Saturday, February 26, 2011

वैदेशिक रोजगारी ः रहर कि बाध्यता ?

दैदेशिक रोजगारी रहर हो कि बाध्यता ? वास्तवमै यो एउटा अहं प्रश्नकै रूपमा देखापरेको छ । कामका लागि विदेश जाने नेपाली कामदारहरूको लर्कनलाई हेरेर उपरोक्त प्रश्न अर्थविद्हरूले मात्रै होइन अरू जोसुकैले पनि उठाउने परिस्थिति विद्यमान रहेको छ । अहिले सरदर दैनिक एक हजार नेपाली युवा कामका लागि बिदेसिइरहेको अवस्था छ । आर्थिक वर्ष २०६७/६८ को साउनदेखि पुस महिनासम्ममा १ लाख ५७ हजार ५१६ जना नेपाली कामदार कामका लागि बिदेसिइसकेका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा २७.२५ प्रतिशतले बढी हो । यसरी वैदेशिक रोजगारीमा जानेहरूको बढ्दो संख्याको कारण जोसुकैलाई पनि सोच्न बाध्य पारेको छ, आखिर कुन तत्त्वले यसरी नेपाली युवालाई वैदेशिक रोजगारीमा प्रेरित गरिरहेछ  ?
मुलुकमा व्याप्त गरिबी, बेरोजगारी, अशान्ति अर्थात् द्वन्द्वको प्रभाव, रोजगारीका नयाँ अवसरको कमी, रोजगारीको क्षेत्रमा उपलब्ध अवसरको असमान वितरण, श्रमको अत्यधिक शोषण, कृषि क्षेत्रमा विविधता र व्यवसायीकरणको अभावले यस क्षेत्रमा युवाको कम आकर्षण, छिटो र धेरै धन आर्जन गरी सम्पन्न जीवनशैली अपनाउने मोह आदि कारणले वर्तमान स्थितिमा युवाहरू वैदेशिक रोजगारीमा आकषिर्त भएको देखिन्छ ।
आर्थिक दृष्टिकोणले सक्रिय कुल जनसंख्यामध्ये २.९ प्रतिशत बेरोजगार हुनु र पहाडी क्षेत्रमा व्याप्त अर्धबेरोजगारीका कारण रोजगारीको वैकल्पिक स्रोतको रूपमा वैदेशिक रोजगारीलाई लिन थालिएकाले यसरी विदेश जाने कामदारको लर्कन लामो देखिएको हो भन्दा अतिशयोक्ति नहोला । द्वन्द्व र अशान्तिका कारण चलिरहेका उद्योगधन्दाहरू बन्द भएका वा आंशिकरूपमा चलेका कारण रोजगारीको अवसरमा कटौती गर्नुपर्ने स्थिति सिर्जना भयो । यसबाट स्वाभाविकरूपमा बेरोजगारीको संख्या बढ्नमा मद्दत पुग्यो । जीविकोपार्जनका लागि रोजगारी अपरिहार्य भएकाले रोजगारीकै लागि धेरै युवा बिदेसिए । अर्कोतिर मुलुकको शैक्षिक क्षेत्रबाट उत्पादित जनशक्तिको मागअनुरूप राज्यले औद्योगिक तथा व्यावसायिक क्षेत्रमा रोजगारीको नयाँ अवसरहरूको सिर्जना गर्न नसकेको कारण धेरै शिक्षित युवाहरू बेरोजगार बने । प्राविधिकभन्दा अप्राविधिक शैक्षिक जनशक्तिको उत्पादन बढी भएकोले सेवा क्षेत्रमा यस्तो जनशक्तिको अत्यधिक चाप बढ्न गई रोजगारीका लागि प्रतिस्पर्धा पनि निकै बढ्यो । राजनीतिक पार्टीहरूले मुलुकमा अनुकूल वातावरणको सृजना गरी उद्योगव्यवसायलाई फस्टाउने मौका दिनुको साटो राजनीतिक खिचातानीमै समय व्यतीत गरिरहेकाले रोजगारीका नयाँ अवसरहरूको सिर्जना हुन नसकेर धेरै युवाले रोजगारीका लागि बिरानो मुलुकतिर हानिनु पर्‍यो । कृषिप्रधान मुलुक भनिए तापनि सरकारको योजना तथा नीतिहरूमा कृषि क्षेत्र कहिल्यै प्राथमिकतामा पर्न सकेन र प्राथमिकताअनुरूप कृषि क्षेत्रका विकासका कार्यहरू कहिल्यै कार्यान्वयन पनि भएनन् ।  कृषिमा विविधता र व्यवसायीकरणको अभावले गर्दा यो क्षेत्र सधैं परम्परागत प्रविधिमै मात्र सीमित
रहृयो । फलस्वरूप उत्पादकत्वमा अभिवृद्धि हुन सकेन र उत्पादन पनि वृद्धि हुन सकेन । यसले गर्दा कृषि क्षेत्रमा सलंग्न युवा श्रमशक्तिले विकल्पको रूपमा वैदेशिक रोजगारीलाई ग्रहण गर्नथाले । जसको फलस्वरूप कृषि क्षेत्रमा व्यापक रोजगारीको अवसरको सम्भावना भइकन पनि यो क्षेत्र सधैं उपेक्षित नै रहृयो ।
वर्तमान सन्दर्भमा युवापुस्तामा वैदेशिक रोजगारीप्रति आकर्षण बढ्नुका पछाडि छिटो र धेरै धन आर्जन गरी समाजमा सम्पन्न जीवनशैली अपनाउने मोह एउटा मुख्य कारणको रूपमा विकसित हुन थालेको छ ।  यसो हुँदा आफ्नै गाउँठाउँमा उपलब्ध अवसरलाई हासिल गरी काम गर्ने वा थोरै आर्जनमा चित्त बुझाउने बानी युवाजमातबाट हटिसकेको अवस्था छ ।
हाम्रो समाजमा सम्पन्नतालाई नै सम्मान ठान्ने प्रवृत्ति बढ्दै गएको हुँदा त्यही सम्पन्नता र सम्मान छिटो हासिल गर्ने उद्देश्यले धेरै युवा आफ्नै मुलुकमा प्राप्त अवसरलाई लत्याएर वैदेशिक रोजगारीका लागि मरिमेट्ने प्रवृत्ति बढेको छ । आफ्नो उब्जाउ जमीन बेचेर म्यानपावर कम्पनी वा दलाललाई लाखौं रुपियाँ बुझाएर वैदेशिक रोजगारीमा जाने युवाहरूको ताँतीले उनीहरूभित्रको त्यो छिटो र धेरै धन आर्जन गरेर समाजमा सम्पन्न जीवनशैली अपनाउने महत्वाकांक्षालाई नै प्रतिविम्बित गरिरहेको देखिन्छ । यद्यपि स्मरणीय कुरा के हो भने म्यानपावर कम्पनी अथवा दलाललाई बुझाएको लाखौं रुपियाँले स्वदेशमै सानोतिनो व्यापारव्यवसाय गर्न सकिन्छ र त्यसबाट राम्रो आम्दानी गरी स्वावलम्बी र स्वाभिमानी जीवन जिउन सकिन्छ ।

No comments: