Friday, December 3, 2010

आपसी सम्बन्धको दायित्व

सम्बन्धलाई आपसमा जोड्न धेरै समय लाग्छ, तर टुट्न समय लाग्दैन । एकै झटकामा सबै समाप्त भएर जान्छ । सानो चोटले पनि आपसी सम्बन्ध सिसाजस्तै एकै क्षणमा चकनाचुर हुन पुग्छ । यदि समय रहँदै सम्हालिने हो भने आफ्नो अनमोल सम्बन्धलाई टुट्नबाट जोगाउन सकिन्छ र दुःखको आँसुबाट पनि जोगिन सकिन्छ । दाम्पत्य सम्बन्धको रंगलाई कहिल्यै फिक्का हुन नदिन पति-पत्नी दुवै मिलेर आपसी सम्बन्धको पकड मजबुत राख्नुपर्छ । यसका लागि केही कुरामा विचार पुर्‍याउनु आवश्यक छ ।







पति-पत्नी दुवैले एकअर्काप्रति आदर सम्मानको भाव राख्नुपर्छ । यसको अभावमा आपसी सम्बन्धमा नकारात्मक असर पुग्छ । आपसी सम्बन्धलाई कहिल्यै तुच्छ मान्नुहुँदैन । सम्बन्धमा अहम्को भावना हुनुहुँदैन । अहम्ले सम्बन्धको बीचमा घर्षण सिर्जना गर्छ जसका कारण स-साना कुरालाई लिएर आपसी टक्कर प्रारम्भ हुन्छ, जसको असर वैवाहिक जीवनमा पर्छ । वैवाहिक जीवनबाट सुख शान्ति लुप्त हुन पुग्छ र सम्बन्धलाई इतिश्री दिने स्थितिसम्मको अवस्था आउन सक्छ ।






वैवाहिक जीवनको पर्खाल विश्वासको जगमाथि बनेको हुन्छ । यदि विश्वासको जग मजबुत छ भने कुनै तेस्रो व्यक्तिले बसाएको घरलाई क्षति पुर्‍याउन सक्दैन । पतिले पत्नीव्रता र पत्नीले पतिब्रता धर्मलाई सदैव निर्वाह गर्नुपर्छ । यसले सम्बन्धलाई सुखमय राख्छ र सम्बन्धमा निरसता आउँदैन । श्रीमान्ले आफ्नी श्रीमतीको प्रशंसा गर्न कहिल्यै पछाडि हटनुहुँदैन । प्रशंसा यथार्थ हुनुपर्छ, सत्यमा आधारित हुनुपर्छ । पति वा प्रेमीका रूपमा प्रशंसाको आदेश दिनुहुँदैन, विनमतापूर्वक प्रस्तुत हुनु राम्रो हुन्छ ।






पति-पत्नी दुवैले कोही एकको सहनशक्तिमा बारम्बार आलोचनात्मक प्रहार गर्नबाट जोगिनुपर्छ । यसो गर्नाले जसमाथि आलोचनात्मक टिकाटिप्प्णी भएको छ, उसको मन हीनभावनाबाट ग्रसित हुन पुग्छ । कोही पनि हरेक क्षेत्रमा पर्फेक्ट हुँदैन भन्ने कुरालाई राम्रोसँग बुझ्नु आवश्यक छ ।






आजको समयमा श्रीमतीले गृहिणीको मात्र भूमिका निर्वाह गरिरहेका हुँदैनन् । उनले घर र बाहिरी क्षेत्रको जिम्मेवारी पनि उत्तिकै गम्भीर भएर निर्वाह गर्नुपर्ने हुन्छ । यसको प्रभाव अप्रत्यक्ष रुपमा वैवाहिक जीवनमा पर्छ । कहिलेकाहीँ तनावका कारण उनको स्वभावमा चिड्चिडापन देखा पर्छ । जब यही चिड्चिडापन क्रोधका रुपमा प्रकट हुन्छ, तब कैयन् समस्या देखा पर्न थाल्छन् । यस्तो स्थितिमा विवादग्रस्त परिस्थितिबाट बच्न केही क्षणका लागि वक्ता बन्ने र अर्को क्षणमा मात्र श्रोता बन्ने प्रयास गर्नुपर्छ । विवादको गतिशीलतालाई रोक्न यदि श्रीमती बोल्दैछिन् भने श्रीमान्ले शान्त रहेर राम्रो श्रोता बनेर घरको वातावरणलाई ध्वनि प्रदूषणरहित राख्न सहयोग पुर्‍याउनु राम्रो हुन्छ ।






एउटा मुस्कानबाट मुहारको उदासीपन क्षणभरमै मेटिन्छ । कहिलेकाहीँ कामको बोझका कारण पति-पत्नी मुस्कानको आदानप्रदान गर्न बिर्सन्छन् । दम्पती एक आत्मिक मुस्कानको प्रतिक्षामा रहन बाध्य हुन्छन् । अतः मुस्कानको महिमालाई बुझेर एकअर्कालाई मुस्कानरुपी उपहार सदैव प्रदान गर्ने प्रयत्न गर्नुपर्छ । वैवाहिक जीवनलाई सुखमय बनाउन शारीरिक सम्बन्धले एउटा मजबुत पक्षको रुपमा भूमिका निर्वाह गर्छ । सन्तुष्टिदायक शारीरिक सम्बन्धबिना आपसी सम्बन्धको शृङ्खला टुट्न सक्छ । यो सम्बन्ध प्रतिको उदासीनताले जीवनलाई नीरस बनाउँछ । दम्पति एकअर्काको इच्छालाई बुझ्ने मामिलामा सक्षम हुनुपर्छ । वैवाहिक जीवनमा सेक्स लय र सुरको संगम हुन्छ, यसबिना पति-पत्नी दुवैलाई अधुरो मानिन्छ । सेक्स पति-पत्नी दुवैको स्वीकृतिका आधारमा हुनुपर्छ अन्यथा भावनामा गहिरो प्रभाव पर्न सक्छ ।






सम्बन्धको सजीवताका लागि पारस्परिक सहयोगले पोषणको कार्य गर्छ । सफलताको सिँढी चढ्न पति-पत्नी दुवैको सहयोग एउटा अनिवार्य कार्यमा परिवर्तित हुन्छ । सफलताको मामिलामा पति-पत्नीका बीच थोरै तलमाथि मात्र पनि पर्न गए केही फरक पर्दैन । सफलताको बहीखातामा दुवैको नाम दर्ता हुन्छ नै। कारण त्यो खाता त साझा नै हुन्छ । मनमा स्पर्धा, ईष्र्याजस्ता भावनालाई निषेध गर्नुपर्छ । यिनको प्रवेश मात्रले पनि आपसी सम्बन्धमा मनमुटाव सिर्जना हुन पुग्छ र सम्बन्ध बिग्रन्छ ।






प्रायः श्रीमान्लाई त्यही जीवनसंगिनी मनपर्छ जसले पतिको आम्दानीअनुसार र पतिको मन मुताविक खर्च र घरको व्यवस्थापन गर्छन् । त्यस्तै श्रीमतीले श्रीमान्को मनमा राज गर्छिन् । एउटी असल श्रीमतीले श्रीमान्को मेहनतको कमाइको एउटा हिस्सालाई बचतका रुपमा एकत्रित गर्नुपर्छ, जुन कालान्तरमा खराब समयमा काम लाग्छ । श्रीमान्को आय फजुलमा खर्च गर्न दिनुहुँदैन । खर्च गर्नुपूर्व आवश्यकतालाई प्राथमिकता दिनुपर्छ । मात्र बाहिरी देखावटीपनमा खर्च गर्नु ठीक होइन । यसबाट कमाउने व्यक्तिले अनेकन समस्या सामना गर्नुपर्छ । यो परिस्थितिमा कमाउने व्यक्तिबाट उसको सुखचयन उसबाट टाढा जान्छ । श्रीमान् विचलित भएर यस्तो सम्बन्धबाट टाढा जाने प्रयास गर्न थाल्छ । पति-पत्नीको सम्बन्धको डोरी सौम्यता, मधुरता, स्निग्धता र स्नेहमा बाँधिरहे सम्बन्धको बन्धन अटुट रहन्छ र त्यसको अन्त पनि हुँदैन । श्रीमान्ले श्रीमतीलाई भावनात्मक सुरक्षा प्रदान गरे दाम्पत्य सम्बन्धको सितारबाट सुन्दर, मधुर एवं कर्णपि्रय सुर नै निस्कन्छ जुन कहिल्यै बेसुर हुँदैन ।


No comments: