Wednesday, December 1, 2010

गुगल अर्थको नयाँ संस्करणमा के छ ?

गुगलले आफ्नो सबैभन्दा नयाँ गुगल अर्थ–६ सार्वजनिक गरेको छ । यो नयाँ भर्सन विन्डोज र लिनक्स अपरेटिङ सिस्टममा प्रयोग गर्न सकिन्छ । करिब तीन वर्षअघि सार्वजनिक गरिएको गुगलको ५.२ भर्सनको नयाँ संस्करणमा भौगोलिक सूचना प्राप्त गर्न र हेर्न अझ सहज गराउन तीन नयाँ विशेषता थप गरिएको छ ।







इन्टिग्रेटेड स्ट्रिट भ्यू, थ्रीडी ट्री र परिस्कृत गरिएका ऐतिहासिक तस्बिर गुगल अर्थको नयाँ संस्करणमा राखिएको छ । स्ट्रिट भ्यूमा पुरानो भर्सनमा पनि राखिएको स्ट्रि भ्यूको स्थानलाई प्रतिनिधित्व गर्ने पेगम्यानलाई नयाँ संस्करणमा गुगल अर्थलाई नियन्त्रण गर्ने नेभिगेसन टुलसँगै राखिएको छ । पेगम्यानलाई उचालेर कुनै पनि हाइलाइट गरिएको नीलो रंगमाथि लगेर खसालेको खण्डमा त्यसले प्रयोगकर्तालाई उसले हेर्न चाहेको जमिनसम्म सोझै पु¥याइदिन्छ ।






तल जमिनमा पुगेपछि कम्प्युटरको माउसको सहायताले प्रयोगकर्ता कुनै पनि गल्लीमा मज्जाले छिर्न र यताउता गर्न सक्छ । यसले प्रयोगकर्तालाई उक्त गल्लीमा साँच्चै नै हिँडेको जस्तो आभास दिन सक्छ । यसका लागि माउसको सट्टा किबोर्डका तलमाथि र दायाँबायाँ गर्ने चिह्न पनि प्रयोग गर्न सकिन्छ । त्यसबाट कुनै परको दूरीमा रहेको स्थानको अवलोकन गर्नुप¥यो भने पनि त्यहाँ रहेको इक्जिट बटमलाई दबाएपछि अवलोकन कर्ता एकै पटकमा गुगल अर्थको आकाशबाट अवलोकन गर्ने एरिअल भ्यूमा आइपुग्छ र पहिलेकै जसरी पेगम्यानको सहायताले चाहेको अन्य कुनै पनि ठाउँमा पुग्न सक्छ ।






गुगलको नयाँ संस्करणको अर्को विशेषता भनेको थ्रीडी ट्रि अर्थात् तीनै दिशाबाट हेर्न सकिने रूख पनि हो । गुगलले केही समय अघिदेखि नै यस्ता तीन आयामसहितका भवनहरू प्रयोगमा ल्याइसकेको थियो । यसको मज्जा लिनका लागि गुगल अर्थको देब्रेपट्टि रहेको थ्रीडी सतहलाई क्रियाशील बनाउनुपर्छ । यो विशेषताले कुनै पनि अवलोकनकर्ता मज्जाले प्रत्येक रूखको फेदमा चाहर्न सक्छ ।






परिस्कृत ऐतिहासिक तस्बिरमा गुगलले पहिलेको भर्सन ५ मा अस्पष्ट र सफा रूपमा नदेखिने ऐतिहासिक तस्बिरहरूको स्थानमा नयाँ र सफा तस्बिरहरू राखेको छ । पुरानो समयमा घटेका कुनै पनि महत्वपूर्ण घटनाका तस्बिरहरू अवलोकनकर्ताले जस्ताको तस्तै हेर्न सक्छन् । यसमा उक्त घटना घटेको मिति पनि देख्न सकिन्छ भने कुनै निश्चित मिति स्ट्याटसबारमा राखेको खण्डमा अवलोकनकर्ता उक्त मितिकै सोही स्थानमा पुग्न सक्छ ।


No comments: