी आएको हुनसक्छ । यस्तो बेला व्यक्तिको अनुभूति, सोच, भावना, व्यवहारलगायत शरीर र मन-मस्तिष्कका धेरै कार्यमा समस्या उत्पन्न हुन्छन्। अन्धकारमय भविष्य, एक्लोपन र असहायपनको अनुभूति हुनु, कसैसँग स्नेह एवं सरोकारको अभावमा आत्महत्या नै एक मात्र समाधान लाग्छ । आत्महत्याको प्रयास गर्ने ९० प्रतिशतभन्दा बढी मानिसमा उदासीनता, आत्तिने रोग नशा वा लागूऔषधको लत, कुनै गम्भीर शारीरिक गडबडीलगायत स्किजोफ्रेनियाजस्ता मनोरोग देखिन्छन् ।

यस्तो स्थिति आउन नदिन केही कुरामा ध्यान दिएर सतर्कता अपनाउनुपर्छ। डिप्रेसनको सिकार भएका व्यक्तिको व्यवहार सामान्य मानिसभन्दा अलिक फरक हुन्छ । यस्ता व्यक्ति उदास र तनावमा हुन्छन् । यस्ता व्यक्ति स-साना कुरामा रिसाएर मारपिट गर्छन् । नकारात्मक कुरा मात्र गर्छन् । आत्महत्या गर्न चाहने मानिसहरू यो संसारबाट पर अर्को संसारको कुरा गर्छन्, दार्शनिकता देखाउँछन् । उनीहरूमा भोकमा परिवर्तन, वजन घट्नु वा बढ्नु, शारीरिक शक्तिमा कमी, निर्णय लिन असक्षम आदि व्यावहारिक परिवर्तन देखा पर्न थाल्छ।

आत्महत्याका विषयमा हाम्रो कानुन पनि मौन छ । मुलुकी ऐनको एघारौं संशोधनपछि नेपालमा आत्महत्यालाई अपराधका रूपमा वर्गीकरण गरिएको छैन । एघारौं संशोधनले आत्महत्यालाई पापका रूपमा मात्र चित्रण गरेको छ तर, अपराध अनुसन्धानले आत्महत्यालाई अपराध विधाअन्तर्गत नै राखेको छ । छिमेकी मुलुक भारतमा आत्महत्याको प्रयास गर्नेलाई कानुनले दण्ड दिन सकिने व्यवस्था छ । अमेरिका, बेल्जियम, स्वीट्जरल्यान्ड, फ्रान्स तथा नेदरल्यान्डमा अशक्त रोगीहरूलाई इच्छामृत्युको अधिकार प्राप्त छ । यसलाई अहिलेसम्म आत्महत्याको सूचीमा राखेर व्याख्या गरिएको छैन । स्वीट्जरल्यान्डले १९४२ देखि विदेशी नागरिकलाई इच्छामृत्यु वरण गर्ने कानुनी अधिकार दिएको छ । स्वीट्जरल्यान्ड मृत्युवरणको अधिकार दिने एकमात्र देश हो । स्वीट्जरल्यान्डको स्वेरजतवाकमा हरेक वर्ष १ सयभन्दा बढी व्यक्तिले मृत्युवरण गर्छन् । त्यहाँ प्रायःजसो अमेरिका, जर्मनी, बि्रटेन तथा फ्रान्सका नागरिक इच्छामृत्युका लागि आउँछन् । ८ हजार डलर पर्ने मृत्युको सोडियम पेन्टावाबर्टिल हालेको १ गिलास पानी चिकित्सकले ख्वाउँछन्। पानी खाएको ५ मिनेटपछि व्यक्ति निद्रामा पुग्छ र आधा घन्टापछि संसारबाट बिदा हुन्छ ।

भनिन्छ, चौरासी लाख योनिपछि मात्र मानव शरीर प्राप्त हुन्छ । शरीरको पुनः प्राप्तिका लागि ऋषिमुनिहरू कठिन साधना गर्छन् । फेरि किन हामी यो सुन्दर शरीरसँग खेलवाड गर्छौं ? यो संसारमा संघर्ष गर्नुपर्छ, कसैले हामीलाई केही अपशब्द भने, धोका दिए, कुनै असाध्य रोग लागे पनि हार मान्नु हुँदैन । संघर्षपछि उज्ज्वल भविष्य र अनुकूल परिस्थिति अवश्य आउँछ । जीवन र मृत्यु ईश्वरको हातमा छ। त्यसो भए हामी किन सृष्टिको विरुद्धमा जान्छौं ? आत्महत्या कुनै पनि समस्याको समाधान होइन, यो निर्बल मन-मस्तिष्कको पहिचान मात्र हो ।

No comments: