Wednesday, December 1, 2010

सराङकोटबाट चरासरी उड्दै

आकाशबाट हिमाल हेर्ने र गिद्धसँगै उड्ने आफ्नो पुराना चाहना पूरा गर्न इटालीबाट नेपाल आएका ३८ वर्षीय माइकल केमले जीवनमा नयाँ अनुभव लिनका लागि सराङकोटको चुचुरोबाट हाम्फाले । चरासरी आकाशमा उड्ने उनको चाहना प्याराग्लाइडिङले पूरा गरिदियो ।







यतिखेर मुलुक नेपाल पर्यटन वर्षको अन्तिम तयारीमा छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि नयाँ–नयाँ सेवा र गन्तव्यमा सबैको ध्यान केन्द्रित भइरहेको छ । नेपाललाई परम्परागत पर्यटकीय सेवाभन्दा अलग राखेर अन्य सेवा बढाउन तिर सबैको ध्यान केन्द्रित हुन थालेको छ । यसैक्रममा विकसित भएको पर्यटकीय उत्पादन हो– साहसिक खेल प्याराग्लाइडिङ । अग्लो डाँडाबाट हाम्फालेर हाबाको गतिसँगै आफूलाई स्थापित गरेर आनन्द लिने यो खेल गतिविधिका लागि मुलुकमा नै उत्तम स्थान मानिन्छ पर्यटकीय नगरी पोखरा ।






नेपाल भ्रमणमा आएका अधिकांश विदेशी पर्यटकहरू पोखराको सुन्दरता हेर्ने लालयित हुन्छन् र सोही समयमा मौका छोप्छन् प्याराग्लाइडिङको । अहिले पनि पोखराको सराङकोटमा डाँडाबाट फाल हानेर आकाश सयर गर्नै विदेशी पर्यटकको ओइरो नै रहेको छ । कात्तिक–मंसिरको खुल्ला आकाशमा उड्नुको मज्जै बेग्लै हुने भएकाले प्याराग्लाइडिङमा यतिखेर आकर्षण बढेको हो ।






पोखरा बजारबाट सवारीसाधनमार्फत आधा घण्टामा र पैदलमार्गबाट डेढ घन्टामा पुगिने सराङकोटमा विदेशीसँगै आन्तरिक पर्यटकले पनि प्याराग्लाइडिङको मज्जा लिइरहेको देखिन थालेको छ । असोज महिनाको सुरुबाट नै प्याराग्लाइडिङबाट उडान भर्न पर्यटकहरू आउन थाले पनि मंसिर महिना ‘पिक आवर’ भएकाले पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको हो । पर्यटकको चाप बढेपछि पोखरामा रहेका प्याराग्लाइडिङ उडाउने आठ कम्पनीलाई पनि अहिले फुर्सद छैन । व्यवसायीहरूलाई पर्यटकको चाहनाबमोजिम प्याराग्लाइडिङ गराउन हम्मेहम्मे परिरहेको छ ।






अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा मौसम सफा रहने तथा हिमाल पनि प्रष्ट रूपमा देख्न पाइने हुनाले यी तीन महिनामा सराङकोटमा पर्यटकको चाप रहन्छ । सराङकोटबाट मात्र अहिले दैनिक १ सयभन्दा बढी पर्यटकले उडान लिइरहेका छन् । प्रायः पर्यटकहरू टेन्डम (पाइलटसँगै बसेर) उडान गरिरहेका छन् । सम्बन्धित निकायको अनुमति लिएर एकल प्याराग्लाइडिङ गर्ने पर्यटकहरू पनि सराङकोटको डाँडामा पुग्ने गरेका छन् । इटाली, नेदरल्यान्ड, बेलायत, मलेसिया, अमेरिका, जापान, कोरियालगायतका मुलुकबाट आएका पर्यटकहरू पोखरा झर्ने बित्तिकै पहिलो रोजाइमा अहिले प्याराग्लाइडिङ पर्ने गरेको छ ।






सनराइज प्याराग्लाइडिङ प्रालिसँग आबद्ध पर्यटन व्यवसायी राजेश बमजनका अनुसार अधिकांश पर्यटकहरू पोखरा आउने बित्तिकै प्याराग्लाइडिङ चड्ने चाहना राख्दछन् भने पोखरामा रहेका सबै प्याराग्लाइडिङ कम्पनीले दैनिक रूपमा १० देखि १५ जना पर्यटकलाई उडाइ रहेका छन् ।






विदेशी पर्यटकले ७ हजार रुपैयाँमा आधा घन्टा उडान गर्न पाउँछन् । यदि एक घन्टा उड्ने पर्यटकको चाहना छ भने १० हजारदेखि १२ हजारसम्म तिर्नुपर्छ । नेपालीहरूका लागि भने सहुलियत रहेको छ । नेपालीहरूका लागि आधा घन्टाको ५ हजार र १ घन्टाका लागि ८ हजार रुपैयाँ खर्च लाग्छ ।






पछिल्लोपटक नेपालीहरू पनि प्याराग्लाइडिङ गर्न उत्साही रहेका व्यवसायीहरू बताउँछन् । उनीहरूले दिएको जानकारीअनुसार अहिले दैनिक ८ देखि १० जना नेपालीले पनि प्याराग्लाइडिङको उडान गर्छन् । “विश्वको विभिन्न मुलुकबाट आएर यहाँ उडान भर्छन् हामी नेपाली किन नउड्ने ?” बागलुङबाट प्याराग्लाइडिङ गर्न आएका प्रमोद शर्माले भने । शर्मा साथीहरूसँग कलेजको बिदाको समय निकालेर सराङकोट आएका हुन् ।






सराङकोटको डाँडाबाट फाल हालेर फेवातालको किनारमा प्याराग्लाइडिङ उत्रने गर्छ । सराङकोटबाट फाल हालेपछि माछापुच्छ्र«े, अन्नपूर्णलगायतका हिम शृंखलाको दृश्यावलोकन, हरिया डाँडा पाखा साथै पोखराको सुन्दर बजार तथा फेवातालको मनमोहक दृश्य देख्न पाइन्छ । विदेशीहरू प्याराग्लाइडिङ गर्दा वरिपरि गिद्ध तथा अन्य पंक्षीहरू भए भने अझ बढी उत्साहित हुने गर्छन् । “गिद्धलाई देखेर परिकल्पना गरी बनाइएको प्याराग्लाइडिङमा बसेर उड्दा वरिपरि चरा भयो भने आफू पनि चरा जस्तै भएको महसुस हुन्छ,” पर्यटक जेसिका टालीले भनिन् ।






यो आनन्द सधंै लिन भने पाइँदैन । “कहिलेकाहीँ खराब मौसमका कारण सबै उडान रद्द गर्नुपर्छ,” सनराइज प्याराग्लाइडिङका बजार अधिकृत कृष्ण थापा भन्छन्, “यो समय मुख्य मौसम रहे पनि कहिलेकाहीँ आकाश नखुल्दा उडान रद्द भइरहेको छ ।”






पोखरामा पर्यटक आगमनको वृद्धिसँगै प्याराग्लाइडिङ गर्ने पर्यटकहरू पनि बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ । व्यवसायीले गत वर्षको तुलनामा यो वर्ष प्याराग्लाइडिङ गर्न पर्यटको संख्या तीन गुणाले बढ्ने अनुमान गरेका छन् ।






प्याराग्लाइडिङको राम्रो सम्भावना भएपछि पर्यटन व्यवसायीहरूले यसमा लगानी पनि बढाउँदै लगेका छन् र अन्य व्यवसायी पनि यस क्षेत्रप्रति आकर्षित भएका छन् । पोखरामा सनराइज, अन्नपूर्ण, फिस्टेल नेपाल, ब्लु स्काई, फ्रन्टियर्स, एभिया, सराङकोट र प्यारानोभा प्याराग्लाइडिङ कम्पनीहरू रहेका छन् । यी कम्पनीमा ५० भन्दा बढी पाइलटहरू आबद्ध छन् । निकट भविष्यमा अन्य प्याराग्लाइडिङ कम्पनी खुल्ने तयारीमा रहेका व्यवसायीहरूले जानकारी दिए ।






पर्यटकहरूका लागि पहिलो साहसिक खेलको रोजाइमा परेको प्याराग्लाइडिङलाई विकास र विस्तार गर्न सरकारको उदासीनताले व्यवसायी चिन्तित छन् तर निजी क्षेत्रबाट जे जति पहलहरू भएका छन् ती भने सफल भएका छन् ।






प्याराग्लाइडिङ गर्न जति मज्जा छ त्यति नै जोखिम यसमा छ । प्राविधिक ज्ञानको अभाव र नियमनकारी निकायको फितलो अनुगमनले गर्दा पछिल्लो पटकमात्र दुई जना विदेशी पर्यटकको प्याराग्लाइडिङ दुर्घटनाका कारण ज्यान गइसकेको छ । सरकारले यो व्यवसायको स्तरोन्नति गर्न र पर्यटकलाई आकर्षित गर्न नयाँ नीतिको आवश्यक भएको प्याराग्लाइडिङ सेवाका सञ्चालकहरू बताउँछन् ।

No comments: