Saturday, March 26, 2011

ठमेलमा अचम्मको बलात्कार


छोटो समयमै नाम र दाम कमाएका थारू अहिले एउटी पर्यटकका कारण पुर्पक्षका लागि थुनामा पुगेका छन्। पर्यटकलाई देउता मान्ने थारूमाथि बलात्कारको अभियोग लगाउँदै अमेरिकी पर्यटक जस्टिनले प्रहरी लगाएर पक्राउ गराएकी हुन् ।

केही महिनाअघि विकिलिक्समार्फत विश्वभरि सनसनीपूर्ण समाचार सम्प्रेषण गर्ने अस्ट्रेलियाका आईटी पत्रकार जुलियन असान्जमाथि बलात्कारको अभियोग लगाइयो । अमेरिकी कूटनीतिक नियोगमार्फत विश्वभरिबाट आउने गोप्य सूचनाहरू सार्वजनिक गरेपछि  असान्ज अमेरिकाविरोधीका लागि हिरो भए भने समर्थकका लागि खलनायक । उनी खलनायक थिए कि नायक त्यसको फैसला विश्व इतिहासले गर्दै जाला, तर असान्जमाथि लगाइएको बलात्कारको अभियोगको झझल्को एक जना नेपालीले समेत भोगेपछि यहाँ  असान्जको सम्झना गर्नुपरेको हो ।

केही वर्षअघि अन्साज स्वीडेन पुगेका बेला त्यहाँ उनले दुईवटी पेसेवर महिलासँग शारीरिक सम्पर्क राखेका थिए । फरक-फरक समयमा भएका ती सम्पर्कमध्ये एउटी महिलाले अन्तिम अवस्थामा कन्डम फुटेको थाहा पाइन् । ती महिलाले सम्पर्क रोक्न आग्रह गर्दा  असान्जले अस्वीकार गरे । त्यसैगरी अर्की महिलासँग उनले महिलाको इच्छाविपरीत बिनाकन्डम सम्पर्क राखे । ती दुवै घटनामा महिलाले यौनसम्बन्धका लागि स्वीकृति दिए पनि पछि उनीहरूले कन्डम प्रयोग गर्न नमानेको र कन्डम फुटेको अवस्थामा पनि सम्पर्क  राखिरहेको भन्दै बलात्कारको मुद्दा दायर गरे । असान्ज अध्यक्ष रहेको विकिलिक्समार्फत सनसनीपूर्ण समाचार प्रकाशन गरेर हिरो भैरहेको अवस्थामा दुईवटी महिलाले बलात्कारको मुद्दा दायर गरेपछि उनको चौतर्फी खोजी भयो । अन्ततः उनले बेलायत प्रहरीसामु  आत्मसमर्पण गरे । केही समय प्रहरीचौकीमा बिताएका असान्ज अहिले पनि ती महिलाले दायर गरेको बलात्कारको मुद्दा खेपिरहेका छन् ।

त्यस्तै प्रकृतिको एउटा घटनाले अहिले नेपालमा सनसनी मच्चाएकोे छ । घटनामा परेका छन्, ठमेलमा पुनहिल होटल खोलेर बसेका पर्यटन व्यवसायी कमल कुस्मा थारू । थोरै खर्च गर्ने पर्यटकहरूका लागि आकर्षक होटलमध्ये एक पुनहिल विगत पाँच वर्षयता  निकै लोकपि्रय रहँदै आएको छ । त्यसका सञ्चालक थारू विगत दुई दशकयता पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दागर्दै आफैं होटल मालिक भएका हुन् । होटलमा आफैं खट्दै थोरै खर्चमा राम्रो सेवा दिएकै कारण विभिन्न ट्राभल एजेन्सीले उनको हो टलमा कम खर्च गर्ने पर्यटक पठाउँथे । छोटो समयमै नाम र दाम कमाएका थारू अहिले एउटी पर्यटकका कारण पुर्पक्षका लागि थुनामा पुगेका छन् । पर्यटकलाई देउता मान्ने थारूमाथि बलात्कारको अभियोग लगाउँदै अमेरिकी पर्यटक जस्टिनले प्रहरी लगाएर  पक्राउ गराएकी हुन् ।



के भएको थियो ?

गएको फागुन २३ गते ट्रेकिङबाट फर्किएकी २३ वषर्ीया अमेरिकी युवती जस्टिन पुनहिल होटलमा बास बस्न पुगिन् । यात्राबाट थाकेर आएकी सुन्दर एवं एक्ली ती अमेरिकन युवतीलाई थारूले सकेसम्म राम्रो सेवा दिने प्रयास गरे । पुनहिल होटलका कर्मचारीहरूका  अनुसार युवतीलाई मन पर्ने परिकार होटलमा बन्न नसक्दा थारू आफैंले अन्य होटलबाट केही सामग्री मगाइदिए । रात्रिको खाना खाने बेलासम्म थारू र युवतीबीच गहिरो मित्रता कायम भैसकेको थियो । ती युवतीले थारूलाई कोठामा बोलाएर आफ्नो ट्रेकिङका  तस्बिर देखाउँदै फेरि-फेरि नेपाल आउने भन्दै खुसी साटासाट गरिन् ।

खाना खानुअघि युवतीले हि्वस्की मगाइन् । आइपडबाट रोमान्टिक गीत सुन्दै एक्लै डि्रङ्स गरिरहेकी ती युवतीले आकर्षक थारूलाई एकछिन पछि डि्रङ्क्स गर्न अफर गरिन् । आफ्ना पाहुनालाई निराश पार्नुहुँदैन भन्ने हिसाबले ती युवतीसँग थारू र उनका केही  साथी मिलेर डि्रङ्क्स गर्न थाले । त्यसपछि दुवैले मीठा कुरा गर्दै सँगै खाना खाए । खाना खाने बेलामा थारुको मन युवतीको आकर्षणमा परिसकेको थियो । उनले ती युवतीलाई शारीरिक सम्पर्कका लागि अनुरोध गरे । युवती पनि आखिर त्यही चाहन्छिन् भन्ने था रूले बुझेकै कारणले हुन सक्छ, युवतीले सम्पर्कका लागि तुरुन्तै स्वीकृति दिइन् ।

प्रहरीका अनुसार कोठामा पुगिसकेपछि दुवैले फेरि ट्रेकिङका तस्बिर हेरे । जब दुवै जना सम्पर्कका लागि तयार भए, युवतीले अचानक कन्डम नभई आफूले यौनसम्पर्क नराख्ने बताइन् । अन्तिम अवस्थामा कन्डम खोज्न कहाँ जाने ? थारूले उक्त कुरालाई महत्त्व  नदिई युवतीसँग सम्पर्क राखे । कर्मचारीहरूका अनुसार ती दुवै जनाले रात सँगै बिताएका थिए ।

भोलिपल्ट बिहानै थारू होटलका लागि खाद्यान्न किन्न बजार निस्किएका बेला युवती आफ्ना सम्पूर्ण सामग्री बोकेर होटलबाहिर निस्कन लागिन् । कर्मचारीहरूले बिल तिरेर मात्र बाहिर निस्कन आग्रह गर्दा युवती केही नबोली ट्याक्सी लिएर सोझै अमेरिकी  राजदूतावास पुगिन् । त्यहाँ उनले आफूलाई होटल मालिकले बलात्कार गरेको लिखित उजुरी दिइन् । अमेरिकी दूतावासले तुरुन्तै परराष्ट्र र गृहमन्त्रालय गुहार्‍यो । दुई घन्टाभित्रै प्रहरीले पुनहिल होटलमा पसेर थारूलाई पक्राउ गर्‍यो ।

एक साता लामो अनुसन्धानपछि जिल्ला अदालतमा थारूविरुद्धको मुद्दा दायर भएको छ । मुद्दाको प्रथम सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले उनलाई मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न आदेश दिएको छ ।  बलात्कारको यो मुद्दालाई नजिकबाट हेरिरहेका अधिवक्ताहरू होटल व्यवसायी कमल कुस्मा थारू अभियोगबाट बच्ने अवस्था निकै कम भएको बताउँछन् ।

के छ कानुनमा ?

यौनसम्पर्कका लागि स्वीकृति दिइसकेपछि पनि बलात्कारको मुद्दा लागेको सम्भवतः यो नेपालकै पहिलो घटना हो । महिलाले बलात्कारको दाबी गरेर मुद्दा हालेपछि नेपालको कानुनले सकेसम्म त्यसलाई उल्टयाएको देखिँदैन । नेपालको कानुनअनुसार कमल थारूले  राति भएका कारण कन्डम ल्याउन सकिन भन्ने बयान दिएका छन् । थारुले बयानमा उनको स्वीकृति भैसकेपछि केही हुँदैन भन्ने आत्मविश्वासले नै उनीसँग सम्पर्क गरेको बयान दिएका छन् । यद्यपि युवतीले भने रातभरि आफूले उक्त विषयमा चिन्ता गरेको तर  थारूले वास्ता नगरेका कारण त्यो बलात्कार नै भएको ठोकुवा गरेकी छिन् ।



कानुनमा के छ ?

मुलुकी ऐनको महल १३ आशय करणीको १ नम्बर— जुनसुकै मानिसले आफ्नी स्वास्नीबाहेक ११ वर्ष नाघेका जुनसुकै स्वास्नी मानिसलाई करणीको आशयले शिरदेखि पैतालासम्मका अंगमा समाते ।

२ नम्बर— एघार वर्ष नाघेका स्वास्नीमानिससँग खुट्टा खापी सुतेको ठहरे करणी भएको ठहर्छ ।

३ नम्बर— कन्या, विधवा, अर्काकी सधवाको करणी नगरी मैले करणी गरेको छ भन्नेलाई ५ सय रुपैयाँसम्म जरिवाना वा एक वर्षम्म कैद वा दुवै सजाय हुन्छ ।

४ नम्बर— स्वास्नी मानिसको राजीखुशी बिना करणीको आशयले बाटो ढुक्नेलाई ५ सय रुपैयाँसम्म जरिवाना वा एक वर्षम्म कैद वा दुवै सजाय हुन्छ ।   

५ नम्बर— अनुचित सम्बन्ध गराइदिने उद्देश्यले स्वास्नीमानिसलाई फकाइदिनेलाई १ सय रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन्छ ।

६ नम्बर— यो महलमा लेखिएको कुरामा सो कुरा प्रकाश भएका मितिले ३५ दिनभित्र नालिस नदिए मुद्दा लाग्न सक्दैन ।

महल १४ जबरजस्ती करणीको १ नम्बर— कन्या, विधवा वा अर्काकी सधवा स्वास्नीमानिस वा १४ वर्षमुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै बेहोरासँग करणी गरे पनि र १४ वर्ष नाघेकीको राजी खुसीबिना बेमञ्जुरीले जुनसुकै तरहसँग भए पनि  जोरजुलुम गरी वा डर धाक देखाइ वा अनुचित प्रभावमा पारी करणी गरे जबरजस्ती ठहर्छ ।

२ नम्बर— हाडनाताकी स्वास्नीमानिसको जबरजस्ती करणी गरे यो महलबमोजिमको सजायमा हाडनातामा करणी महलमा लेखिएको सजायसमेत थपी सजाय हुन्छ । जन्मकैदको सजाय पाउनेमा भने जबरजस्ती करणी वापतको सजाय थप हुँदैन ।

३ नम्बर— जबरजस्ती करणी गर्नलाई चौध वर्षमुनिको स्वास्नी मानिसको भए ६ वर्षदेखि १० वर्षसम्म र १४ वर्ष वा सोभन्दा माथिको स्वास्नी मानिसको भए ३ वर्षेखि ५ वर्षम्म कैद ४ नम्बर जबरजस्ती करणी भएको कुरा जानी थाहा पाई हँल गरी सँग  लागिजाने, समाउने र सो काममा मद्दत दिनेलाई जनही एक वर्षसम्म कैद । १४ वर्षमुनिकी स्वास्नी मानिसका सम्बन्धमा भने दोब्बर सजाय ।

५ नम्बर— जबरजस्ती करणी गर्ने उद्योग गरेको तर करणी गर्न भने पाएको रहेनछ भने जबजस्ती करणी गर्ने लाई हुने सजायको आधा सजाय हुन्छ ।

६ नम्बर— अह्राई जबरजस्ती करणी गर्न लगाएको भए अह्राउनेलाई करणी भैसकेको स्थितिमा करणी गर्नेलाई हुने सजायको र करणी हुन नपाएको -उद्योग गरेको) भए उद्योग गर्नेलाई हुने सजायको आधा सजाय हुन्छ ।

७ नम्बर— पेसेवर स्वास्नीमानिसलाई उसको राजीखुसीबिना बेमञ्जुरीले जुनसुकै तरहसँग भए पनि जोरजुलुम गरी करणी गरे ५ सय रुपैयाँ जरिवाना वा एक वर्षम्म कैद हुन्छ ।       

८ नम्बर— आफूलाई जबरजस्ती करणी गर्ने मनसाय लिई उद्योग गरी हातपात, छेकथुन, बाँध छाँद इत्यादि जोरजुलुम गर्न लागेको र त्यसबखत कराई गुहार मागी वा अरू केही उद्योग गरी त्यस्तो जुल्मीको पन्जाबाट उम्की भागी आफ्नो धर्म बचाउन नसक्ने  अवस्था परी रीस थाम्न नसकी उसै बखत त्यस्ता जुल्मीको त्यही थलामा वा त्यहाँबाट लखेट्दै गई एक घन्टाभित्र हतियार, लाठो, ढुंगा इत्यादि केही चलाई त्यो व्यक्ति मर्न गएको ठहरे बात लाग्दैन । एक घन्टा उप्रान्त मारे ५ हजार रुपैयाँसम्म जरिवाना वा १०  वर्षम्म कैद हुन्छ ।



जस्टिन र कमल

अमेरिकी राजदूतावासले नाम गोप्य राखेको युवतीले आफ्नो नाम जस्टिन रहेको र आफू बोस्टनको बासिन्दा भएको पुनहिल होटलका कर्मचारीलाई बताएकी थिइन् । युवतीले होटलमा प्रवेश गर्दा पनि रजिस्टारमा आफ्नो नाम जस्टिन नै लेखाएकी थिइन् ।  जस्टिनले आफूलाई विश्वविद्यालयको विद्यार्थी भएको र कलेज बिदा भएका बखत पार्ट टाइम जागिर छाडेर छुट्टी मनाउन नेपाल आएको बताएकी थिइन् । अमेरिकी काउन्सिलरका साथ बलात्कारको उजुरी दर्ता गर्न उनी काठमाडौं जिल्ला प्रहरी कार्यालय गएकी  थिइन् । जस्टिन र काउन्सिलर जिल्ला प्रहरी कार्यालय पुग्नुअघि नै प्रहरी प्रमुख रमेशचन्द ठकुरीले काठमाडौं प्रहरी कार्यालयमा आउन लागेको बलात्कारको केसलाई गम्भीरतापूर्वक लिन फोन गरेका थिए । कार्यालयमा बयान दिने क्रममा जस्टिनले आफूलाई हो टल मालिकले रक्सी ख्वाउँदै बहकाएको र पछि बलात्कर गरेको बयान दिएकी छिन् । त्यही आधारमा कमललाई प्रहरीले क्षेत्रपाटीस्थित पुनहिल होटलबाट पक्राउ गरेको थियो । गत मंगलबार कतार एयरबेजबाट अमेरिका र्फकने टिकटसमेत काटिसकेकी जस्टिन  बलात्कारको मुद्दा दायर गरेपछि टिकट क्यान्सिल गरेर नेपालमै बसेकी छिन् । उनी अहिले अमेरिकी दँतावासको शरणमा छिन् । उनले अदालतको फैसला नआउन्जेल आफू स्वदेश नर्फकने अडान लिएकी छन् । जस्टिनको यही अडानका कारण जिल्ला अदालतले  एक साता नबित्दै उक्त मुद्दाको पहिलो सुनुवाइ गरेको थियो ।

यता बर्दिया घर भएका कमलले यसअघि नै यसैगरी बेलायती पर्यटक हेलेनसँग शारीरिक सम्पर्क कायम गरेका थिए । पोखरा घुमेर काठमाडौं र्फकंदा कमलको होटलमा बास बसेकी हेलेनसँग दुई वर्षअघि सम्पर्क बढाएका थिए । उक्त सम्पर्कपछि हेलेन लामो समय  नेपाल बसिन् । त्यति मात्र होइन, बेलायत र्फकनुअघि उनले कमलसँग विवाह पनि गरिन् । उक्त विवाह लामो समय चल्न सकेन । दोस्रो पटक नेपाल घुम्न आउँदा हेलेनले आफ्नो प्रेम अरूसँगै रहेको बताउँदै कमलसँग छोडपत्र गरिन् । यद्यपि कमलसँग छोडपत्र  गरे पनि हेलेन केही महिनादेखि नेपालमै छिन् । कमललाई नजिकबाट चिन्ने पर्यटन व्यवसायीहरूका अनुसार कमलको रुचि नेपाली युवतीभन्दा बढी विदेशीहरूप्रति नै थियो । बेलायती युवतीसँग विवाह गर्नुअघि पनि उनी आफ्नो होटलमा आउने पर्यटकसँग  व्यावसायिक रूपमा प्रस्तुत हुन छाडेर व्यक्तिगत हिमचिम बढाउने प्रयास गर्थे । पछिल्लो समयमा हेलेनसँग छोडपत्र भएपछि उनी नयाँ युवतीको खोजीमा थिए । यद्यपि पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । जस्टिनले कन्डम प्रयोग गर्न गरेको आग्रहलाई बेवास्ता  गर्दा उनले विदेशी जीवन साथी त पाएनन् नै, बलात्कारको सजायसम्म काट्नुपर्ने अवस्था आइलाग्यो ।

प्रारम्भिक अनुसन्धान एवं अदालतमा दिइएको बयानका आधारमा कमलमाथि लागेको मुद्दामा जस्टिनको पक्ष बलियो देखिएको छ । कमलले आफ्नो बयानमा जस्टिनसमक्ष आफूले शारीरिक सम्पर्कको प्रस्ताव राखेको, युवतीले कन्डम ल्याउन अनुरोध गर्दा राति  भएका कारण बेवास्ता गरेको एवं रक्सी लागेका कारण युवतीको कुरा महत्व नदिई सम्पर्क राखेको कुरा बताएका छन् । जस्टिनले पनि आफ्नो उजुरीमा आफूले सँगै रक्सी पिएर सम्पर्कको प्रस्ताव स्वीकार गरे पनि कन्डम नहुँदा आफूले प्रस्ताव अस्वीकार गरेको  तर रक्सी पिएका कमलले आफूमाथि जबरजस्ती गरेको बताएकी छिन् । जस्टिनले विदेशी मुलुकमा एक्ली भएकाले रातको समयमा शारीरिक रूपमा बलिया पुरुषसँग झगडा गर्न उपयुक्त नभएकैले बाध्यतापूर्वक कमलसँग रात काट्नुपरेको बयान दिएकी छन् ।

कमललाई आवश्यक सहयोग गरिरहेका सभासद् निर्मल सिंह थारूले लप्पन-छप्पन नजान्ने भएकैले कमल फसेको भन्दै सहानुभूति प्रकट गरेका छन् । 'थारूको बच्चाले कानुनी दाउपेच जान्दैन । कानुनले तथ्य हेर्छ, पर्दा पछाडिको डिजाइन हेर्दैन ।' सभासद् थारू  भन्छन्, 'पहिले सँगै रक्सी खाने साथीहरूले पनि उसलाई त्यस्तो कार्य गर्न उक्साएजस्तो लाग्छ ।'

५ कक्षा पढ्दा-पढ्दै घरबाट भागेर काठमाडौं आएका कमल कुस्मा थारूको बर्दियामा जम्मा ७ कठ्ठा जग्गा छ । आफ्नी आमा खस्नेबित्तिकै बुवाले कान्छी श्रीमती ल्याएपछि कमलले घर छोडेको बताइन्छ । २० वर्षअघि काठमाडौं आएर ठमेलका विभिन्न होटलमा  काम गर्दै जाँदा उनको संगत पर्यटकसँग हुन थाल्यो । त्यही संगतकै कारण उनको अंग्रेजी राम्रो भयो । सामान्य कामदारभन्दा राम्रो मेहनत गर्ने भएकैले कमललाई आफ्नो होटलमा काम दिन ठमेलमा हारालुछ हुन्थ्यो । विस्तारै टुरिस्ट गाइडका रूपमा परिचय  बनाएका कमल छोटो समयमै होटल मालिक हुनुका पछाडि उनको मेहनतले नै काम गरेको थियो । त्यही मेहनतबाट प्रभावित हुँदै उनको संगत विदेशी युवतीसँग हुन थाल्यो । ती युवतीहरूबाट कमलले आर्थिक एवं शारीरिक दुवै लाभ पाउँथे । कमललाई  नजिकबाट चिन्ने व्यवसायीहरूका अनुसार कमललाई बिस्तारै रक्सी र युवतीको लत लाग्न थाल्यो । 'जुन दिनदेखि कमललाई विदेशी युवतीसँग सजिलै सम्पर्क राख्न सकिन्छ भन्ने भ्रम पर्न थाल्यो, त्यही दिनदेखि नै कमल फस्न सक्छ भन्ने हामीलाई लाग्न थालेको  थियो,' कमलको अनुपस्थितिमा होटलको रेखदेख गरिरहेका एक जना व्यवसायीले साप्ताहिकसँग भने, 'सबै कुरा राम्रो हुँदाहुँदै पनि सानो हेलचेक्य्राइूले कति ठूलो समस्यामा पर्न सकिन्छ भन्ने उदाहरण हुन्, कमल ।'

जेठा छोरा कमल जेल परेपछि उनको आम्दानीबाट पढिरहेका उनका तीन जना भाइको पढाइ बिचल्लीमा परेको छ भने व्यवसाय पनि बिगि्रएको छ । 'हाम्रो गाउँमा कमलको प्रगति एउटा कथाजस्तै थियो । कमललाई राम्रो पैसा कमाउने र असल व्यवहार भएको  युवक मानिन्थ्यो ।' सभासद् निर्मल थारू भन्छन्, 'ऊ बलात्कारको आरोपमा थुनामा परेपछि गाउँका मानिसहरू आश्चर्यचकित भएका छन् ।'

No comments: