Saturday, February 26, 2011

फोहोरी शब्दले दोहोरीको हरायो मौलिकता

संगीत दुख र सुखको साथी हो । संगीत जिउने सहारा पनि हो । संगीत विना मान्छेको जीवन अधुरो र अपुरो रहन्छ । संगीतलाई आत्मसात गर्न नसक्ने व्यक्ति हाँसको बीचमा बकुल्ला जस्तै हुन्छ । जीवनलाई र्सार्थकता प्रदान गर्न संगीतले महत्वपुर्ण भूमिका निर्वाह गर्छ । रसिलो जीवनको लागि पनि संगीत अपरिहार्य छ । संगीत मनभित्र कुदिँएका भावना र पीडालाई भुलाउन र शान्त पार्ने ओखती नै हो । त्यही संगीतिक ओखतीलाई सेवन गर्ने तरीका भने भिन्नै हुन्छ । व्यक्ति पिच्छे संगीतको रस फरक हुन्छ । लोक तथा आधुनिक संगीतले जीवनलाई यर्थाथ चित्रण गर्छ । त्यसो त दोहोरी संगीतले पनि मनोरन्जन मात्रै नभई जीवन जिउनको लागि उर्जा थपिदिन्छ । पछिल्लो समयमा युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ पाश्चात्य शैलीको पप संगीत । पश्चिमेली संगीतमा थपिएको छ हिपहप र र्‍याप । पश्चिमाञ्चल क्षेत्र लोकसंगीतको उर्वर भूमि नै हो । संगीतको इतिहास लामो छ । पछिल्लो समयमा हृवात्तै लोकप्रिय बन्दै ओरालिएको संगीत लोकदोहोरी नै हो । नेपाल टेलिभिजनमा लोकदोहोरी गीतको कार्यक्रम सञ्चालन गरिएपछि शुसुप्त अवस्थामा रहेको लोक दोहोरी एकाएक आकासिएको थियो । हरेक सास्कृतिक कार्यक्रममा लोकदोहोरीले स्थान पाउँदा र्सवसाधारण पनि दोहोरीको पारखी बन्न करै लाग्थ्यो ।
लोक दोहोरी शुरुभएको भने दुइ दशक समेत वितेको छैन् । चर्चाको शिखरमा लोकदोहोरी अहिले विस्तारै खस्कदै गएको छ । २०५० साल फागुन २३ गते विधिवत रुपमा पोखराबाट लोकदोहोरीको प्रारम्भ भएको थियो । लोकदोहोरीका सम्राट प्रजापति पराजुलीले पोखरामा दोहोरी साँझ खोल्दै दोहोरीगीतको पालुवा रोपेका हुन् । पालुवा हलक्क बढेर बयस्क बन्दै ओइलाउँदै गएको छ । ‘दोहोरी गीतमा अहिले निकै ह्रास आएको छ ।’ पराजुली खस्कदै गएको दोहोरीको आफनो अनुभूति सुनाउँदै भन्छन-’संगीत र शब्द संयोजनको अभावले दोहोरीको अस्थित्व संकटमा परेको छ ।’ नयाँ पुस्ताले पुराना भाकालाई हुबहु नक्कल गरी क्यासेट तयार बनाएर विक्री वितरण गर्नाले दोहोरीको स्तरीयतामा कम हुदै गएको पराजुलीको बुझाई छ । पोखरामा ७ वटा दोहोरी साँझ छन् ।
साँझमा युवापुस्ताले दोहोरी गीत प्रस्तुत गर्दै व्यवसायिकता प्रदान गर्न खोजेको आभास गर्न सकिन्छ । तर दोहोरीमा प्रयोग हुने फोहोरी शब्दले र्सवसाधारणलाई विरक्त बनाउँदा दोहोरीको अवस्था नाजुक बन्दै गएको हो । ‘दोहोरीमा हुनुपर्ने स्वाद पछिल्ला पुस्ताको गीतमा पाइदैन् ।’ पराजुली गुनासो गर्दै भन्छन-’शब्द संयोजन र संगीतले दोहोरीलाई बास्तविक लयमा ढाल्छ । पछिल्लो पुस्तामा यो पाइदैन् । गाम बेसी, खोला नाला, भीरपाखा, उकाली ओराली भन्ज्याङ चौतारीमा गुन्जने भाका , मनभित्रका पीर व्यथा पीडा र भावनाका शब्दहरु दोहोरीमा सामेल हुनुपर्छ । ठेट शब्दले दोहोरीको गुणस्तरीयतालाई बचाउँछ । उरन्ठेउला शब्दले दोहोरीलाई संरक्षण होइन स्तर खस्काउन सहयोग पुर्‍याउने उनको भनाई छ । ‘र्सवसाधारणलाई उत्सुकता जगाउने खालको दोहोरी गाउनुपर्छ ।’ आफनो अनुभव सुनाउँदै उनी भन्छन-’दोहोरीको गुणस्तरीयता प्रति सचेत हुन नसकिए नेपाली सांगीतिक क्षेत्रबाट दोहोरीले विट मार्ने सम्भावना प्रवल छ ।’दोहोरी साँझमा ग्राहक तान्नकै लागि गाइने उत्ताउलो पाराको गीतले दोहोरीको रौनकता घट्दै गएको गण्डकी अञ्चल लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष तारापति सुवेदी स्वीकार्नुहुन्छ । व्यवसायिक रुपमा भन्दा पनि सौखको रुपमा दोहोरी गाउनाले पनि गुणस्तरीयतामा प्रश्न चिन्ह उब्जिएको छ । दोहोरीलाई सरंक्षण भन्दा पनि केवल मनोरन्जनको साधन बनाईदाँ पुराना कलाकारहरुले दोहोरी गीतमा संर्घष् गर्नुपरेको तितो यर्थाथ पराजुली समक्ष छ । ‘दोहोरी साँझ स्थापनाले कलाकार जन्मेपनि मेहनत र साधना विनाको कलाकारिताले व्यवसायिकता प्रदान गर्न सक्दैन् ।’ अध्यक्ष सुवेदी बताउनुहुन्छ । नयाँ कलाकारलाई प्रशिक्षणको खाँचो-दोहोरी गीत नेपाली सँस्कृतिको एउटा महत्वपुर्ण पाटो हो ।
१६ वर्षै अवधिमा हृवात्तै आकासिएर पलायन हुने स्थितिमा पुगेको दोहोरी गीतलाई संरक्षण र पुनर्ताजगी गराउन तालिम गोष्ठी र सेमिनारको खाँचो छ । ‘दोहोरीको संरक्षणसँगै क्वालिटी बढाउन नयाँ कलाकारलाई प्रशिक्षण दिनुपर्ने जरुरी छ ।’ पराजुली भन्छन-’प्रशिक्षणले शब्द चयन र संगीतमा विशेष ध्यान दिन्छ ।’ नयाँ दोहोरीका कलाकार जन्मनु आफैंमा सुखद भएपनि व्यवसायिकता तर्फउन्मुख हुन नसक्दा भविष्य खोज्न नसकिने पराजुलीको ठम्याई छ । ‘दोहोरी साँझमा एकडेढघण्टा गाउँदैमा दोहोरीको संरक्षण र व्यवसायिकता आउँछ भन्न सकिदैन् ।’ उनी भन्छन । आफनै घरमा दोहोरी प्रतिष्ठान स्थापना गरी दोहोरीको शुरुवात गरेको पराजुलीले नेपाल लोकदोहोरी राष्ट्रिय प्रतिष्ठानले नयँा कलाकारलाई प्रशिक्षण दिने सोच बनाएको सुनाउँछन् । नेपाल लोकदोहोरी प्रतिष्ठान २०५८ सालमा स्थापित भएको हो ।
केन्द्रीय कमिटि गठनपछि २०५९ मा कास्की जिल्लामा र २०६१ सालमा गण्डकी अञ्चल प्रतिष्ठान स्थापना भएको थियो । विभिन्न स्टेज कार्यक्रममा आयोजना गरिने लोक दोहोरी गीतमा प्रस्तुत गरिने शब्दले सबै दोहोरी गाउने कलाकारलाई साँघुरो घेराभित्र बाँधेको अनुभव हुन्छ । अश्लील शब्द प्रयोग गर्दै गीत गाइदाँ सुन्ने र्सवसाधारणले कान थुन्नु पर्ने बाध्यता समेत नेपाली समाजमा विद्यमान छ । र्सवसाधारणलाई उत्साहित बनाउने दोहोरीको फोहोरी शब्दले सांगीतिक क्षेत्रमै आँच पुर्‍याएको गुनासो उनको छ । उत्ताउलो पाराको शब्दलाई हर्टाई ठेट नेपाली झर्‍रा प्रयोग गर्न सकिएको अवस्थामा लोक दोहोरीले जिवन्तता पाउने विश्वास अध्यक्ष सुवेदीको छ । ‘नयाँ कलाकारमा साधना र मेहनत कम छ । मेहनत र साधना बिना दोहोरीको मौलिकता आउँदैन् ।’ सुवेदी भन्छन-’पछिल्लो पुस्तामा दोहोरीको भाका चोरीगर्ने क्रम बढ्नाले पनि गुणस्तरीयता खस्कदै गएको छ ।’ ‘पकेटमा पैसा भए क्यासेट निकालेर कलाकार बनिदिन्छन् ।’ सुवेदी थप्छन-’त्यस्ताले मौलिकतालाई खल्बल्याउँछन् ।’ दोहोरी गीतमा दुइ वर्षघिसम्म गीत गाएर आर्थिक उपार्जन गर्न सहज थियो । तर अहिले गीत गाएर जीवन यापन गर्न कठिनाई हुदैं गएको छ । दोहोरीलाई जीवन्तता दिन लोक दोहोरी प्रतिष्ठानले देशभर प्रशिक्षण दिनुपर्ने खाँचो पराजुली देख्छन् । ‘दोहोरीलाई उकास्दै संरक्षण गर्ने हो भने देशभर प्रशिक्षण दिन जरुरी छ ।’ पराजुली भन्छन ।
दोहोरी साँझमा ग्राहकलाई झुलाउने शब्दको प्रयोगले पलायनको बाटो निम्त्याएको उनको कथन थियो । रिमिक्स गीतले बिर्सायो स्रष्टालाई-नेपाली संगीतिक फाँटमा रिमिक्सले निकै चर्चा कमाएको छ । पुरानो लोक तथा आधुनिक गीतहरु पप शैलीमा परिमार्जन गरी रिमिक्समा आउने गरेका छन । रिमिक्स चैतको हावाहुरी जस्तै छ । पुराना गीतलाई रिमिक्स भर्सनमा बजारमा ल्याउँदा एकाएक चर्चाको शिखरमा पुगेपछि पलायन हुने सम्भावना बढ्दै गएको छ । नेपाली मौलिक सँस्कृतिमा आधार गीतलाई टपक्कै टिपेर रिमिक्समा निकाल्दा त्यसको भाव फरक हुने गरेको गीतकारहरुको ठम्याई छ । सकारात्मक चीजको नक्कल गर्नु फलदायी हुन्छ । दशकौं अघिका गीतलाई आधुनिक शैलीमा रिमिक्स गरी र्सवसाधारण समक्ष प्रस्तुत गर्दा राम्रो चर्चा कमाउने गरेको छ । रिमिक्स गीतले दिने क्षणिक चर्चाले पुराना स्रष्टालाई भने बिर्सिने गरिएको छ । आफुलाई मनपर्ने गीतलाई रिमिक्स बनाएर श्रोता समक्ष ल्याउँदै आफुलाई चर्चामा पुर्‍याउने गायकहरुको समेत नेपाली संगीत क्षेत्रमा कमि छैनन् ।
पोखरेली जनकवि केशरी धर्मराज थापाको गीत ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गीतलाई युवा पुस्ताका गायक रामचन्द्र काफ्लेले रिमिक्समा गाइदिएका छन् । ‘बनमा फुल्यो फुल’, रेखा शाहको सिमसिमे पानीमा, ‘माछी मारन दाइ हो’, झलझली आखाँमा, ‘मै छोरी सुन्दरी’ लगायतका गीतहरु रिमिक्स भर्सनमा आएका चर्चित गीतहरु हुन् । ती गीतहरुलाई युवापुस्ताले मन पराएपनि बास्तविक स्रष्टा को हुन भन्ने यकिन छैन् । रिमिक्स मार्फ पुरानो लोप हुदैं गएको भाकालाई बचाउनु राम्रो रहेपनि स्रष्टालाई ओझेलमा पारेर गीतलाई पाश्चात्य संगीतमा ढालेर हिट बनाउनु अर्थहीन हुने प्रतिष्ठानका अध्यक्ष सुवेदीको भनाई छ । ‘रेकर्डिङ नभएका गीतलाई रिमिक्स गर्नु उपयुक्त हुन्छ ।’ उनी भन्छन-’तर नयाँ शैलीको प्रस्तुतीले ठेट शब्दलाई व्यग्यं गर्न खोजेको अनुभव हुन्छ ।’ स्रष्टाकै स्वरमा रिमिक्स गर्नुपर्ने खाँचो सुवेदी देख्नुहुन्छ ।

No comments: