Saturday, March 12, 2011

मोटो र दुब्लो दुवै खतरा

राम्रो स्वास्थ्यका लागि शरीरको तौल पनि सन्तुलित हुनुपर्छ । यदि तौल आवश्यकताभन्दा बढी वा आवश्यकताभन्दा कम छ भने स्वास्थ्यका लागि खतरा हुन्छ । दुवै स्थितिमा सामान्य तौल भएकाहरूको दाँजोमा कुनै पनि कारणले मृत्युको खतरा बढी हुने हालैको अध्ययनले औंल्याएको छ ।

यो अध्ययन 'न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन'मा प्रकाशित छ । दस लाखभन्दा बढी एसियालीमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार कुनै पनि कारणले बढी वा कम बडी मास इन्डेक्स -बीएमआई) भएकाहरूमा सामान्य तौल भएकाहरूको दाँजोमा मृत्यु हुने खतरा बढी हुन्छ ।

प्रमुख अनुसन्धानकर्ता बी झेंगका अनुसार क्यान्सर, मुटुसम्बन्धी वा अन्य रोगको खतरा सामान्य तौल भएकाहरूको दाँजोमा बढी वा कम तौल भएकाहरूमा बढी हुन्छ । यसअघि गरिएको अध्ययनमा सबैभन्दा बढी खतरा युरोपेली नागरिकमा देखिएको थियो । तर नयाँ अध्ययनका अनुसार यो एसियालीमा सरेको छ । अनुसन्धानकर्ता झेंगका अनुसार थुप्रै एसियाली आवश्यकताभन्दा बढी मोटा र पातला छन् र उनीहरूलाई हालसम्म यसले हुने खतराबारे बताइएको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० लाखभन्दा बढी वयस्क बढी तौलको सिकार छन् । यसबाहेक ३० करोड व्यक्ति मोटोपनाको सिकार छन् । मानिसको यो स्थितिले रोगलाई अझ जटिल बनाउँछ । यस्तो व्यक्तिमा बोसोको तन्तु बढी सक्रिय हुन्छ । यसले गर्दा मोटोपनासम्बन्धी रोग अर्थात टाइप-टु मधुमेह, उच्च रक्तचाप, धमनीको रोग, पक्षाघात र केही प्रकारको क्यान्सरको खतरा कायम रहन्छ ।

झेंग र उनका सहयोगीले यो अध्ययनलाई ११ लाख पूर्व तथा दक्षिण एसियालीहरूको तथ्यांकको सहयोगले पूरा गरेका थिए । अध्ययनअनुसार चिनियाँ, जापानी, कोरियनसमेतका पूर्वी एसियालीमा मृत्युको दर दक्षिण एसियालीको दाँजोमा कम थियो । अनुसन्धानकर्ताले पूर्वी एसियालीहरूको बडी मास इन्डेक्स २२.६ देखि २७.५ सम्म रहेको आँकलन गरे । यसलाई सामान्य तौलमा राखियो ।

अनुसन्धानकर्ताका अनुसार जुन व्यक्तिको बडी मास इन्डेक्स ३५-० वा योभन्दा बढी थियो उनीहरूको मृत्युको खतरा ५० प्रतिशत बढी देखियो । यसबाहेक अध्ययनले शरीरको तौल आवश्यकताभन्दा कम हुनुलाई समेत बढी खतरनाक देखायो । अध्ययनमा बडी मास इन्डेक्स कम भएकाहरूको समेत मृत्यु दर बढी देखियो । यो अध्ययनमा सात देशका ५० अनुसन्धानकर्ता सामेल थिए । 

No comments: