Tuesday, November 30, 2010

रोजगारीका अवसर खोज्नुअघि गर्नुपर्ने तयारी :

हरेक आवश्यकता परिपूर्ति गर्न मानिसका लागि रोजगारी प्राथमिक आवश्यकता हो । हरेक मानिसका रोजगारीका बाटा फरक–फरक हुनसक्छन् । कतिपय मानिस आफ्नो व्यवसाय सञ्चालन गरेर स्वरोजगार भएका हुन्छन् भने कतिपय विभिन्न संघसस्था, व्यवसायमा आबद्ध भएका हुन्छन् । हरेक मानिसको निश्चित उद्देश्य हुन्छ– राम्रोसँग पढ्ने र त्यसपछि रोगजारीमा लाग्ने । कतिपय व्यक्ति पढाइ सकेपछि स्वरोजगारतिर लाग्छन् भने कतिपय रोजगारीका अवसर खोज्छन् ।







रोजगारीका अवसर खोज्नुअघि विभिन्न तयारी गर्नुपर्छ । धेरैजसो मानिसले पढाइ सकेर रोजगारका लागि आवेदन त दिन्छन् तर त्यसअघि गर्नुपर्ने तयारी गर्दैनन्, जस्तै ः रोजगारीका अवसर खोज्ने माध्यम, व्यक्तिगत विवरणका साथै कुरा गर्ने शैली, व्यक्तिविकास, अन्तर्वार्ताको तयारी आदि ।






रोजगारीका लागि आवेदन दिनुअघि गर्नुपर्ने तयारी ः






१) अवसर खोज्ने माध्यम






अवसर खोज्नुपूर्व माध्यमहरूका बारेमा जानकारी लिनुपर्दछ । यसका लागि विभिन्न माध्यम हुन्छन्, जस्तै ः पत्रपत्रिका, आउट सोर्सिङ कम्पनी, जब पोर्टल साइट आदि । साथै, प्रत्यक्षरुपमा रोजगार प्रदान गर्ने संघसंस्थाहरूमा आफ्नो व्यक्तिगत विवरणका साथै आवेदन फारम बुझाएर पनि रोजगारीका अवसर खोज्न सकिन्छ ।






२) व्यक्तिगत विवरण र आवेदन राम्रो बनाउने






माध्यमबारे अध्ययन गरिसकेपछि आफ्नो व्यक्तिगत विवरण र आवेदन फारम कसरी बनाउने भन्ने कुराको बारेमा जानकारी लिनुपर्दछ । जस्तै ः व्यक्तिगत विवरण कति प्रकारका हुन्छन्, विवरणमा राख्नुपर्ने र नराख्नुपर्ने कुराहरू के–के हुन्छन्, छुटाउन नहुने कुराहरू के–के हुन्, ढाँचा कस्तो हुनुपर्दछ आदि । यी कुराबारे विस्तृत जानकारी लिएर मात्र व्यक्तिगत विवरण र आवेदनपत्र बनाउँदा उपयुक्त हुन्छ ।






३) लिखित परीक्षाको तयारी






हामीले देखिरहेका छौं– अहिलेको समयमा हरेक संघसंस्थाहरूले भर्ना प्रक्रियामा लिखित परीक्षा लिने गर्छन् । त्यसैले, आफ्नो रुचिको क्षेत्र (जस्तै ः बैंकिङ, बिमा, विकास आदि) छनोट गरेर त्यससम्बन्धी लिखित परीक्षाको तयारी गर्नुपर्ने हुन्छ । त्यस्ता परीक्षामा प्रश्नहरू कस्ता खालका हुन्छन्, प्रश्न कहाँबाट समावेश गरिएका हुन्छन् र आफूले तयारी गर्दा कस्ता खालका किताब पढ्ने र प्रश्नका स्रोत के–के हुनसक्छन् भने निर्धारण गर्नुपर्छ ।






४) कुरा गर्ने शैली र व्यक्तित्व विकास






विभिन्न व्यक्तिका कुरा गर्ने शैली र व्यक्तित्व फरक–फरक हुन्छन् । कतिव्यक्ति नराम्रो शैलीका कारण विभिन्न ठाउँमा असफल पनि भएका हुन्छन् । अन्तर्वार्ता दिने क्रममा कुरा गर्ने शैली र व्यक्तित्वले प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसैले, अन्तर्वार्ताका बेला कसरी प्रस्तुत हुने, कुरा गर्दा कस्ता कुरामा ध्यान दिने र शारीरिक प्रस्तुति कस्तो हुने भन्नेमा ध्यान दिनु जरुरी हुन्छ । तालिम तथा परामर्श लिएर पनि आफूलाई दख्खल बनाउन सकिन्छ ।






५) अन्तर्वार्ताको तयारी






हिजोआज रोजगारीका लागि अन्तर्वार्ता महत्वपूर्ण पक्षको रुपमा स्थापित भएको छ । संघसंस्था या व्यापार–व्यवसायमा आवश्यक जनशक्ति छनोटको अन्तिम प्रक्रिया अन्तर्वार्ता नै हो । त्यसैले अन्तर्वार्ता दिन जानुअघि धेरै पक्षमा विचार पु¥याउनु आवश्यक हुन्छ । अन्तर्वार्ता के हो, कसरी दिने, प्रश्नहरू कस्ता–कस्ता हुन्छन्, उत्तर कसरी दिने, कोठाभित्र कसरी प्रवेश गर्ने, प्रवेश गरिसकेपछि के गर्ने, शारीरिक हाउभाउ, बस्ने तरिका, अन्तर्वार्ता लिने व्यक्तिसँगको शिष्टाचार र धन्यवाद दिने तरिकाको बारेमा जानकारी राख्नु अति आवश्यक छ ।






यदि तपाईं रोजगारीको खोजी गर्दै हुनुहुन्छ भने यी विभिन्न कुराको बारेमा राम्रोसँग अध्ययन गरी सक्षम हुनुभएमा अवश्य सफलता पाउनुहुनेछ । तयारी गर्दा विभिन्न किताब र इन्टरनेटको सहायता पनि लिन सकिन्छ । विभिन्न तालिम दिने संस्थाबाट पनितालिम लिन सकिन्छ ।


No comments: