Saturday, February 26, 2011

दिवास्वप्नबाट बच्न यौन

बिहान दाँत माझ्दा वा नुहाउँदा वा कुनै काममा लागिरहेका बेला हामीमध्ये कतिपय सपनाको दुनियाँमा हराउँछौं । नानाभाँतीका कल्पनामा रुमलिन्छौं । यसरी दिवास्वप्नमा मस्त रहेका बेला हामी धेरै बेर आफंैमा हराइरहेका हुन्छौं । दिउँसै सपना देख्ने यो प्रक्रियाको असर हाम्रो स्वभाव र जीवनमा पनि पर्छ ।
'न्यु साइन्टिस्ट' पत्रिकाले उल्लेख गरेअनुसार हरेक व्यक्तिले दिनको कुनै न कुनै समय सपना देखिरहेका हुन्छन् । र, हामी आफ्नो समयको ५० प्रतिशत खण्ड दिवास्वप्नमै
बिताउँछौं । यस्तो सबैभन्दा बढी दाँत माझ्दाखेरि हुन्छ ।
के यसले स्वभावमा उल्टो असर पार्छ ? केही वैज्ञानिकका अनुसार दिनमा सपना देख्ने प्रक्रियाले बिस्तार-बिस्तारै उदासिनतातर्फ लैजान्छ । तर हार्वर्ड विश्वविद्यालयका मैथ्यु किलिङसवुड र उनका सहयोगीहरूले कुन तथ्य पत्ता लगाएका छन् भने राम्रो कुराको सपना देख्नाले त्यसको सकारात्मक प्रभाव पर्छ । तर यसको दर भने धेरै कम छ । यसैले दिनमा सपना देख्नु सम्पूर्ण रूपमा हानिकारक नै हो भनी कसैले दाबी गर्न सक्दैन ।  
अर्को रोचक तथ्य के छ भने दिवास्वप्नबाट बच्ने सबैभन्दा राम्रो उपाय यौनक्रियामा लिप्त हुनु हो । वैज्ञानिकहरूका अनुसार यौन नै त्यो प्राकृतिक क्रिया हो जसमा भुलेका बेला सम्बन्धित व्यक्तिहरू अर्को कुनै कुरामा ध्यान दिन भ्याउँदैनन् । यौनमा लिप्त व्यक्तिहरूले दिवास्वप्न देख्नु असम्भवप्रायः हुन्छ ।
दिउँसै सपना देख्नबाट जोगिने उपाय यौन मात्रै भने होइन । आफूलाई कुनै काममा व्यस्त राख्नाले वा योगासनको सहारा लिनाले समेत यो प्रक्रियाबाट मुक्ति पाइन्छ ।
महिला बढी तनावमा
हरेक पाँचौं महिला आफ्नो तनाव नियन्त्रणभन्दा बाहिर छ भन्ने सोच्छन् । यस्तो सोच्ने महिलाहरूको संख्या पुरुषको तुलनामा दोब्बर हुन्छ । यो तथ्य दुई हजारभन्दा बढी महिलामा गरिएको सर्वेक्षणबाट पत्ता लागेको हो ।
विशेषज्ञका अनुसार तनावले रक्तचाप बढ्छ । अनि आघात (स्ट्रोक) को खतरामा समेत वृद्घि हुन्छ । पोषणयुक्त आहार सेवन नलिनाले र व्यायाम नगर्नाले समेत स्ट्रोकको जोखिम बढ्छ ।  
बेलायतको वेल्समा मुटुरोग र क्यान्सरपछि स्ट्रोक मृत्युको तेस्रो सबैभन्दा सामान्य कारण हो । स्ट्रोकले वर्षेनी ६७ हजारभन्दा बढी बेलायतीको मृत्यु हुन्छ । स्ट्रोक एसोसिएसन जस्ता संस्थाहरूद्वारा गरिएको सर्वेक्षणअनुसार पाँचमध्ये एक व्यक्तिले व्यायाम गर्दैनन् । ४५ वर्षदेखि ५४ वर्षका एक चौथाइभन्दा बढी व्यक्तिले आफू कहिल्यै व्यायाम नगर्ने र तनावको स्तर धेरै बढी रहेको बताए । करिब आधा व्यक्तिका अनुसार उनीहरू सामान्य व्यक्तिको तुलनामा बढी तनावमा हुन्छन् ।
सर्वेक्षणमा सामेल ४० प्रतिशत व्यक्तिका अनुसार उनीहरूलाई व्यायाम र आघातको खतराबीच सम्बन्धको जानकारी थिएन । स्ट्रोक एसोसिएसनका जेम्स बिबेका अनुसार यो सर्वेक्षणले गर्दा मनुष्यमा स्ट्रोकको खतराप्रति जागरुकता नरहेको नयाँ जानकारी चिन्ताजनक छ ।
 

No comments: