Saturday, March 5, 2011

लाइफ पाटर्नर चाहियो ? जानुहोस् सिंगापुर !

तपाई एकल हुनुहुन्छ ? हुनुहुन्छ, भने सिंगापुर जानुहोस्, त्यहाँ तपाईंले विवाहको अवसर पाउन सक्नुहुन्छ । त्यो पनि सिंगापुर सरकारको मेजमानीमा । सिंगापुरमा जन्मदर घट्दै गएपछि वृद्धिका लागि सरकारले नयाँ योजना सार्वजनिक गरेको छ ।
सिंगापुरको सरकारी पत्रिका स्ट्रेट टाइम्सका अनुसार एकल पुरुष र महिलाका लागि सरकारले जोडी खोजिदिन लागेको हो । सिंगापुरमा धेरैजना एकल बस्न थालेका छन्, जो विवाहित छन्, उनीहरुले पनि बच्चा पाउन कम गरेका छन्, सिंगापुरका समाज विकास, युवा तथा खेलकुदमन्त्री भिवान बालाकृष्णले बताए ।
मन्त्री बालाकृष्णले यस विषयमा संसदको आगामी सत्रमा छलफल हुने जानकारि समेत दिए । सिंगापुरका पुरुष तथा महिलासँग बिवाह गर्ने विदेशी नागरिकलाई नागरिकता लगायतका सुविधा दिने विषय पनि यसमा पर्न सक्ने बताइएको छ । तर मन्त्री बालाकृष्णले भने योजनाको पूर्ण विवरण भने दिएनन् ।
‘हामीलाई थाहा छ, सिंगापुरका एकल पुरुष तथा महिला विवाह गर्न चाहन्छन्, उनीहरुलाई सही साथि छनोटका लागि सहयोगको जरुरत छ, त्योसँगै उनीहरुलाई अरु के आवश्यक छ त्यो सहयोग पनि दिन जरुरी छ, जसले उनीहरुलाई परिवार सुरु गर्न सहयोग मिलोस्’, मन्त्री बालाकृष्णले भने ।
सिंगापुरको जन्मदर अहिले घटेर निक्कै तल झरेको छ । यो जनवरीमा सार्वजनिक गरिएको गतवर्षको तथ्यांक अनुसार सिंगापुरमा जन्मदर १ दशमलव १६ प्रतिशत मात्र छ । विवाहित जोडीको औषत दुई बच्चा छन्, यो भने स्वस्थ नै छ, मन्त्री बालाकृष्णले प्रष्ट पारे ।
यो वर्ष बजेट विनियोजन गर्दा पनि सरकारले बच्चाको जन्मदर वृद्धिका लागि राम्रै लगानी गरेको छ । सिंगापुर सरकारले जनसंख्या वृद्धिका लागि सन् २००८ मा प्याकेजको घोषणा गरेको थियो । विश्व वित्तिय संकटले जन्मदरमा असर परेको हुन सक्ने अनुमान सिंगापुर सरकारले गरेको छ । पुरुषको तुलनामा एकल महिलाको संख्या सिंगापुरमा ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार २५ देखि २९ वर्षका साढे ४५ प्रतिशत महिलाहरु मात्रै अहिले विवाहबन्धनमा बाँधिने गरेका छन् । सन् २००० को तथ्यांक अनुसार यो ६२ प्रतिशत थियो ।
सिंगापुर सरकारले यस्तै सामाजिक मामिलामा सहयोग गर्न सन् १९८४ मा सामाजिक विकास युनिट खडा गरेको थियो । यो युनिटले सुरुमा स्नातक तह उत्रिण एकल महिलाको विवाहका लागि प्रोत्साहन गर्दथ्यो । त्यसपछि स्नातक उत्रिण नभएका महिलालाई विवाह बन्धनमा बाँध्न सामाजिक विकास सेवा खडा गरेको थियो । सन् २००९ मा सामाजिक विकास सञ्जाल खडा गरेको थियो ।

No comments: