Saturday, February 26, 2011

पढ्दै उद्योग चलाउँदै

अभिभावकसँग पैसा मागेर पढ्ने बेला । लहैलहैमा लागेर कतिपयले 'बंक' गरेर प्रेमिकालाई घुमाउन र रेस्टुरेन्ट लैजाने उमेर । तर सुजन थापाको जीवनशैली भने बिल्कुल फरक छ । न त पढ्नका लागि घरपरिवारसँग पैसै मागेका छन, न अल्लारे ठिटो बनेर बरालिँदै हिँडेका छन् ।
बरु आफ्नै खुट्टामा उभिएर उच्च शिक्षा लिइरहेका छन् २२ वषर्ीय थापा । हस्तकला उद्योगै चलाएर आम्दानी गरिरहेका यी युवकले चारजनालाई प्रत्यक्ष रोजगारसमेत दिन सक्षम भएका छन् । उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् ।
घर उनको सराङकोट हो । तर अहिले उनी यस पर्यटकीय धम्पुस गाउँमा हस्तकला उद्योग सञ्चालन गर्दै आएका छन् । 'सम्भावना देखेर यहाँ आएको हुँ' उनले भने, 'निकै राम्रो भइरहेको छ ।' उनले
आमाबाबुको सहयोग र प्रेरणाले उद्योग सञ्चालनमा ल्याएको बताए ।
सुरुमा घरपरिवारले दिएको ३० हजार रुपैयाँ लगानी गरी एउटा तान राखेका थापाले अहिले चारवटा पुर्‍याएका छन् भने लगानी पनि ५ लाख पुगिसकेको छ । ढाकाका पछ्यौरा, सल, गलबन्दीलगायतका कपडा बनाएर उद्योगबाटै बिक्री गर्छन् । दुईजनालाई मासिक ५ हजार र थप दुईजनालाई मासिक ४ हजार ५ सय रुपैयाँ तलब दिएर चारजना तान बुन्ने महिला राखेका छन् । उनीहरूमध्ये तीनजनालाई खाना र बस्नको सुविधा पनि उनले दिएका छन । उनले मासिक दुई हजार रुपैयाँ तिरेर घर भाडामा लिएर तान सञ्चालन गरिरहेका छन् ।
थापाले यही पेसालाई विस्तार गर्दै निरन्तरता दिने बताए । 'आम्दानी पनि राम्रै भएकाले बिदेसिने सोच बनाएको छैन,' उनले भने, 'गाउँमै केही गरेर देखाउने मेरो लक्ष्य र चाहना छ ।' थापाले तलब र सबै खर्च कटाएर मासिक २० हजार रुपैयाँ आम्दानी भइरहेको बताए । 'गरे गाउँमै हुन्छ', खुसी हुँदै उनले भने, 'रोजगारीका लागि देश विदेश भौतारिरहनु पर्दैन ।' लोक्ता, अल्लोबाट समेत बनेका विभिन्न पर्यटकीय वस्तुहरू पनि उनले बिक्री गर्दै आएका छन् ।
उनको उत्पादन अहिलेसम्म तानबाटै बिक्री हुँदै आएका छन् । धम्पुस घुम्न तथा ट्रेकिङ जाने पर्यटक र स्थानीयवासी उनका ग्राहक हुन् । ग्राहकको चाहना अनुसार पनि उनले कपडा तयार पार्छन् । गुणस्तर, डिजाइन र साइज अनुसार मूल्य पनि फरक- फरक छ । न्यूनतम ६ सयदेखि एक हजार ५ सय रुपैयाँसम्म मूल्यका कपडा उनकोमा छन् । रोजगारका लागि देश विदेश भौतारिने युवाका लागि थापाले चुनौती दिएका स्थानीय शिक्षक समबहादुर
गुरुङ बताउँछन् । 'युवावस्थामै
केही गरौंं भन्ने उद्यमी भावना
हुनु निकै राम्रो हो', गुरुङले भने सबैको यस्तै सोच भए देशमा विकास हुने थियो ।'
 

No comments: