Friday, February 25, 2011

सम्मानजनक व्यवहार गरौं

मान्छेको स्वभाव फरक-फरक हुन्छन् । तिनका प्रवृत्ति र प्रकृति अनेक । मान्छे अरूलाई हेरेर कुरो गर्छ, त्यसको खराब र सज्जन प्रवृत्तिको बारेमा । तर आफूलाई कहिल्यै हेरेर कुरा गर्दैन । आफ्ना खराब र सज्जन पक्षहरूलाई कहिल्यै केलाउँदैन । हुन त सबै मान्छेलाई आफ्ना सबै प्रकृति र प्रवृत्ति राम्रै लाग्छन् । यहाँनेर के कुरा उठाउन मनलाग्छ भने जुन कुरा आफूलाई अरूले गरेको मनपर्दैन भने त्यही कुरा बारम्बार दोहोर्‍याउँछ किन ? कमसेकम आफूले अरूलाई त्यो मन नपर्ने व्यवहार त नगर्न सक्छ, अनिष्ट कुरो के छ भने नभन्न सक्छ अनिष्ट शब्द छ भने नबोल्न सक्छ, अरूलाई दुःख लाग्ने शब्द नबोल्न सक्छ । हो, यही प्रवृत्तिले मान्छेलाई मान्छेबाट उठ्न दिएको, मान्छेलाई मान्छे
बन्न दिएको ।
हामी कतै कुनै सभाभित्र पस्यौं भने सभाका सकारात्मक विचारहरूतिर भन्दा नकारात्मक विचारतिर केन्दि्रत हुन्छौं । कुनै व्यक्तिको राम्रो कुरा के छ भन्ने हाम्रो दिमागले पटक्कै खोज्दैन, उसको के नराम्रो छ, त्यही खोज्छ । अनि त्यही कुराको चिन्तनमनन गर्छ । यसो गर्ने सामान्य नागरिकमात्र होइन, देशका ठूला पदमा बसेकाहरू ज्ो देशलाई हाँक्छु भनेर लागेका छन्, तिनको दिमाग पनि यस्तो तुच्छ कुरामै अल्भिmरहेको छ । यिनका दिमाग कसलाई हानि पुर्‍याउने, कसलाई तल खसाल्ने र कसलाई अपशब्द गरेर आफू माथि पुग्ने ध्याउन्नमा छ । हाम्रा राजनीतिक नेताहरूको कुरा गर्दा अहिलेसम्म झलनाथ खनालको नेतृत्वको सरकारले पूर्णता प्राप्त गर्नसकेको छैन । त्यो किन भन्दा हाम्रा राजनीतिक दलका व्यक्तिहरूले कहिल्यै अरूलाई सम्मान गर्न मानेनन् । सत्ता र कुर्सीभन्दा यिनको दिमागले केही सोच्न सकिरहेको छैन । सामान्य नागरिकलाई पनि थाहा छ, यिनको चाला !
देशमा के भइरहेको छ भन्ने प्रश्न गर्दा उसको सिधा, सरल जवाफ हुन्छ के हुनु सत्ता र कुर्सीको लडाइँ भइरहेको छ । आखिर जो सत्तामा पुगे पनि यो लडाइँ कहिल्यै नसकिने रहेछ । यो सामान्य नागरिकले बुझेको देशको राजनीति हो । उसलाई अरू कुरा थाहा छैन, तर राजनीतिक इतिहास थाहा छ । यो देशका राजनेताहरूले यो कहिले बुझ्लान् ? आफ्नो राजनीतिक संस्कार कमसेकम आफूले फेरौं भन्ने यिनको दिमागले कहिले सोच्छ ? आफूमात्र बनुँ, आफू राम्राे सज्जन भन्ने मानसिकतालाई कहिले त्याग्छन् ? एउटा यात्रामा यो पंक्तिकारको आफूलाई निकै राजनीतिक आचरण भएको ठान्ने व्यक्तिसँग भेट भएको थियो । सेतै कपाल पाकेका उमेरका हकमा करिब पाँच दसक नाघेका उनी राजनीतिक संस्कार र चरित्रका कुरा बखान्दै यात्राभरि साथी भए । लाग्यो- यी मान्छेका कुराअनुसार व्यवहार पनि भए कति राम्रो
हुन्थ्यो । मनमनै सोचिरहेँ, उनलाई भन्नु पनि केही थिएन भनिन । उनको गन्तव्य आएपछि उनी ओर्लिएर अगाडि बढे । नजिकै बसेका अर्का यात्रुले भने- कुरा त राम्रै गर्‍यो, व्यवहारचाहिँ उल्टो गर्छ । कति न आफूलाई सज्जन ठान्छ । म झसंग भएँ, मुखले एउटा कुरो व्यवहारले अर्कै कुरो हामीले गर्न छोडे कति राम्रो हुन्थ्यो । यात्रुका पनि कुरा सुन्दै मैले पनि आफूले नराम्रो कुरामा मात्र ध्यान दिएकोमा मनमनै पछुतो लाग्यो । हामीले अरूका नराम्रा कुराको चासो नलिऔं । आफ्नो नराम्रा कुराको चिन्तन गरौं । तिनलाई केलाऔं । सक्छौं भने जिन्दगीबाट ती कुरालाई पर फालौं । सबैले सबैलाई सम्मान, सप्रेम, सहयोग, सहानुभूति राखे यो संसार साँच्चै सुन्दर हुन्थ्यो । हो, प्रत्येक मान्छे जन्मेको यी माथिका सबै कुराको हकदार बन्न ।
त्यसैले प्रत्येकले त्यो हकको इज्जत गर्ने कोसिस किन नगर्ने ?

तपाईंको प्रतिकृया

No comments: